मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आहा बडीमालिका !

पदमबहादुर सिंह, बाजुरा

शान्त डाँडा, फराकिला चौर अनि सिमसिम पानी । वर्षातमा रमाउँदै उकालो पदयात्रा गर्दा यी सब छिचोलेपछि देखिन्छन्-आकर्षक र मनमोहक दृश्य बडीमालिकाको। बादल आफूभन्दा तल, मुटु छुने चिसो हावा, आङ जिरिङ्ग हुने अग्ला चुचुरा, हेर्दै मन डराउने डाँडाहरु, श्रृङ्खलाबद्ध पहाडहरू-सबै बडीमालिकाको अद्भुत सौन्दर्य हुन्।

श्रम, भोक, चिसो, पीडा सबै गौण हुन्छन् जब पाइला ४२०० फिट उचाईमा रहेको पवित्र शक्ति पीठ बडीमालिकामा पुग्छ। श्रावण शुक्ल त्रयोदशी र चतुर्दशीमा लाग्ने मेलामा नेपालका विभिन्न जिल्ला र भारतको कुमाउँ, गढवालबाट हजारौँ भक्तजन बडिमालिका पुग्छन्।

धार्मिक आस्था र विश्वास

धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडीमालिका हिन्दु धर्मावलम्बीहरूको अगाध विश्वासको केन्द्र हो। जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने यो स्थानमा वर्षा याम नै यात्रा मौसम मानिन्छ।

मनले चिताएको पूरा हुने, पुत्रहीनले पुत्र प्राप्त गर्ने, धन नहुनेलाई धन, दुःखीलाई सुख, रोगीलाई निको हुने विश्वास बडीमालिकाको प्रार्थनासँग जोडिएको छ।

त्रिवेणी क्षेत्र र किंवदन्ती

बडीमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान झन् अचम्मको छ। यहाँ रोपिएको जस्तै देखिने गह्राहरू, धान, बीउका मुठाहरू यथास्थितिमा छन्। स्थानीय किंवदन्ती अनुसार भगवती र महिषासुर दानवबिच युद्ध हुँदा राक्षसहरूले खेत छोडेका थिए । यो क्षेत्रको अध्ययनमा लागेका जाल्पादेवी माविका प्रधानाध्यापक जहरसिंह थापा यसबारे पुष्टि गर्ने आधार भएको बताउनु हुन्छ ।

जैविक विविधता

डाँफे, मुनालजस्ता दुर्लभ चरा, कस्तुरी, झालरजस्ता लोपोन्मुख वन्यजन्तुको अवलोकनले बडीमालिका यात्रा अविस्मरणीय बनाउँछ। बाजुराका पूर्व प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार बडीमालिका पर्यटकीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ।

यात्रा अवधि र मार्ग

बडीमालिका यात्राको अवधि ७ देखि ९ दिनको उपयुक्त मानिन्छ। धनगढीबाट गाडीमा एक दिनमा बाजुरा पुग्न सकिन्छ। पहिलो रात मार्तडी वा बाम्का फालासेन बजारमा बास। दोस्रो दिनदेखि पैदल यात्रा सुरु हुन्छ:

  • दोस्रो रात: लादे पाटन वा सोता
  • तेस्रो रात: त्रिवेणी
  • चौथो रात: बडीमालिका
  • पाँचौँ दिन: विष्णुपानी, चङ्केली, लिस्ने गौडी, बुढी माईको थान
  • छैठौँ दिन: नाट्येश्वरी, त्यसपछि दिपायल
  • सातौँ दिन: धनगढी फर्कन सकिन्छ

त्रिवेणी भएर बडीमालिका जानु पर्ने परम्परा भएकाले कोर्ध भएर जान उपयुक्त मानिन्छ। मेलाको समयमा सोता क्षेत्रमा चिया खाजाको सुविधा मिल्छ। कोर्धबाट लादे पाटन, सोता, घोडा पाटन, त्रिवेणी हुँदै बडीमालिका पुगिन्छ।

साथमा के लैजाने?

होटेल र आवास सुविधा नपुगेका ठाउँमा कम्तीमा तीन दिन बास बस्नुपर्छ। त्यसैले:

  • न्यानो कपडा
  • टेन्ट, स्लिपिङ ब्याग
  • तयारी खाना
  • औषधि
  • समूहमा यात्राका लागि ग्रुप लिडरको निर्देशन

जङ्गल, पहाडी उकालोको कारण बाटोमा भरिया र स्थानीय पथप्रदर्शक आवश्यक हुन्छ। उच्च उचाइमा मद्यपान र धूम्रपान नगर्नु उपयुक्त मानिन्छ।

किन जाने बडीमालिका?

बडीमालिका हिन्दुहरूको आस्थाको केन्द्र हो । सतीदेवीको कुम (काँध) पतन भएको स्थानको रूपमा मन्दिर स्थापना गरिएको विश्वास छ। दर्शनले मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ।

यस यात्रामा हिमाली सौन्दर्य, मनमोहक पाटन, चौँरी तथा भेडापालनमा रमाइरहेका गोठालाहरूको जीवनशैली, सूर्योदय, जडीबुटी, वनस्पति, नदी, झरना सबै अनुभव गर्न पाइन्छ। धार्मिक श्रद्धा, प्रकृतिप्रेम र अनुसन्धान रुचाउनेहरूका लागि यो यात्रा उत्कृष्ट गन्तव्य हो।

राज्यको ध्यान कहिले?

सुदूरपश्चिम प्रदेशमा खप्तड, रामारोशन, त्रिपुरासुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, बैद्यनाथ, अपी, साईपालजस्ता स्थान महत्वपूर्ण छन्। तर, बडीमालिकाको स्थान विशिष्ट छ।

तर, संरचना र सुविधा अभावले बडिमालिका अझै ओझेलमा छ। पानी, शौचालयको अभावले दुर्गन्धित हुन थालेको छ। धर्मशाला र बासको उचित प्रबन्ध छैन। बाटोमा कुनै सङ्केत नहुँदा भक्तजन सास्ती खेपिरहेका छन्। यसतर्फ राज्यको गम्भीर ध्यान आवश्यक छ।

बाजुराको बडीमालिकाको जति चर्चा गरेपनि सकिँदैन । पुग्दैन । चर्चा कम हुन्छ  । यहाँको वयान साहित्यकारको कल्पनाभन्दा माथिको हुन पुग्छ । व्याख्याताले शब्द नै पाउँदैनन् । जति हेरे पनि अँखा थाक्दैनन् । वास्तवमै बडीमालिका भुस्वर्ग हो । मरेपछि त कसैले स्वर्ग देखेँ भन्दै फर्केको थाहा छैन । जिउँदै फेला पर्ने स्वर्ग हो बडिमालिका । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूर्ण बडीमालिका तपाइँ पनि जाने हैन त !

(पदमबहादुर सिंह, नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष हुनुहुन्छ ।)

Author