– लोकराज अवस्थी
जलवायु परिवर्तनले अहिले समग्र विश्वलाई प्रभावमा पारिरहेको छ । यसले मानवीय अस्तित्वदेखि लिएर पर्यावरणीय चक्रसम्मलाई असन्तुलनमा पारेको छ । नेपालजस्तो प्राकृतिक रूपले समृद्ध मुलुक पनि यसको चपेटामा परेको छ, विशेषतः हिमाली भूभागमा यसको प्रभाव गहिरो देखिएको छ ।

जलवायु परिवर्तनको असर केवल वातावरणसम्म सीमित छैन, यसले मानवीय संकट उत्पन्न गरेको छ । सदियौँदेखिका परम्परा, संस्कृति, रैथाने कृषि प्रणाली, खाद्य परिकार, सामाजिक अन्तरसम्बन्ध, र मानव–वन्यजन्तु सम्बन्धसम्ममा गहिरो असर परेको छ ।
मुस्ताङको उदाहरण
म्यान्ग्रोभ फाउन्डेसनको अध्ययन अनुसार उच्च पहाडी क्षेत्रमा हिउँको मात्रा कम हुँदै गएको छ । हिमाली क्षेत्रमा हिउँ र बरफ झन् छिटो हराउँदै गइरहेको छ, जसको असर मुस्ताङमा प्रत्यक्ष देख्न सकिन्छ ।
पहिले नियमित हिउँ पर्ने मुस्ताङमा अब हिउँ बिरलै देखिन थालिएको छ । ‘हिउँको देश’ भनेर चिनिने मुस्ताङका बासिन्दाका लागि हिउँ अब स्मृतिमा सीमित हुँदै गएको छ । कृषि योग्य जमिन सुक्खा बगरमा परिणत भइरहेको छ, चौँरी, च्याङ्ग्राका बथान देखिन छाडेका छन्, र पानीका मुहानहरू सुकेको छ ।
प्राकृतिक प्रकोप र जीवनशैलीमा असर
२०८० साउन २८ मा कागबेनीमा आएको बाढीले पुर्याएको क्षति जलवायु परिवर्तनको एक स्पष्ट चेतावनी हो । बेमौसमी वर्षा, असिनापानी, हिमपात र खडेरीले कृषिलाई गम्भीर असर पारिरहेको छ ।
दाउरा अभावले हिउँदमा आगो ताप्न सकस बढेको छ, विशेषतः बालबालिका र ज्येष्ठ नागरिकका लागि । लामखुट्टे जस्ता जीवहरू हिमाली बस्तीहरूमा देखिन थालेका छन्, जुन स्वास्थ्य जोखिमको नयाँ खतरा हो ।
खेतीपाती र पशुपालन सङ्कटमा
मुस्ताङमा आलु, उवा, जौ, फापरजस्ता कृषिबाली उत्पादनमा गिरावट आएको छ । सिँचाइमा समस्या छ, र साना खोलाहरू सुक्दै गएका छन् । पशुपालन सकसमा परेपछि ऊन उद्योग संकटमा छ, र परम्परागत पोशाक बनाउने संस्कृति हराउँदै गइरहेको छ ।
युवा पलायन र सांस्कृतिक क्षति
अवसरको अभाव, व्यवसायको संकट र बदलिँदो जीवनशैलीका कारण युवाहरू गाउँ छाड्दै छन् । कोही सहर र कोही विदेश पलायन भइरहेका छन् । गाउँहरू युवाविहीन बन्दै जाँदा मुस्ताङको सांस्कृतिक पहिचान संकटमा पर्न थालेको छ ।
के गर्न सकिन्छ ?
हिमाल र हिमाली समुदाय संरक्षणका लागि दीर्घकालीन रणनीति आवश्यक छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर व्यहोरेका समुदायलाई जलवायु न्याय दिलाउन सरकार गम्भीर हुनुपर्छ ।
स्थानीय भाषाहरू, परम्परागत सीप, कृषि प्रणाली र जीवनशैलीलाई जोगाउन सहजीकरण गर्नुपर्ने आवश्यकता छ । मुस्ताङ मात्र होइन, सम्पूर्ण हिमाली भूभागलाई लक्षित गर्दै सुदृढ योजना आवश्यक छ, जसले दिगो भविष्य सुनिश्चित गर्न सकोस् ।
आजैबाट पहल नभए, मुस्ताङको गौरवमय इतिहास, संस्कृति र समाज झन् संकटमा पर्नेछ । जलवायु न्यायको माग अब कुनै नारामा सीमित नहोस्, यो सरकारको स्पष्ट दायित्व बन्नुपर्छ ।
(अवस्थी दुई दशकभन्दा लामो समयदेखि मानवअधिकारको पैरवी गर्दै सकारात्मक सामाजिक परिवर्तनको अभियानमा क्रयाशील हुनुहुन्छ ।)