मानव आवाज

२०८३ कात्तिक ३० गते
00: 00: 00
२०८३ कात्तिक ३० गते

युवा क्लबद्वारा देउसीभैलोबाट ८३ हजार रुपियाँ सङ्‌कलन

सिन्धुली । तीनपाटन गाउँपालिका-१, बेलघारीस्थित न्यू सांस्कृतिक युवा क्लब झुँगाखोलाले दीपावलीको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट ८३ हजार ८ सय १५ रुपियाँ सङ्कलन गरेको छ ।

क्लबले २०८३ कात्तिक २१ देखि २५ गतेसम्म स्थानीय झुँगा देउराली, तिन्तले, भडार र सान्झुगाँ टोलमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको थियो । क्लबका सदस्य शिव हमालको नेतृत्व तथा स्थानीयवासीको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष सन्तोष समालको अध्यक्षता तथा वडा नं. १ का वडाध्यक्ष गोविन्द राउतको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा देउसीभैलो अभियानमा सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सोममाया अधिकारी, तुलसी काफ्ले र गोपाल बुढाथोकीलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने श्यामबहादुर विक तथा विशेष सहयोग गर्ने कृष्णबहादुर विक र ईश्वर रानालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विशेष सहयोग पुर्‍याएको भन्दै लीला रैकालाई समेत सम्मान गरिएको क्लबले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्द राउतले देउसीभैलोजस्ता सांस्कृतिक कार्यक्रमले मौलिक संस्कृतिको संरक्षण र प्रवर्धन गर्नुका साथै सामाजिक कार्यका लागि आर्थिक स्रोत जुटाउनसमेत सहयोग पुग्ने बताउनुभयो ।

यसरी सङ्कलित रकमले गाउँघरका आर्थिक तथा सामाजिक समस्या समाधान गर्न र सामान्य जीविकोपार्जनमा समेत सहयोग पुर्‍याउन सक्ने उहाँको भनाइ थियो ।

क्लबका अनुसार विगतका वर्षहरूमा देउसीभैलोबाट सङ्कलित रकम सामाजिक कार्यमा खर्च गर्नुका साथै भोजभतेरमा प्रयोग हुने ठूलासाना भाँडाकुँडा, टेन्ट तथा बाजागाजा खरिद र क्लब भवन निर्माणमा उपयोग गरिएको छ ।

त्यस्तै, क्लबका सदस्यहरूबिच प्रत्येक तीन महिनामा लगानी तथा रकम फिर्ता गर्ने गरी सञ्चालन गरिएको घुम्ती कोषमा हाल २ लाख ८२ हजार रुपियाँ रहेको जानकारी दिइएको छ ।

यस वर्ष देउसीभैलोबाट सङ्कलित रकम पनि सामाजिक कार्यमा खर्च गरिने क्लबका अध्यक्ष सन्तोष समालले बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार