नयाँ शैक्षिक सत्रको सुरुवातसँगै पोखराको आकाश निर्मल थियो । हिमालबाट बग्दै आएको बिहानको चिसो हावा घामका कोमल किरणसँग मिसिएर वातावरणलाई उज्यालो बनाइरहेको थियो । त्यही उज्यालोभित्र सानो हातमा नयाँ झोला बोकेको बालक र छेउमै उभिएकी आमा-उनका आँखामा एउटा सानो तर गहिरो सपना झिल्किएको थियो । “मेरो बच्चा अघि बढोस् ।” यही मिठो कल्पनामा हराउँदै उनी कतिबेला विद्यालयको गेटसम्म आइपुगिन्, थाहै पाइनन् । बच्चालाई स्कुल छाडेर फर्किँदा उनको मन आशाले भरिएको थियो । अब विस्तारै उसको भविष्य उज्यालो बन्दै जानेछ भन्ने अटल विश्वाससहित ।
तर, केही हप्तामै त्यो विश्वासलाई झस्काउने गरी विद्यालयबाट फोन आयो-“म्याम, एकपटक विद्यालय आउनुहोस् न ।” यति सुन्नासाथ उनका मनमा अनगिन्ती प्रश्नहरू तरङ्गित हुन थाले । अज्ञात डरले मन चिसियो । विद्यालय पुग्दा अफिस कोठाको वातावरण अस्वाभाविक रूपमा गम्भीर थियो । टेबलको अर्को छेउमा बसेका शिक्षकहरूको अनुहारमा मुस्कानको साटो कठोरता देखिन्थ्यो ।
त्यो दृश्यले नै उनको मन भारी बनाइसकेको थियो । केही क्षणको मौनतापछि कक्षा शिक्षकले विस्तारै शब्द उच्चारण गरे-“हामी तपाईंको बच्चालाई यहाँ राख्न सक्दैनौँ…” त्यसपछि एकपछि अर्को तर्कहरू थपिँदै आए-“उसलाई माथिल्लो कक्षामा उकाल्न गाह्रो हुन्छ… अरू बच्चाको पनि ध्यान बिगार्छ … ठूलो कक्षामा यस्तो पढाइले पुग्दैन…।” प्रत्येक वाक्य उनका लागि केवल शब्द थिएनन् । ती त उनका सपनाहरूमा हानेका चोटहरू थिए । जसले उनलाई भित्रैदेखि विस्तारै भत्काइरहेका थिए ।
यी शब्दहरू सुन्दै जाँदा, आमा बाहिरबाट शान्त देखिछिन्-“ठिक छ म्याम भन्दै मुन्टो हल्लाएर अफिस कोठाबाट बहिर निस्किन्छन् तर उनी भित्र भित्रै टुटिरहेकी हुन्छिन् । घर फर्किने बाटो लामो लाग्छ फेरि देखेका सपनाहरू केहिदिनमै टुटे जस्तो लाग्छ । छेउमै उभिएको बच्चा खुसी हुँदै भन्छ “मम्मी आज मैले चित्र राम्रो बनाएको ! आमाले मुस्कान दिॅंदै भन्छिन्-“मेरो बच्चा त धेरै राम्रो छ नि “! यो मुस्कानभित्र एउटा गहिरो पीडा लुकेको हुन्छ । किनभने उनलाइ थाहा छ उनको बच्चा फरक तरिकाले सिक्छ । ऊ अरु जस्तो छिटो लेख्न सक्दैन । समयमै कपी डाउन गर्न सक्दैन तर उसले बुझ्छ, उसँग ज्ञान छ ।

त्यसपछि सुरु हुन्छ अर्को नयाँ सङ्घर्ष अब कहाँ जाने ? घर फर्किएर पोखराका नाम चलेका विद्यालयहरू खोज्न थाल्छिन् तर हरेक ढोकामा एउटै नियम हुन्छ । “नपढे कक्षा उक्लन पाइँदैन ।” “इन्ट्रान्स पास नगरे भर्ना हुँदैन ।” परीक्षाको दिन बच्चा कागजमा हेरेर बस्छ । उसले प्रश्न बुझ्छ अनी उत्तर पनि थाहा हुन्छ तर समयले साथ दिँदैन । उसको हात छिटो चल्दैन । बाहिर आमा डरडरका बिचमा आशा पालेर उभिएकी हुन्छिन् । यतिकौमा नतिजा आउछ “नट सेलेक्टेड” फेरि एउटा सपना चुपचाप मर्छ । विद्यालयबाट फर्किएपछि, आमा बच्चालाई सुताउँदै थिइन् । बच्चा निदाइसकेको थियो, तर उनी भने छततिर हेरेर बसिरहिन । सोच्दिन भन्दा पनि मनमा फेरि तिनै प्रश्नहरु दोहोरिन थाले-“के मेरो बच्चा साँचै कमजोर हो ?” “कि हाम्रो शिक्षा प्रणालीले उसलाई बुझ्न सकेन ? ” के मेरो बच्चाले नघोकेकाले मात्र उ पछाडि परेको हो ? “के कक्षा उकाल्नु केवल परीक्षामा पास हुनुमा मात्र निर्भर हुनुपर्छ ?”
उनले सम्झिन् हामी अझै पनि त्यही “घोकन्ते शिक्षा ” मा अड्किएका छौँ । नपढे, नघोके कक्षा उक्लन पाइँदैन भन्ने सोच ! तर, के यही नै साँचो शिक्षा हो ? अर्को दिन बच्चा आफ्नो कापी लिएर आयो । उसले केही लेखेको थियो अलि अपुरो । उसले भन्यो-“मम्मी मैले बुझेको हो है…”. कापी हेर्दै सोचिन्-“ऊसले त बुझ्छ तर किन प्रणालीले बुझ्दैन ?” उनलाई सम्झना आयो विश्वका धेरै देशहरूले यो सोच धेरै अगाडि छोडिसकेका छन् । जस्तै जापानले जहाँ साना कक्षाहरुमा बच्चालाई फेल गराइँदैन किनभने त्यहाँ विश्वास गरिन्छ । बच्चाको आत्मविश्वास नटुटोस् । उसको मनोविज्ञान सुरक्षित रहोस् । त्यहाँ कसैले सोध्दैन “कति नम्बर आयो ? बरु सोधिन्छ “ऊ कति खुसी छ ?” उसले कति सिकिरहेको छ आफ्नै तरिकाले तर यहाँ अझै पनि एउटै मापदण्ड छ ।
हाम्रो छिमेकी मुलुक भारतमा पनि क्याम्ब्रिज एसिस्मेन्ट इन्टरनेसनल एजुकेसनअन्तर्गतका विद्यालयहरुले यस्ता बच्चाहरूका लागि फरक तरिका अपनाएका छन् । आमाका मनमा फेरि प्रश्न आयो “यादि अरु देशहरुले सक्छन् भने, हामी किन सक्दैनौँ ?” उनी केही दिनपछि अर्को स्कुलमा गइन् । फेरि उही कुरा ” हामीले व्यवस्थापन गर्न सक्दैनौँ । यो शब्द अब उनको लागि नयाँ थिएन तर पीडा भने हरेकपटक नयाँ जस्तै लाग्थ्यो । उनी बाहिर निस्किइन् बच्चा उनको हात समाएर हिँडिरहेको थियो । एकछिन पछि बच्चाले सोध्यो “मम्मी मैले किन यहाँ पढ्न नपाएको ?” आमा रोकिइन् । जबाफ थिएन । सन्नाटा छायो । संसार नै टक्क अडिए झैँ भयो । सानो बाबुका अगाडि आमा नाजबाफ हुनु पर्यो ।
त्यो रात पनि उनी धेरै बेर निदाउन सकिनन् । छततिर टोलाउँदै बसिरहँदा उनका मनमा प्रश्नहरूको आँधी चलिरह्यो-“के विद्यालयमा प्रशिक्षित शिक्षक हुनु आवश्यक छैन ?” “के शिक्षकले मेरो बच्चाको मन बुझ्न सक्दैनन् ?” “किन हरेक बच्चालाई एउटै ढाँचामा अटाउन खोजिन्छ ?” उनलाई भित्रैदेखि थाहा थियो-उनको बच्चा कमजोर होइन, ऊ केवल फरक तरिकाले सिक्ने बच्चा हो । यो सङ्घर्ष उनको मात्र थिएन । समाज अझै बुझ्न तयार थिएन । आफन्तहरू पनि प्रश्न गर्थे-“अझै किन यस्तो समस्या ?” “के गरिरहनुभएको छ ?” यस्ता प्रश्नहरूले उनको मनमा बारम्बार गहिरो घाउ बनाइरहन्थे । विद्यालयले अस्वीकार गर्थ्यो, समाजले औँला उठाउँथ्यो र उनी भित्रभित्रै थाक्दै जान्थिन् । सबैभन्दा पीडादायी कुरा त के थियो भने-यी सबैबिच कसैले पनि उनलाई एकपटक पनि सोधेन, “तपाईं ठिक हुनुहुन्छ ?”
यति धेरै सङ्घर्षका बिच“नेपाल सरकारले कक्षा ५ सम्म आन्तरिक परीक्षा हटाउने र मनोवैज्ञानिक दबाब नपर्ने मूल्याङ्कन प्रणाली ल्याउने तयारी गरेको” खबर सुन्दा उनको मनमा सानो आशा पलायो-“सायद अब केही बदलिन्छ ।” उनले मनमनै सोचिन्-यदि यो व्यवस्था पहिले नै लागू भएको भए, सायद उनको बच्चाले “नट सेलेक्टेड” भन्ने शब्द सुन्नुपर्दैनथ्यो । सायद उसले आफूलाई कमजोर ठान्ने थिएन । यो आशासँगै नयाँ प्रश्नहरू पनि जन्मिए-“के यो निर्णयले मात्रै पुग्छ ?” “के फरक तरिकाले सिक्ने बच्चाहरूका लागि विशेष व्यवस्था आउँछ ?” छततिर हेरेर टोलाउँदै उनी फेरि सोचमा डुबिन्-यदि सरकार साँच्चै मनोवैज्ञानिक असर नपर्ने शिक्षा चाहन्छ भने, “के विद्यालयहरू तयार छन् ?” अनि सबैभन्दा महत्वपूर्ण प्रश्न-“के शिक्षकहरू तयार छन् ?”
साँझ पर्छ । आमा आफ्नो बच्चालाई सुताउँदै बिस्तारै भन्छिन्-“बाबु, तिमी ठूलो मान्छे बन्छौ है ?” बच्चा मुस्कुराउँदै सहज उत्तर दिन्छ-“म त पहिल्यै राम्रो छु नि, मम्मी ।” त्यो सानो वाक्यले आमाको मनलाई गहिरोसम्म छोयो । उनका आँखाबाट आँसु झरे । दुःखका होइनन्, एउटा कठोर सत्यका । बच्चाले आफूलाई स्वीकारिसकेको थियो । समाजले अझै स्वीकार्न बाँकी थियो ।
अन्ततः प्रश्न एउटै बाँकी रहन्छ-“हामी कहिले बुझ्नेछौँ कि हरेक बच्चा एउटै हुँदैनन् ?” घोकन्ते शिक्षाभन्दा मानसिक स्वास्थ्य ठूलो हो । अङ्कभन्दा आत्मविश्वास मूल्यवान् हो । अब समय आएको छ-“नपढे कक्षा उक्लँदैन” भन्ने सोच बदल्ने र “हरेक बच्चा आफ्नै तरिकाले अघि बढ्छ” भन्ने सत्यलाई स्वीकार्ने । तर अन्तिम प्रश्न सरकार र समाज दुवैका लागि-“हामी अझै कति बच्चाको आत्मविश्वास तोडिएपछि मात्र शिक्षा प्रणाली बदल्न तयार हुन्छौँ ?”
(पोखराकी सरू लम्साल अहिले जापान बस्नुहुन्छ ।)