मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मानसिक स्वास्थ्य समस्या एक नदेखिने पीडा तर गहिरो प्रभाव

शर्मिला भट्टराई

मानसिक स्वास्थ्य प्रति हाम्रो दृष्टिकोण

समाजमा शारीरिक स्वास्थ्यबारे चेतना दिनप्रतिदिन बढिरहेको छ । मानिसहरु खानपान र जीवनशैलीमा सुधार ल्याएर आफ्नो शरीरको ख्याल राख्न अग्रसर भइरहेका छन् । तर, अझै पनि मानसिक स्वास्थ्य भने उपेक्षित नै छ । किनभने मानसिक समस्या बाहिरी आँखाले झट्ट देखिँदैन त्यसको चोट न त शरीरमा लाग्छ न त कतै घाउ नै देखिन्छ, तर त्यो पीडा गहिरो हुन्छ, मौन हुन्छ अनि कहिलेकाहिँ अत्यन्त घातक पनि !

आजको द्रुत गतिमा दौडिएको जीवनशैली सामाजिक प्रतिस्पर्धा तथा प्रविधिको विकासले मानिसको जीवनलाई त सहज बनाएको छ तर मानसिक स्वास्थ्यको पक्ष भने झनै सकसपूर्ण हुँदै आएको छ । मानिसहरुले धेरै प्रकारका मानसिक समस्याहरुको समाना गरिरहेका छन्-तनाव, चिन्ता, आत्माग्लानि, अवसाद, आत्मविश्वासमा कमी, डर, एक्लोपन जस्ता बाहिरी आँखाले नदेखिने, ठोस आकृतिविहिन चोट जसलाई न त एक्सरेमा देखिन्छ न त कुनै रिपोर्टले पुष्टि गर्न सक्छ । यि र यस्ता चोटले मानिस भित्रभित्रै जलिरहेको छ, चिन्ता आत्मग्लानि वा निरासाको गहिरो खाडलमा डुबिरहेको पनि हुन सक्छ । यसले मानिसलाई शारीरिक, भावनात्मक र पेशागत जीवनमा असर पुर्‍याउन सक्छ । तसर्थ भेटमा मनैदेखि सोध्ने गरौँ । तिमीलाई कस्तो छ ? यहि एउटा शब्दले कसैको जीवन बचेको पनि हुन सक्छ । भनिन्छ नि भेट अकारण हुँदैन मौकाले हुन्छ । त्यसैले सँगै हिँड्ने वा भेटिनेहरुको मन बुझ्ने प्रयास गरौँ र आफू हुनुको महसुस गराऔँ ।

के हो मानसिक पीडा ?

मानसीक पीडा भन्नाले मनमा उत्पन्न हुने ति भावनात्मक, सामाजिक र मानसिक अवस्थाहरु हुन् जसले व्यक्तिको सोच व्यवहार र कार्यशैलीमा प्रत्यक्ष असर पार्दछ । यो कहिलेकाँहि अल्पकालीन पनि हुनसक्छ । जस्तैः परीक्षा नजिक आँउदाको विद्यार्थीको मानसिकता होस् या आफन्त गुमाउँदाको पीडा यि र यस्तै तनावको स्थिति जस्ता समयमा आउने डरहरु अल्पकालीन हुन्छन् । तर, कतिपय परिस्थितिमा भने यिनै परिस्थितिले मृत्युवरण पनि गराएको पाइन्छ । अर्थात् पूर्णरुपमा जीवन प्रभावित बनाएको पनि छ ।

मानसिक पीडाको सबैभन्दा खतरनाक पक्ष भनेको नै नदेखिने घाउ हो । मानिस बाहिरी मुस्कानको आवरणमा भित्रभित्रै बाँच्न थाल्छ । चिच्याउन खोज्छ । तर, आवाज सुन्ने कोही हुँदैन । वा आवाज बाहिर निस्कँदैन । केवल सपनामा ऐठन भएजस्तो मात्र हुन्छ । यस्तो मौन पीडा लामो समयसम्म थाम्न गाह्रो हुन्छ र फलस्वरुप कसैकसैले आत्महत्या सम्मको निर्णय लिन्छन् । नेपालमा समेत यो आत्महत्याको मुख्य कारण बन्न गइरहेको अवस्था देखिन्छ । सन् २०२३-२४मा मात्र नेपालमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्क हेर्दा औसत दैनिक २० जनाले नेपालमा आत्महत्या गरेको देखिएको छ जुन अत्यन्त भयावह अवस्था हो । पछिल्लो समयमा हेर्दा मानसिक स्थास्थ्यप्रति हाम्रो बेवास्ताको परिणाम पनि मुल कारक मान्न सकिन्छ ।

मानसिक स्वास्थ्य प्रति समाजको दृष्टिकोण

हाम्रो समाजमा मानसिक स्वास्थ्य समस्यालाई पागलपनसँग जोडेर हेर्ने चलन छ । कसैले मानसिक तनावको कुरा गर्दा उसलाई गम्भिरतापूर्वक नलिएर हाँसोको पात्र बनाइने, आफू वा अन्य कसैसँग तुलना गर्ने, उसका भावनालाई सतहीरुपमा लिँदा कति मिनसलाई अकालमा गुमाएका घटनाहरु समाजमा व्याप्त छ । कतिपयलाई यस्तो व्यवहारले एक्लोपन तथा निराश बनाएको पनि छ । नेपालको सन्दर्भमा सामाजिक चालचलन, संस्कार, संस्कृति र कतिपया भावनात्मक कुराहरुलाई प्राथमिकतामा नराखिने कारणले पनि मानिसहरु आफ्नो समस्या लुकाउने, चिकित्सक वा मनोपरामर्शदातासँग कुरा गर्न हिच्किचाउने गर्छन् । जसका कारण अवस्था बिग्रँदै जान्छ । तसर्थ हामी र हाम्रो समाजले मानसिक स्वास्थ्य समस्यालाई हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । त्यो भनेको सकारात्मक भावले यो समस्यालाई बुझ्न र बुझाउन अति आवश्यक छ ।  

मानसिक स्वास्थ्य समस्याका लक्षणहरु 

बाहिर आँखाले देख्न नसकिने तर गहिरो पीडा भएकोले हामी कहिलेकाँहि आफ्ना साथीभाइ, आफन्त वा सहकर्मीको पीडालाई बुझ्न सक्दैनौँ । यदि यस्ता समस्यालाई ध्यानपूर्वक नियाल्न सकेको खण्डमा मानसिक वा मनोसामाजिक समस्याका लक्षणहरु वा केही यस्ता सङ्केतहरु देख्न सकिन्छ ।

  • एकान्तमा बस्न रुचाउने
  • रमाईलो कुरामा चासो नहुने वा बढी रमाइलो रुचाउने
  • थकान महसुस गर्ने
  • अनावश्यक चिन्ता लिने
  • निद्रा नलाग्ने वा निद्रा बढी लाग्ने
  • आत्महत्याका कुरा गर्ने
  • आत्मग्लानि वा हिनताबोध महसुस हुने
  • अचानक व्यवहारमा परिवर्तन देखिने ।

यि र यस्ता सङ्केतहरु देखिएमा मानसिक स्वास्थ्य समस्याको सङ्केत भन्ने बुझेर हामीले संवेदनशील व्यवहार गर्नुपर्दछ । उसको व्यवहरको आलोचना नगरी समझदारीपूर्ण साथ दिनुपर्दछ । 

यो पनिः नेपालमा जेनजी आन्दोलन: मास डिप्रेशनको प्रतिफल

मानसिक स्वास्थ्यको ख्याल किन आवश्यक छ ?  

सतही हिसाबले हेर्दा मानसिक स्वास्थ्य समस्या त्यस्तो गम्भिर नदेखिए जस्तो लाग्छ तर सामान्य लापरवाहीको कारण यो अत्यन्त विकराल स्थितिमा पुग्ने हुँदा मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ । समयमै विशेष ख्याल गरियो भने यो समस्या सामान्य भएर जाने हुन्छ ।

  • मानसिक स्वास्थ्य सम्पूर्ण स्वास्थ्यकै आधार होः  स्वास्थ्य भनेको केवल शारीरिक स्वास्थ्य अवस्था मात्र होइन । यो त मनको उचित सन्तुलन पनि हो । वास्तवमा मन र शरीरको गहिरो निकटता हुने गर्छ । कहिलेकाँही मनमा असहजता बेचैनी भयो भने त्यसको असर शरीरमा देखिन्छ । जस्तै टाउको दुख्ने, शरीर पोले जस्तो हुने, अनयासै चिटचिट पसिना आउने जस्ता लक्षणहरु शरीरमा देखिन्छन् । त्यसकारण मानसिक स्वास्थ्यको विचलनले शारीरिक स्वास्थ्यमा समेत नकरात्मक असर पारिरहेको हुन्छ । तसर्थ मानसिक स्वास्थ्यको ख्याल गर्न जरुरी छ । 
  • सम्बन्धमा पर्ने असरः  मानसिक स्वास्थ्य समस्या वा अत्यधिक तनाव जस्लाई हामीले व्यवस्थापन गरिरहन सकेका हुदैनौँ । परिणामस्वरुप पारिवारिक, सामाजिक र पेशागत सम्बन्ध समेत बिग्रन सक्छ । अतः यो समस्यालाई आफ्नो र आफन्तको मानसिक स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक छ ।
  • कार्य सम्पादनमा पर्ने असरः मानसिक तनावले निर्णय क्षमतामा असर पार्दछ । ध्यान केन्द्रित गर्न नसकिने अवस्था सिर्जना हुन्छ । स्मरण शक्तिमा समेत ह्रास आँउछ र सोको कारण हरेक कार्य सम्पादनमा समेत प्रत्यक्ष असर पार्दछ । यसर्थ पनि यसको ख्याल गर्नु अत्यन्त महत्वपूर्ण छ ।
  • आत्महत्याको रोकथामः समयमा नै मानसिक समस्याको पहिचान गर्न सकेको अवस्थामा निराशा र एक्लोपन महसुस गरी सोको निराकरणको लागि उपयुक्त समाधानका उपायाहरु अपनाई व्यक्तिले गर्ने जीवन समाप्तिको मार्गलाई समेत टार्न सकिन्छ ।

मानसिक स्वास्थ्य सन्तुलनको लागि के गर्न सकिन्छ ?  

समाजमा सकसको रुपमा रहेको मानसिक स्वास्थ्य समस्यालाई सहज बनाउनको लागि एक अर्कामा समेत खुल्ला छलफल गरी समाधानको बाटो खोज्न जरुरी छ । कोभिड १९ को महामारी पछाडि झन् सशक्त रुममा फैलिएको मानसिक स्वास्थ्य समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको पाइएको छ । त्यसैले हाम्रो मानसिक स्वास्थ्य सन्तुलनको लागि निम्नानुसारका सुझाव प्रस्तुत गर्न सकिन्छ ।

  • आफ्नो समस्या प्रति खुलेर कुरा गरौँः अफ्नो मानसिक समस्या वारे बोल्नु कमजोरी होइन । अझ सशक्त हुनु हो । आफूसँग भएका समस्या मनोचिकित्सक, मनोपरामर्शदाता, विश्वाशिलो साथी वा परिवारसँग खुलेर कुरा गर्ने गरौँ ।
  • सुनौँ र बुझौः कसैले सम्वेदनशील भएर आफ्ना समस्या सुनाउँदा उसको अनुभव र भावनालाई हलुका रुपमा नलिई उस्लाई भित्रैबाट सुन्ने र बुझ्ने कोशिस गरौँ । उसलाई दोषारोपण नगरी उसले महसु गरिरहेको पीडालाई सहभाव सहित स्वीकार गरौँ ।
  • परामर्श र उपचारः आफ्नो समस्याको एकिन गरी मनोचिकित्सक वा मनोपरामर्शदाताकोमा जाउँ वा जाने सल्लाह दिउँ ।
  • समाजमा चेतना फैलाऔः विद्यालय, कलेज, कार्यालय र समुदायस्तरमा मानसिक स्वास्थ्य समस्याका बारेमा खुलेर छलफल गर्ने संस्कारको विकास गरौँ ।
  • स्व हेरचाहको अभ्यासः आजको भागदौड तथा प्रतिस्पर्धाको दैनिकीमा हामीले आफूलाई नै बिर्सेका हुन्छौँ । यस्तो अवस्थामा आफूले आफ्नो हेरचाह गर्ने बानीको विकास गर्नुपर्छ । ध्यान, योग, सङ्गीत, कला, लेखन, खेलकुद जस्ता क्रियाकलापले मनलाई स्फुर्ति बनाउँछ सन्तुलित आहार, पर्याप्त आराम (निद्रा) र सकरात्मक सोचले पनि मानसिक स्वास्थ्य सन्तुलनमा खास मद्दत गर्दछ ।

नदेखिने पीडा तर गहिरो प्रभाव भन्ने शीर्षकले मानसिक स्वास्थ्यको वास्तविकता झल्काउँछ । यो पीडा नत हातले छुन सकिन्छ, नत आँखाले देख्ननै मात्र यो त हृदयले मात्र महसुस गर्न सकिन्छ । यस्तो पीडा बुझ्नको लागि आँखा मात्र होइन भित्री मन नै खोल्नुपर्ने हुन्छ । जीवनका कालखण्डमा हामी सबै कहिलेकाँहि कुनै पनि मानसिक उतारचढावबाट गुज्रिएका हुन्छौँ । यदि यस्तो समयमा समाज, साथीभाइ, परिवारले समझदारी देखाउँछ र सम्बन्धहरुमा सजिव सम्वाद गरिन्छ भने कुनै पनि व्यक्तिले त्यो अदृष्य सुरुङ सहजै पार गर्न समर्थ हुन्छ । मानसिक स्वास्थ्यको ख्याल राखौँ-आफैँका लागि, आफन्तका लागि अनि समग्र समाजका लागि । स्वस्थ समाज केवल शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि शसक्त हुनुपर्छ । स्मरण रहोस मानसिक पीडा देखिँदैन तर यसको प्रभाव निकै गहिरो हुन्छ । त्यसैले सँगै हिँड्ने मात्र होइन सहयात्रीको मन पनि पढ्ने प्रयास गरौँ । समानुभूति, समझदारी र सशक्त समर्थन नै मानसिक स्वास्थ्यका सबैभन्दा बलिया ओखती हुन् ।

(प्रयास नेपालकी अध्यक्ष भट्टराई मनोविमर्शकर्ता हुनुहुन्छ ।)

Author

Related News