यतिबेला मुलुकको वामपन्थी आन्दोलनमा एकताको लहर शुरुआत भएको छ । झण्डै एक महिनामा १६ ओटा कम्युनिष्ट एवम् समाजवादी पार्टीहरु मिलेर नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ । यतिबेला नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा प्रदेशस्तरमा हजारौं कार्यकर्ता र जनसमुदायका बिचमा एकता सन्देशसभा गरिरहेको छ । र, यो एकतालाई विस्तार गर्दै पुष्पलालले स्थापना गरेको एउटा मात्र कम्युनिष्ट पार्टी बनाउने लक्ष्यका साथ सन्देशसभामार्फत नेताहरूबाट अपिल भइरहेको छ ।
अब नेपालमा समाजवादी क्रान्ति गरेर समाजवादबाट मात्रै नेपाली जनताको सुख,समृद्धि र सामाजिक न्याय हासिल गर्न सकिन्छ । समाजवादी क्रान्ति कम्युनिष्ट पार्टीको अगुवाइमा मात्रै सम्भव छ । अब नेपालका कम्युनिष्ट पार्टीहरुले बेग्लाबेग्लै चुल्हो चौका बालेर समाजवादको कुरा गरिरहनु भनेको नेपाली समाजवादी क्रान्तिलाई झन् पछाडि धकेल्नु हो । यसबाट जनताको गरिबी, बेरोजगारी, अभाव, असमानता, शोषण झन्झन् बढेर जानेछ ।
यति मात्रै होइन,मुलुकको राष्ट्रियता, सार्वभौमिकतामा गम्भीर चुनौती खडा भएको छ । मुलुकको राष्ट्रियताका सही पहरेदार वामपन्थी नै हुन् । यस्तो स्थितिमा वामपन्थीहरू भिन्नभिन्न भइरहनुपर्ने कारण छैन । जति धेरै वामपन्थीहरू विभाजित हुन्छन्, त्यति नै देशको राष्ट्रियता कमजोर हुँदै जानेछ । यस्तो बेला वामपन्थीहरू एक ठाउँमा अब खडा हुनैपर्छ ।
यस्तो स्थितिमा देशको ठुलो पार्टी एमालेको एघारौं राष्ट्रिय महाधिवेशन भइरहरेको छ । एमालेको यो महाधिवेशनले यतिबेला राष्ट्र र जनताप्रतिको अभिभाराको बोध गरेर बृहत् वामपन्थी एकताको अवधारणालाई अगाडि सार्न सक्नुपर्छ । आफ्नो पार्टी ठुलो बनाउने होइन, वामपन्थीहरुको शक्तिलाई सुदृढ गरेर शक्तिशाली वामपन्थी पार्टी निर्माणको कार्यदिशाका साथ अगाडि बढने गरी सिद्धान्त, नीति तथा कार्यक्रम निर्धारण गरेर नेतृत्व निर्माण गर्न सक्नुपर्छ ।
एमालेले अहिले पनि समाजवादी क्रान्तिको कार्यक्रम निर्धारण गर्न सकेको छैन । एमालेले पूँजीवादी जनवादी क्रान्तिकालमा अगाडि सारेको जनताको बहुदलीय जनवादको कार्यक्रम नै बोकेर हिँडेको छ । जबजबाट नत समाजवादी क्रान्ति हुन्छ, नत समाजवाद नै स्थापना हुन सक्छ । मार्क्सवादको आलोकमा निर्धारण गरिने समाजवादी कार्यक्रमबाट मात्रै समाजवाद स्थापना गर्न सकिन्छ । एमालेले जहिलेसम्म जबज बोकेर हिँडिरहन्छ त्यति नै समाजवादी क्रान्ति पछाडि धकेलिन्छ । एमालेले यस बिचमा ४/५ पटक सरकारको नेतृत्व गर्यो । सरकारमा गएर आखिर् किन जनताको गरिबी, बेरोजगारी, अभाव न्यून हुन सकेन ? किन शुसासन कायम हुन सकेन ? किन देशमा भ्रष्टाचार बढेर गयो ? भन्दा एमालेले सहि कार्यक्रम बोक्न नसकेकै कारणले हो । जबजका नाममा एमालेभित्र गुटबन्दी, सर्बसत्तावाद बढेर गएको छ । पार्टीभित्र भिन्न मत राख्ने, नेतृत्वको गलत कुराको आलोचना गर्नेहरु निर्ममतापूर्वक समाप्त पारिएको छ । अतः एमालेले यो महाधिवेशनले आफ्नो नीति, विचार, नेतृत्वमा पुनर्गठन गरेर नयाँ ढङ्गले बृहत् वामपन्थी एकताको कार्यदिशालाई अगाडि सार्न सक्नुपर्छ ।
यसका लागि एमालेले मार्क्सवादी सिद्धान्तको आलोकमा समाजवादी क्रान्ति गर्ने नेपाली विशेषताको समाजवादी कार्यक्रमलाई अगाडि सारेर बृहत् वामपन्थी एकताको प्रस्ताव अगाडि सार्नुपर्छ । र, यो बृहत् वामपन्थी एकताको अवधारणाको नेतृत्व गर्न सक्ने नयाँ नेतृत्व छनौट गर्न सक्नुपर्छ । यसरी एमालेले आफूलाई नयाँ ढङ्गको भूमिका निर्वाह गर्न सक्ने गरी महाधिवेशन सम्पन्न गर्न सक्यो भने एमालेको महाधिवेशनको सार्थकता हुने देखिन्छ ।
(नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध खनाल पूर्व एमाले हुनुहुन्छ ।)