मानव आवाज

२०८३ श्रावण २८ गते
00: 00: 00
२०८३ श्रावण २८ गते

वरिष्ठ पत्रकार श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलले जनायो गम्भीर ध्यानाकर्षण

काठमाडौं समाचार प्रकाशनको विषयलाई लिएर आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

काउन्सिलले २०८३ साउन २७ गते राति श्रेष्ठलाई पक्राउ गरी २०८३ साउन २८ गते बिहान सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरेर कम्प्युटरसहित सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस काउन्सिल ऐन, २०४८ ले पत्रकार आचारसंहिताको पालना गराउने, पत्रकारिता क्षेत्रको विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने, प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिने तथा पत्रकार र सञ्चारमाध्यमको मर्यादा कायम राख्ने जिम्मेवारी काउन्सिललाई दिएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलका अनुसार पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी आएमा त्यसको छानबिन गरी सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई आफ्नो भनाइ राख्ने अवसर दिने, खण्डन प्रकाशन वा प्रसारण गर्न निर्देशन दिने, ध्यानाकर्षण वा सचेत गराउने, पत्रपत्रिकाको मूल्यांकन तथा वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, लोककल्याणकारी विज्ञापनलगायत सुविधाबाट वञ्चित गर्न वा सूचीकरणबाट हटाउन सम्बन्धित निकायलाई निर्देशन दिने लगायतका प्रक्रिया अपनाउन सकिने व्यवस्था छ ।

त्यस्तै, प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने, सरकारी वा अन्य निकायबाट निश्चित अवधिका लागि उपलब्ध हुने विज्ञापन वा सुविधा रोक्न सिफारिस गर्ने तथा राज्यका तर्फबाट सहयोगी नदिएर कारबाही गर्ने लगायतका विषयमा पनि सम्बन्धित निकायलाई सिफारिस गर्न सक्ने अधिकार काउन्सिलसँग रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी परेमा आफ्नो क्षेत्राधिकारभित्र रहेर छानबिन तथा कारबाही गर्दै आएको जनाएको छ ।

काउन्सिलका निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमलाई कारबाही तथा कालोसूचीमा राख्नेसम्मको प्रक्रिया रहेको पनि उसले स्पष्ट पारेको छ ।

श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राख्ने तथा सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी सामग्री जफत गर्ने घटनाको सन्दर्भमा भने काउन्सिलले सञ्चारमाध्यम र पत्रकारमाथि कारबाहीका लागि विद्यमान कानुनी तथा संस्थागत प्रक्रियाको प्रयोग गर्नुपर्ने सङ्केत गरेको छ ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ ।

प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्ने भन्दै काउन्सिलले सञ्चारकर्मीलाई पनि आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक, मर्यादित, जवाफदेही र तथ्यपरक पत्रकारिता गर्न आग्रह गरेको छ ।

सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित र जबाफदेही बनाउनुपर्नेमा जोड दिँदै काउन्सिलले प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन पत्रकार तथा सञ्चारमाध्यमलाई सचेत रहन आग्रह गरेको छ ।

काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार तथा सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझेमा काउन्सिलमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई अनुरोधसमेत गरेको छ ।

Author

Share the News

Recent News

Related News