मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

बाँझो खेत, सुनसान गोठ र सम्झनामा नेपाल आमा

बलराम पौडेल

“हे मेरी नेपाल आमा, आज म तिमीलाई यो गाउँबाट सम्झिइरहेको छु…”-एउटा साधारण किसानको यो सन्देशमा लुकेको छ लाखौँ नेपाली युवाहरूको पीडा, विवशता र देशप्रतिको निःस्वार्थ माया । नेपालको ग्रामीण भेग आज सुनसान छ । खेतबारी बाँझो छन्, गोठहरू रित्तिएका छन्, अनि गाउँको पर्खालसँग टेकेर बसेका बूढाबूढीको आँखामा छोराछोरीको पर्खाइ मात्र बाँकी छ । यो अवस्थाको पछाडिको कारण एउटै हो-विदेशिन बाध्य युवा ।

म त्यस्तो किसिमको नेपनली छोरो हो जसले नेपाल आमालाई हाँसीरहेको देख्न चाहन्छ । तर, बाध्यता छ आफ्नो भाग्य खोज्न गाउँका पाखा, बारी, डाँडातिर घिसारिँदै अन्ततः देश बाहिर धकेलिएका युवा र देशको हालत हेरेर थाप्लोमा हात राखेर खुइय्या सास फेर्न विवश छु । यहाँ सवाल अवसरको हो-रोजगारी, भविष्यको सुनिश्चितता र राज्यको जिम्मेवारीप्रतिको भरोसाको ।

म त्यही पाइन्छ भनेर आफू र सन्तानलाई यतै कुनाकाप्चामा घिसारिरहेकछु । तर, विवशता अर्कै छ । कृषि कर्ममा लाग्नेहरूलाई राज्यको दरिलो साथ आड र भरोसा छैन । राज्यप्रतिको भरोसा टुटेपछि टुट्न बाँकी केही रहँदैन । अहिले त्यही भइरहेको छ । नेपालका हरिया पाखाहरू, बारी र डाँडाहरू आज बाँझो छन् । तिनमा हलो गाड्ने कोही छैन । यिनले चिनेका पाइलाहरू अब कतार, मलेसिया, दुबई वा कोरियातिर लागेका छन् ।

ईको भिलेजको सपना: बलराम पौडेलको अधुरो क्रान्ति !

“मर्दा मलामी छैन, बिहेमा जन्ती छैन”-यो केवल आहान् होइन, यथार्थ हो । समाजको मूल संरचना नै खण्डित हुँदै गएको छ । सामाजिक गतिविधिहरूमा सहभागिता घट्दैछ, संस्कार रीतिरिवाज हराउँदै छन् । जब समाजका जिम्मेवार पिँढी (युवा) नै अनुपस्थित हुन्छन्, तब संस्कृति जोगाउने दायित्व कसको काँधमा पर्छ ? बुढाहरू सक्दैनन् बालबालिकाले बुझ्नै बाँकी हुन्छ ।

“मैले सपना देखेको छु, तिमी हरियाली भएर मुस्कुराइरहेको देख्न पाउँ ।” मसँग देशप्रेम स्पष्ट छ । नेपाल आमाप्रतिको श्रद्धा र माया हराएको छैन, तर देशभित्र रहँदा बाँच्न सक्ने आशा हराउँदै गएको छ । म त विदेशिन पनि सक्दिनँ । उमेरले डाँडो काटिसक्यो । यही चाल भए अरु परदेशिन लागेकालाई यहीँ सम्भव छ यतै बसौँ यतै केही गरौँ भन्ने मसँगका शब्द पनि सकिँदैछन् । राज्यले जबसम्म युवालाई देशभित्रै सम्भावनाहरू देखाउन सक्दैन, तबसम्म विदेशिने लहर रोकिने छैन ।

मैले भोगेको कुरा लेखेको भएपनि यो आवाज एक जनाको मात्रै होइन, लाखौँ लाख नेपालीको सामूहिक चिच्याहट हो । देशप्रेम हो । देश बनाउने हुटहुटी हो । देशप्रतिको चासो र चिन्ता हो । देशका नीतिनिर्माताहरूले अब पनि नसुने भने, हामीले गुमाउनेछौँ हाम्रो कृषिप्रधान परिचय, सामाजिक संरचना र अन्ततः राष्ट्रिय आत्मसम्मान ।

नेपाल आमाको मुहारमा फेरेर हाँसो फिर्ता ल्याउने सपना हामी सबैको साझा जिम्मेवारी हो।

(पौडेल कास्कीको अन्नपूर्ण गाउँपालिका–३, मराम्चे निवासी किसान हुनुहुन्छ)

Author

Related News