मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रश्नै लोकतन्त्रको प्राण हो !

“के हो के हो गरे बुद्ध बनिन्छ, हो मा हो गरे बुद्धु बनिन्छ ।” लोकतन्त्रमा यो उखान केवल शब्दको खेल होइन-यो नागरिक चेतनाको मर्म हो । प्रश्न गर्ने नागरिक ‘बुद्ध’ बन्छ, किनकि उसले शासनलाई सच्याउने दर्पण देखाउँछ । तर, बिना प्रश्न, बिना जाँच “हो मा हो” गर्दै जाने संस्कृतिले भने नागरिकलाई ‘बुद्धु’ बनाउँछ । जब नागरिकले प्रश्न गर्न छोड्छन् र केवल भावनामा बगेर समर्थन गर्छन्, त्यहीँबाट पपुलिजम बलियो बन्छ।

एजेण्डा हराउँदै गएका छन्, नाराहरू मात्र बाँकी छन् । नीति ओझेलमा परेको छ, लाइभ भिडियो र ट्रेन्डले स्थान लिएका छन् । विचारको ठाउँमा भाइरलताको प्रतिस्पर्धा देखिन्छ । आज ‘वैकल्पिक’ भनेर उभिएका धेरै शक्ति एजेण्डाको स्पष्टता होइन, पपुलिजमको रेल चढिरहेका छन् । कहाँबाट कुन बेला डब्बा खुस्कने हो कुनै टुङ्गो छैन । जनताको आक्रोशलाई सङ्गठन र संरचनामा रूपान्तरण गर्नुपर्ने ठाउँमा आक्रोशलाई ‘कन्टेन्ट’ बनाइँदैछ, गहिरो बहसको सट्टा ताली र ट्रोलको गणित मिलाइँदैछ । यो लोकतनेत्रका लागि खतराको सङ्केत हो ।

लोकतन्त्रमा विकल्प हुनु अनिवार्य छ, तर विकल्पको अर्थ केवल अनुहार फेर्नु होइन । दृष्टि, नीति, कार्यक्रम र उत्तरदायित्वको स्पष्ट खाका बिना कुनै शक्ति दीगो विकल्प बन्न सक्दैन । भीडको शोरले क्षणिक जित दिलाउन सक्छ, तर देश चलाउन विचार, संयम र संस्थागत प्रतिबद्धता चाहिन्छ । लोकप्रियता नेतृत्वको प्रमाण होइन; विश्वसनीयता र कार्यान्वयनको क्षमता नै नेतृत्वको असली परीक्षा हो ।

पपुलिजम हुनु लोकतन्त्रको पहरेदार हुनु होइन । लोकतन्त्रको पहरेदार बन्नु भनेको संस्थालाई बलियो बनाउनु, कानुनी प्रक्रियाको सम्मान गर्नु र असहमतिलाई स्थान दिनु हो । पपुलिजमले भावना उत्तेजित गर्न सक्छ, तर नीति निर्माण गर्दैन । ट्रेन्डले ध्यान तान्न सक्छ तर संरचनागत सुधार गर्दैन । दीगो परिवर्तनका लागि नाराभन्दा स्पष्ट कार्यक्रम र कार्यान्वयनको रोडम्याप आवश्यक हुन्छ ।

यस सन्दर्भमा आलोचना र गालीबिचको भिन्नता पनि बुझ्न जरुरी छ । आलोचना लोकतन्त्रको अक्सिजन हो-यसले नेतृत्वलाई सच्याउँछ र उत्तरदायित्वको दायरामा राख्छ । तर, गाली र हेट स्पिचले समाजलाई ध्रुवीकरण गर्छ, असहमतिको ठाउँलाई शत्रुतामा बदल्छ र संवादको संस्कार कमजोर बनाउँछ । हेट स्पिच सामान्य बन्दै जाँदा बहसको स्तर झर्छ, विश्वास क्षय हुन्छ र लोकतन्त्रको आधार नै खल्बलिन्छ ।

हामीलाई भाइरल नेता होइन, विश्वासिलो नेतृत्व चाहिएको छ । स्टन्ट होइन, संरचनागत सुधार चाहिएको छ । नारामात्र होइन, स्पष्ट नीति र कार्यान्वयनको मार्गचित्र चाहिएको छ । पपुलिजमको लहरमा बगेर होइन, एजेण्डाको आधारमा उभिएको शक्ति मात्र साँचो र दीगो विकल्प बन्न सक्छ । नत्र ‘वैकल्पिक’ भन्ने नाम पनि भोलि अर्को नारामा सीमित हुनेछ ।

लोकतन्त्रको प्राण नै जबाफदेहिता हो । जबाफदेहिता बिना सत्ता निरङ्कुश हुन्छ, निर्णय अपारदर्शी हुन्छन् र अधिकार केवल कागजमा सीमित रहन्छन् । पारदर्शिता शासनको अनुहार हो-जहाँ सूचना खुला हुन्छ, निर्णय प्रक्रिया स्पष्ट हुन्छ र सार्वजनिक स्रोतको हिसाब नागरिकले देख्न सक्छ । आवधिक निर्वाचन जनताको नवीकरणको अधिकार हो-विश्वास छ भने निरन्तरता, असन्तोष छ भने परिवर्तन । मानव अधिकार लोकतन्त्रको नैतिक आधार हो-जहाँ नागरिकको सम्मान सर्वोपरि हुन्छ । यी सबै खम्बाहरूलाई जोड्ने एउटै कडी छ-प्रश्न र उत्तर ।


नागरिकले प्रश्न नगरे लोकतन्त्र सुत्छ । जिम्मेवार निकाय र जनप्रतिनिधिले उत्तर नदिए लोकतन्त्र खोक्रो हुन्छ । प्रश्नले नीति सुधार्छ, उत्तरले विश्वास जगाउँछ । आजको समयको सबैभन्दा ठूलो चुनौती यही हो-प्रश्नलाई असहज ठान्ने प्रवृत्ति । तर, लोकतन्त्रमा प्रश्न असहज होइन, आवश्यक हुन्छ । प्रश्नले विरोध मात्र गर्दैन, उसले समाधानको ढोका पनि खोल्छ ।

लोकतन्त्र भनेको को सत्तामा छ ? भन्ने प्रश्नभन्दा सत्ता कसरी प्रयोग भइरहेको छ ? भन्ने विषय हो । कानुनले निर्देशित गर्ने शासन नै लोकतन्त्र हो, जहाँ व्यक्तिले होइन, प्रणालीले निर्णय गर्छ । त्यसैले लोकतन्त्र आदेश र निर्देशनमा होइन, नियम, प्रक्रिया र संस्थागत संयन्त्रमा आधारित हुनुपर्छ ।

लोकतन्त्र बचाउने हो भने “के हो?” भन्ने साहस चाहिन्छ । लोकतन्त्र बिगार्ने हो भने “ठिकै छ” भन्ने मौनता काफी छ । त्यसैले, सचेत नागरिक बनौं । हो मा हो होइन, तथ्यमा आधारित प्रश्न गरौं । किनकि प्रश्न गर्ने समाज नै सचेत समाज हो-र सचेत समाजमै लोकतन्त्र फस्टाउँछ । लोकतन्त्र भाषणले होइन, बहसले बलियो हुन्छ । मौनताले होइन, प्रश्नले परिपक्व हुन्छ ।

Author