मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एमालेको नेतृत्वमा आज ओली, को होला भोलि?

“राजनीतिमा वैचारिक स्पष्टता र नेतृत्वमा स्वीकार्यता पहिलो आवश्यकता हो।” केही समयदेखि एमालेको भावी अध्यक्ष विद्या भण्डारी हुँदैछिन् भनेर सञ्चार र सञ्जाल ट्रायल भइरहेको छ। देशभित्र र बाहिर विद्या भण्डारीको सक्रियतालाई तिनले आधार बनाएर बहस चलाइरहेका छन्। तर यो बहस कति सान्दर्भिक, कति बौद्धिक, कति नैतिक र कति राजनीतिक भन्ने प्रश्न पनि सँगसँगै उठ्दैछ किनभने राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरूले भन्छ, “राष्ट्रपति जस्तो देशकै गरिमामय उच्च पदमा पुगेको मान्छे सक्रिय दलीय राजनीतिमा फर्किने कुरो न प्राकृतिक मानिन्छ न त यसलाई असल अभ्यास नै मान्न सकिन्छ।”

हाम्रो संविधानले राष्ट्रपति र उपराष्ट्रपति भइसकेका पात्रहरूको भूमिका यस्तै हुनुपर्छ भनेर भनेको छैन। यद्यपी लोकतान्त्रिक गणतन्त्रमा कस्तो अभ्यासलाई प्रश्रय दिने र दलीय राजनीतिमा को, किन संलग्न हुने जस्ता प्रश्नलाई आधार बनाएर प्राथमिकताका साथ चर्चा चलाउनु पर्छ। यसमा बौद्धिक राजनीतिक बहस सधैँ आवश्यक हुन्छ। “राजनीतिमा हिजोको जस्तो परिस्थिति आज हुन्न र आजको जस्तो परिस्थिति भोलि रहन्न।” त्यसैगरी मित्रहरू पनि परिवर्तन भइरहन्छन्। असम्भव भन्ने कुरो पनि केही हुन्न। यी कुराहरू राजनीतिज्ञहरूले बुझेको हुनुपर्छ। आफूले गर्ने आजको दलीय राजनीतिले भोलि कस्तो परिणाम र सन्देश दिनुपर्छ भन्ने कुरा हेक्का राखेर गतिविधिहरू गर्नुपर्छ। मुख्य कुरो नेतृत्वले असल अभ्यास र परम्परा कायम गर्न सघाउनु पर्छ।

यतिबेला एमालेभित्र दक्षिणपन्थी अवसरवाद फेरि सुषुप्त रूपमा चलमलाउन थालेको हो कि भन्ने सङ्केत देखिएको छ। नेतृत्व परिवर्तनका नाममा अहिले जे भइरहेको छ, न त्यो स्वभाविक छ न त प्राकृतिक नै। तैपनि “सन्तान पाउनु कहिले कहिले भोटो सिउनु अहिले” भने झैँ “एमालेमा नयाँ नेतृत्व आउँदैछ, जो बाम एकताका लागि सहयोगी बन्छ” भनिँदैछ। यो भाष्यको बजारीकरण गर्नमा दक्षिणपन्थीहरूको मुख्य भूमिका देखिन्छ। एमालेभित्रै पनि त्यस्ता पात्र र प्रवृत्तिहरू देखिन थालेका छन्। जुन पार्टी स्वास्थ्यका लागि घातक हुनसक्छ किनभने यस्तो प्रवृत्तिले तात्कालिक नाफाघाटा मात्र हेरिरहेको हुन्छ।

“एमाले भन्ने बित्तिकै जनताको बहुदलीय जनवाद (जबज) लाई बुझिन्छ। जबज भन्ने बित्तिकै जननेता भदन भण्डारीको सम्झना गराउँछ। एमालेलाई बलियो बनाउने भनेको जबजलाई स्थापित र सान्दर्भिक बनाउँदै लैजाने हो।” त्यसैले जबज बुझेको, जबजलाई व्याख्या गर्न सक्ने र जबजअनुसार नीति बनाउने र व्यवहार गर्न सक्ने नयाँ पात्र नै एमालेको भावी अध्यक्ष बन्नुपर्छ।

सञ्चार माध्यमहरूमा पढ्न पाइन्छ, फलाना जबजको उत्तराधिकारी, तर फेरि विचार पैत्रिक सम्पत्ति जस्तो विषय पनि होइन, उत्तराधिकारी हुनलाई। एमालेभित्र वैचारिक उत्तराधिकारी हुनका लागि त जबजलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय स्पष्ट रूपमा भन्न र बुझाउन सक्ने पात्र नै हुनुपर्छ। त्यो पात्र को हुनसक्छ भन्ने कुरो नेता तथा कार्यकर्ताहरूले बुद्धि र विवेक लगाएर चिन्नु र चिनाउनु पर्छ। अनुचित प्रभाव र दबाबमा परेर धारणा बनाउनु पनि हुँदैन।

निकट विगत साक्षी छ,“नेकपा हुँदै एमाले कालमा केपी ओलीको ख्यातिका कारण कम्युनिष्ट आन्दोलन विभाजित भएर क्षति व्यहोर्नु प¥यो ।” यही प्रकृतिको अर्को गल्ति गर्नुहुन्न भन्ने कुरो एमालेका नेता तथा कार्यकर्ताहरूले बुझ्नुपर्छ। भावनात्मक रूपमा बहकिएर धारणा बनाउनु हुँदैन् किनभने पार्टी राजनीति भावनाले होइन, विचार, नीति र सही नेतृत्वले मात्रै अघि बढ्छ। यसको कुनै अर्को विकल्प पनि हुँदैन।

हामीले राजतन्त्रको विकल्पमा लोकतान्त्रिक गणतन्त्र ल्याएका हौँ। राजतन्त्रमा वंश परम्पराले प्राथमिकता पाउँछ भने गणतन्त्रमा वंशले होइन, विचार र कर्मको श्रेष्ठताले प्राथमिकता पाउँछ। जबजको मूल ध्येय पनि यही हो। त्यसैले विधान महाधिवेशन आउँदैछ, त्यो महाधिवेशनले जबजको मर्मअनुसारको विधि र नीति तय गर्नुपर्छ अनि पार्टी महाधिवेशनले लोकतान्त्रिक विधिबाट सक्षम, परिपक्व, वैचारिक र नयाँ नेतृत्व चयन गर्ने क्षमता देखाउनु पर्छ।

“पार्टी राजनीति भनेको वैचारिक रूपमा स्पष्ट हुने,साङ्गठानिक रूपमा एकताबद्ध हुने अनि न्यायिक र व्यावहारिक रूपमा अवसरहरूको वितरण पनि हो।” एउटा पात्रले मात्रै अवसर पाइरहने पद्धति लोकतान्त्रिक पार्टी राजनीतिमा चल्दैन। त्यसैले नेतृत्व परिवर्तन भन्ने बित्तिकै नयाँ र सही मान्छेलाई सही ठाउँमा चयन गर्ने भन्ने हो। पार्टीमा एउटै व्यक्तिले अवसर पाइरहने र नेतृत्वमा निरन्तरता भइरहने कुरो न्यायोचित होइन वा हुन सक्दैन।

अहिलेसम्म केपी ओली दुई पटक पार्टी अध्यक्ष र पटक–पटक गरेर लगभग पाँच वर्ष प्रधानमन्त्री भइसक्नु भएको छ भने विद्या भण्डारी राष्ट्रकै सर्वोच्च पद राष्ट्रपति दुई पटक भइसक्नु भयो। अब उहाँहरूको भूमिका पछाडि बसेर देशलाई अभिभावकत्व दिने र पार्टीमा किङमेकरको भूमिकामा देखिनु पर्छ न कि प्रत्यक्ष पार्टी राजनीतिमा सक्रिय बन्ने चाहाना देखाएर गतिविधिहरू गर्ने। यो लेखकलाई विश्वास छ,“केपी ओली र विद्या भण्डारीहरूले आफ्ना अगाडि आएका ऐतिहासिक अवसर र जनचाहानालाई बुझ्नु भएको छ। उहाँहरू असल परम्परा बसाल्ने गरी अघि बढ्नु हुनेछ।” सत्ताको आड र मिडिया ट्रायलबाट नेता बन्नुहुन्न।

“जबजले प्रतिस्पर्धाबाट श्रेष्ठतामात्र खोजेको छैन, विवेकमा परिपक्वता, विचारमा स्पष्टता र व्यावहारमा लोकतान्त्रिक अनि अवसरहरूको न्यायिक वितरण पनि खोजेको छ।” प्रश्न उठ्न सक्छ, यो कुरो मदन भण्डारीले कहाँ र कहिले भन्नु भएको थियो र? यहाँ उत्तर शब्द र रूपमा होइन, भाव र सारमा खोज्नुपर्छ। वैचारिक र परिपक्व नेतृत्वले सधैँ रूप र सार पक्ष छुट्याउने ल्याकत राख्छ र समयको मागअनुसार वैचारिक रूपमा आफ्नो स्थान तय गर्न सक्षम हुन्छ अनि उत्तेजनामा आएर प्रभावमा परेर कुनै निर्णय गर्दैन।

गणतान्त्रिक व्यवस्थालाई दिगो बनाउन एकातिर राज्यका संयन्त्रहरूले जनमुखी भएर काम गर्न सक्नुपर्छ भने अर्कातिर उच्च पदमा पुगेका र रहेका पात्रहरूले पदअनुसारको आचरण देखाउनु र अभ्यास गर्न जान्नुपर्छ। कस्तो आचरण देखाउने र कस्तो राजनीतिक संस्कारको अभ्यास गर्ने हो नीति, विधि र व्यवहारहरूबाट स्पष्ट पार्नुपर्छ। मुख्य कुरो राजनीतिमा सधैँ विधिसँगै नैतिकता प्रधान हुन्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसैले संविधानका अक्षरहरूमा होइन भाव र जनअपेक्षानुसार नेता चल्नुपर्छ।

स्वीकार गर्नुस् या नगर्नुस् तपाईंको कुरो,“यतिबेला यो कोण र त्यो कोणबाट प्रधानमन्त्री केपी ओलीलाई सफल हुन नदिने रणनीतिअनुसार भाष्य बनाउने र यो भाष्यअनुसार राजनीति पनि भइरहेको छ।” त्यसैले त केपी ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने प्रश्नले ठाउँ पाएको छ। अनि त देशभित्र र बाहिरबाट एकैपटक केपी ओलीमाथि प्रहार भइरहेको छ। रूपमा प्रधानमन्त्री ओलीको विरोध देखिएतापनि सारमा एमालेलाई कमजोर बनाउने र नेपालमा नियन्त्रित अस्थिरता बढाउने रणनीति लुकेको छ। अचम्म लाग्छ, यो कुरो देश र एमालेलाई माया गर्नेहरूले पनि बुझ्न सकिरहेका छैनन्।

यसबारे थप विचार गर्दा, सरकारको कमजोरी देखाउँदै सशक्त विकल्प प्रस्तुत गर्नुको सट्टा ओली नेतृत्वविरुद्ध योजनाबद्ध ढङ्गले जनमतलाई भ्रामक रूपमा प्रयोग गरिँदैछ। सञ्चार माध्यमहरू, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय वृत्तमा समेत ओलीविरोधी विमर्श हावी पार्ने प्रयासहरू देखिन्छन्। यसरी एकातिर सत्ताको अस्थिरता निम्त्याउने, अर्कोतिर देशको राजनीतिक सन्तुलन भत्काउने दीर्घकालीन योजना कार्यान्वयनमा लागेको स्पष्ट सङ्केत देखिन्छ। यस्तो अवस्थामा ओलीको आलोचना भन्दा पर जानु आवश्यक छ ।

हिजो नेकपा र एमाले कालमा केपी ओलीको विरोध गर्नेहरू आज विद्या भण्डारी नै पार्टी अध्यक्ष बन्न योग्य छिन्, भन्दैछन्। उनीहरू विद्या भण्डारीलाई नेता मान्नका लागि यी कुरा गरिरहेका छैनन्। उनीहरू विभाजन र शासन रणनीतिअनुसार ओलीलाई कमजोर बनाउन अनि ओली र भण्डारीबीचको राजनीतिक सम्बन्ध बिगार्नका लागि पार्टीभित्र र बाहिरबाट गतिविधिहरू गरिरहेका छन्। यो कुरा सम्बन्धित पात्रहरूले बुझ्नुपर्छ।

देशको सर्वोच्च पद राष्ट्रपति, कार्यकारी प्रमुखको पद प्रधानमन्त्री र मन्त्री भएर कार्यकारी भूमिका निर्वाह गरेका पात्रहरूदेखि लिएर आमनागरिकहरूले लोकतान्त्रिक राजनीतिमा असल अभ्यास र परम्परा बसाल्ने ढङ्गले अभिव्यक्ति दिने र गतिविधिहरू गर्ने गर्नुपर्छ। हिजो भएन भनेर आज पनि हुँदैन भन्ने भाष्यबाट मुक्त हुँदै आशावादी भएर असल अभ्यास र परम्परा स्थापित गर्न योगदान गर्ने मनोविज्ञानबाट निर्देशित भइरहनुपर्छ।

“समय सधैँ बलवान हुन्छ। यसले कहिले हामीलाई शक्तिशाली बनाउँछ भने कहिले भूमिका परिवर्तन गरेर कमजोर पनि बनाउँछ। त्यसैले समयको शक्ति, माग र आवश्यकताहरूलाई चिनेर हामीले निर्यणहरू गर्नुपर्छ र भूमिकाहरू खोज्नुपर्छ।” लहडमा लागेर, भावनामा बगेर अनि प्रभाव र दबाबमा परेर धारणाहरू बनाएर निर्णयहरू गर्ने गलत अभ्यास गर्नुहुँदैन। भोलि एमालेको मुख्य नेता बन्छु र देशको सेवा गर्छु भन्नेहरूले बुझ्नुपर्छ, हिजोआज सञ्जाल र सञ्चारहरूमा आएका धारणाहरू एमालेको स्वस्थ पार्टी जीवन र देशको हितमा छैनन्।

जननेता मदन भण्डारीको सम्मान, जबजको स्वीकार्यता र एमालेको प्रभाव जनस्तरमा बढाउने हो भने आगामी महाधिवेशनबाट बन्ने नीतिले चुनिने नेता नयाँ, वैचारिक र सक्षम खोज्नुपर्छ। यो लेखकको बुझाइमा “भोलिका दिनमा एमालेको नेतृत्व न केपी ओलीले गर्नेछन् न त विद्या भण्डारीले नै गर्ने अवस्था बन्नेछ।” किनभने आमनागरिक र कार्यकर्ताहरूले वैचारिक क्षमता र योग्यता भएको नयाँ नेतृत्व खोजेको छ। त्यसैले केपी ओली र विद्या भण्डारीहरूले सुझबुझका साथ नयाँ नेतृत्व चयनमा सघाउनु पर्छ।

“मूर्खको ओखती हुन्न अनि नकारात्मक मनस्थिति भएकाहरूबाट सकारात्मक चिन्तन र रचनात्मक व्यवहारको आशा गर्न पनि सकिन्न।” समस्या नै समस्या समाधानको आधार हो भने चुनौतीहरू अवसर हुन्। यस्ता कुरा न किताबमा पढ्न पाइन्छ न त विद्यालय तथा विश्वविद्यायहरूमा पढाइ हुन्छ। यो त वास्तविक जीवनको भोगाइहरूबाट प्राप्त हुने ज्ञान हो। पार्टी जीवन र राजनीतिमा पनि यी कुराहरू लागु हुन्छन्। त्यसैले “एमालेका नेता तथा कार्यकर्ताहरूले भोलिको नेता खोज्दा पार्टीको पक्षमा पक्षधरता देखाएर धारणा बनाउनु पर्छ, अमूक व्यक्तिका पक्षमा होइन।”

अन्त्यमा इमानका साथ भन्नुपर्छ, “केपी ओलीले किङमेकर बन्ने मनस्थितिबाट निर्देशित भएर अबको राजनीति गर्नुपर्छ भने विद्या भण्डारीले पार्टी राजनीतिको लोभबाट मुक्त भएर पूर्वराष्ट्रपतिको भूमिकामा रमाउनु पर्छ।” अन्यथा यतिञ्जेल कमाएको ख्याति र प्रगति बालुवामा पानी हाले जस्तै दृश्यबाट हराउनेछ। त्यसैले समयको भाव र मागलाई बुझेर अगाडिको बाटो तय गर्नुपर्छ। विद्या भण्डारीले हिजो पाएको भूमिका र आज भइरहेको चर्चामा केपी ओलीको जति योगदान छ, केपी ओली बलियो बन्नुमा विद्या भण्डारीको उत्तिकै भूमिका छ। त्यसैले एमाले विरोधीहरूको मनोबल बढ्ने गरी बोल्न र गतिविधिहरू गर्न दुबैले छोड्नु पर्छ।

Author