मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

शोक परेको साथीलाई समवेदना शब्द !

डा. दिनेशराज भुजु

अरुको जस्तै मृत्युको पनि समय हुन्छ। मृत शरीर खरानी, धुवाँ वा माटो बन्ने भए, जो जीवित छन् उनीहरुका लागि त्यो शोकको समय बन्छ। यो समय तपाईं वा हामी कसैको पनि होइन, शोकको समय हो। शोक अहिले तपाईंको घरमा पाहुना आएको छ, केहि दिनको लागि। उसलाई रहन दिनोस्। सबैकोमा त्यो पुगिरहेको हुँदैन, उसलाई व्यहोर्न सक्नेकहाँ मात्र उ धाइरहेको हुन्छ। उसको अनन्य भनेकै तपाईंको दुःख र दर्द, बेदना र बिलाप हो। धेरैले उसलाई धपाउन खोज्छन् तर त्यो वुद्धिमानी हैन रहेछ। कोहीकोही हराउन पनि तम्सिन्छन् तर आफ्नै छायाँ त्यो कसरी हार्छ? बाथरुमको ऐनामा धुम्मिएको जलवाष्प जस्तै हो, पुछ्नोस् झन् लेस्सिन्छ, छाडिदिनोस् कति बेला हरायो पत्तै हुँदैन।

महाभारत कथाको वन-पर्वमा युधिष्ठिरसित सारसको रुप धारण गरेका धर्मराज यमले सोधेका हुन्छन्, यस पृथ्वीकी सबभन्दा आश्चर्यमय कुरा के होला? सत्यवचन र निष्ठाका पात्र यमराजको उत्तर हुन्छः हर घडि सयौं हजारों जीवहरुको मृत्यु भैरहेको हुन्छ, तर यी मूर्खजनहरुमा कति पनि मृत्यु वोध छैन, उनीहरु यसरी जिइरहेका हुन्छन् मानौं अजम्बरी हुन्, यो नै सबभन्दा आश्चर्यमय कुरा हो। हुन सक्छ यसैले यी ‘मूर्खजनहरु’लाई तर्साउन गरुड पुराणको रचना गरियो। गरुड पुराणमा तर्साउने सिनेमा हरर-मूभीमा जस्तै मृत्यु पश्चात ‘पापीहरुलाई’ गरिने नारकीय यात्राको बर्णन गरिए‌को हुन्छ। यो हिन्दुहरुका प्रायः घरमा कसैको मृत्यु पश्चात पुरोहितबाट वाचन गराउने गरिन्छ।

मानिसको मृत्यु साश्वत सत्य रहेको कुरा बुझाउने बुद्ध (ईपू ५६३-४८३) को सिकाई विधि बहुत सुन्दर लाग्छ। श्रावस्तीमा एकजना गरिब महिला हुन्छिन्, किसा गौतमी। उनको एउटा बच्चा जन्मन्छ। दुर्भाग्यबस बच्चाको मृत्यु हुन्छ, किसाले यसलाई कुनै हालतमा स्वीकार्न सक्दिनन्। भौंतारिँदै उनी बुद्धकहाँ पुग्छिन् र बच्चालाई ब्युंताई दिन अनुनय-बिनय गर्छिन्। ज्ञानी बुद्धले किसालाई भन्छन्ः तिमी एकमुठ्ठि तोरीको दाना लिएर आउनु म उसलाई ब्युताउने कोशिश गर्छु, र त्यो तोरी यस्तो घरबाट ल्याउनु जुन घरमा कसैको मृत्यु भैसकेको नहोस्। तोरीका दाना पाउन किसा सारा गाउँबस्ती चाहार्छे तर मृत्यु नभएको घर पाउन सक्दिनन् र बुझ्छिन् मृत्यु सबैका घरमा हुँदोरहेछ, यसलाई पन्छाउने ओखती हुँदैन। फर्केर उनी बुद्धकहाँ जान्छे र उपासिका बन्छे।

मृत्युका विषयमा ग्रीसेली दार्शनिक ईपिक्युरस (ईपू ३४१-२७०) को विचार-मन्थन सरल र भौतिकवादी देखिन्छ। उनी बडो विन्दास भावको तर्क पेश गर्छन्ः जबसम्मन् म जिउँदो हुन्छु मकहाँ यमराज आइपुग्दैन, जब उ आइपुग्छ म यहाँ नरही सक्छु। जब जीवन र मरणको संयोग संभव छैन त यसबारे चिन्ता किन? उनले भनेर गए।

मृत्युका विषयमा दार्शनिक चिन्तन र धार्मिक कथा बाहेक वैज्ञानिक शोध-खोज पनि भएका छन्। मृत्युको परिभाषा र प्रकार, यसको कारण र प्रक्रिया, यससित जोडिएर आउने आँसु र स्मृतिशृङ्खला, वेदना र संवेदना, शोक र सन्तापजस्ता विषयवस्तुहरुमा वैज्ञानिक समुदायले पनि गहिरो अभिरुची राख्दै आएको छ। आफ्ना आफन्तजन, परिवार सदस्य वा आफुले माया-प्रेम गरेका बस्तुकै पनि अवसानबाट हामी किन दुखित हुन्छौं? किन आँसु बग्छ र घरिघरि भक्कनोले छोप्छ? शरीरमा कतै घाउ-चोटपटक लागेको हुँदैन तर किन असैह्य पीडा हुन्छ? यस्तो अवस्था कहिले मत्थर हुन्छ र सामान्य जीवनको पुनरावृति हुन्छ? यी यस्ता यक्ष-प्रश्न हुन् जसको उत्तरमा पछिल्लो समय विज्ञान केहि सिद्दान्त सहित उभिन आएको छ।

मृत्यु सिर्जित वियोग पश्चातको घडीलाई वैज्ञानिकहरु शोकको अनिवार्य घडी मान्दछन्। मानिसको जीवनमा यो अत्यन्त पीडादायी अवस्था पनि हो। सामान्यतः मृत्यु शोकका पाँच अवस्था वा चरणहरु हुन्छन्ः

१) इन्कार (Denial),

२) क्रोध (Anger),

३) सौदाबाजी (Bargaining),

४) अवसाद (Depression),

र ५) स्वीकार (Acceptance) ।

यसको मूल श्रोत मनोचिकित्साका वैज्ञानिक डा. इलिजाबेथ कुब्लर-रस (१९२६-२००४) का अग्रणी अनुसन्धानहरु हुन् र उनको पुस्तक अन डेथ एण्ड डाइङ्ग (प्रकाशन सन् १९६९) हो। यद्यपि शोक र पीडाको अवस्था तुलनायोग्य हुँदैन र व्यक्ति-व्यक्तिमा यो पृथक हुन्छ, अक्सर मानिसहरु यी चरणबाट गुज्रिरहेका हुन्छन् ।

१) इन्कारः आफ्नाजन वा आफनो नजिकको कोहि प्यारा मानिस जीवनको अन्तिम अवस्थामा पुगेको वा मृत्यु भएको थाहा पाउँदा बखत सबभन्दा पहिले निस्कने प्रतिक्रिया भनेको इन्कार हो। तपाईं उसको मृत्युलाई स्वीकार गर्नै चाहनु हुन्न। “यो हुनै सक्दैन”, तपाईलाई यस्तो लागि रहन्छ यो पहिलो र अस्थायी प्रकृतिको अवस्था हो जसले हामीलाई पीडाको पहिलो झट्‌कादेखि आहत हुन जोगाउँछ । यो एक प्रकारको प्रतिरक्षा संयन्त्र पनि हो र यसले हाम्रो भावनालाई तर्कसङ्गत बनाउन खोजिरहेको हुन्छ।

२) क्रोधः जब हाम्रो इन्कार भावले अलिकति स्थान छोडेको जस्तो हुन्छ, यथार्थ त्यहाँ देखा पर्न थाल्छ र पीडा बल्झिन्छ। यसका लागि हामी तयार भने भै सकेका हुँदैनौं। भित्रदेखि निस्किरहेको त्यो भावनात्मक संवेगलाई हामी फरक ढङ्गले प्रस्तुत गर्न पुग्छौं जुन अक्सर क्रोधको रुपमा व्यक्त भैरहेको हुन्छ। आफुलाई पत्तै हुँदैन तर हामी त्यसै-त्यसै झर्किरहेका हुन्छौं कसैसँग, कहिलेकाँही त अजनबीसित पनि, बस्तु वा कुनै सामानसित समेत। क्रोधको केन्द्र कहिलेकाहीं बितेर गएका आफ्ना प्यारा समेत बन्न पुग्छ। बडो याद गर्नु पर्छ।

३) सौदाबाजीः शोकको एक अवस्थामा हामी के पनि सोच्न पुग्छौं भने कतै त्यस मृत्युको कारण म आफै त हैन ! यदि मैले उसो गरेको भए, यदि मैले यसो गरेको भए, यदि समयमै उपचार गरेको भए, यदि फलानाको कुरा सुनेको भए-यो दुखद् घटना हुने नै थिएन। यस्तो सौदाबाजीको हुण्डरी मनभित्र असाध्यै चलिरहेको हुन्छ। यसको लागि म दोषी छु भन्ने भाव झाङ्गिञ्छ। आत्मग्लानी हुनु र आफ्नो दोष देख्नु यस्तै सौदाबाजीको चरण हो।

४) अवसादः अनुसन्धानकर्मीहरुका अनुसार मृत्यु शोकसित दुई प्रकारका अवसाद जोडिएको हुन्छ। पहिलो भनेको व्यावहारिक क्षति जसका कारण हामीलाई अत्यन्त दुःखी र मर्माहत बनाएको हुन्छ। दोश्रो अवसाद निजी प्रकारको हुन्छ। शोकका कारण अवसाद हुन सक्छ भन्ने कुरा हेक्का राख्नु नै यसको पहिलो उपचार हुन सक्छ।

५) स्वीकारः शोकको अन्तिम अवस्था भनेको वास्तविकतासितको तादात्म्य हो, जे भयो त्यसलाई स्वीकार गर्न पुगेको अवस्था हो। यद्यपि यो हामीले चाहे जस्तो छिटो वा भने जस्तो रुटमा चल्दैन। धेरैको भनाइ के छ भने, शोक र पीडालाई तपाई जति दबाएर राख्नु भयो यो त्यति नै लामो समयसम्म टाँसिएर बसिरहन्छ। शोकबाट मुक्ति भनेको अभिव्यक्त गर्नु हो, आफ्ना नजिककाहरुसित कुरा गर्ने। कुरा गर्ने इच्छा जाग्दैन भने लेख्ने। मनमा बिलापलाई थुन्ने होइन नरोकिकन बग्न दिने।

शोकका यी अवस्थाहरु जीवहरुको जीवन-चक्र जस्तो एकपछि अर्को आउने होइन, न त एक सकिएर अर्को देखा पनी यो अनियमित अनि अराजक पनि हुन्छ, तर हुन दिनु पर्छ भन्छन्, पन्छाउने त हुँदै होइन । शोकको मात्रा र परिमाण सबैलाई उत्ति नै हुँदैन। मूलतः कुन अवस्थाको अवसान, अवसान हुनेको अवस्था व्यवस्था, आकस्मिक वा प्रतिक्षारत अवसान, उमेर र स्थान, उसितको पहिचान अनि निकटता, आदि थुप्रै कुराले व्यक्तिमा पैदा हुने शोकको तिब्रता र पीडाको गहिराई निर्धारण गर्दछ। यतिबेला स्मृतिको भेल यति आउँछ कि लाग्छ यो अन्तहीन छ। वास्तवमा म बाँचेको छु भन्नुको प्रमाण भनेकै स्मृतिहरुको शृङ्खला हो।

शोकको उत्थान त भयो तर के यसको अन्त्य छैन? धेरैले के भन्दछन् भने शोकको सबभन्दा ठूलो ओखती समय हो। तर, समय घर्किँदैमा मात्र त्यो हराइजाने रहेनछ। बरु हो के रहेछ भने समयसँगै हामीले आफ्नो सक्रियता र प्रज्ञा बढाउँदै लैजानु पर्छ। सक्रियता र प्रज्ञाले जीवन अनुभवको दायरालाई फराकिलो बनाउँदो रहेछ। जीवन फराकिलो हुँदै जाँदा शोकको पल साँघुरिदै जाँदो रहेछ। साँघुरिएको शोकको असर स्वतः न्यून हुन जान्छ। पछिल्ला अध्ययनहरुले यस्तै भनेको छ ।

(नाष्टका प्राज्ञ एवम् वैज्ञानिक भुजुले १६ जुलाई २०२३ मा लेख्नु भएको यो लेख सदावहार महत्वको भएकाले लेखक र https://manavaawaj.com/ लाई उद्घृत गर्दै प्रकाशन गर्न सकिनेछ ।)

Author