काठमाडौँ । मानवअधिकारकर्मीहरूले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
श्रेष्ठलाई २०८३ साउन २७ गते राति गरिएको गिरफ्तारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानवअधिकारकर्मीहरूले उक्त घटनाको भत्र्सना गरेका हुन् ।
मानवअधिकारकर्मीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा रातको समयमा श्रेष्ठको घरमा छापा मार्नुका साथै विद्युतीय सामग्री नियन्त्रणमा लिइएको र घर तथा कार्यालयबाट कम्प्युटरलगायतका उपकरण प्रहरीले बरामद गरेको उल्लेख छ ।
के सत्ता प्रश्नभन्दा माथि छ ?
गिरफ्तारीका क्रममा घरपरिवारका सदस्यलाई समेत आतङ्कित पार्ने गरी राज्य संयन्त्र प्रयोग गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।
सञ्चारमाध्यमसँग सम्बन्धित गुनासा तथा उजुरीमाथि आवश्यक कारबाही गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल नेपाल रहेको उल्लेख गर्दै विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई लक्षित गरी राज्यशक्तिको योजनाबद्ध तथा सङ्गठित रूपमा प्रहरी संयन्त्रको दुरुपयोग गरिएको दाबी गरिएको छ ।
मानवअधिकारकर्मीहरूले यस्तो कार्य अधिकारको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक पद्धति र मूल्य-मान्यतामाथिको प्रत्यक्ष प्रहार भएको बताएका छन् ।
पत्रकार श्रेष्ठको गिरफ्तारीप्रति विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहाइको माग
श्रेष्ठको गिरफ्तारीले नेपालको संविधानको धारा १७(२)(क) तथा नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १९ द्वारा संरक्षित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रभावित भएको उनीहरूको ठहर छ ।
विज्ञप्तिमा घटनाले पत्रकार आचारसंहितासँग सम्बन्धित विषयसमेत उठाएको उल्लेख गर्दै आमसञ्चार क्षेत्रलाई भय र त्रासमा राख्ने प्रयास भएको आरोप लगाइएको छ ।
सरकार तथा सुरक्षा निकायबाट शक्ति र अधिकारको दुरुपयोग हुँदा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर चुनौती उत्पन्न भएको उनीहरूको भनाइ छ ।
वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलले जनायो गम्भीर ध्यानाकर्षण
मानवअधिकारकर्मीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको भावनाअनुरूप पत्रकार श्रेष्ठलाई बिनाशर्त तत्काल रिहा गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।
सञ्चारमाध्यमसँग सम्बन्धित विवाद तथा उजुरीको निरुपण प्रेस काउन्सिल नेपालको कार्यादेश र प्रचलित प्रक्रियाअनुसार गर्न सरकारलाई आग्रह गरेका छन् ।