मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

शान्ति संस्कृति निर्माणमा नागरिक शिक्षाको आवश्यकता

प्रजातन्त्रको पुनर्स्थापनासँगै अधिकारका विषयमा गरमागरम बहसहरु सडकसम्म नै आए । २०४७ सालमा अन्तरिम सरकारले जारि गरेको संविधान विश्वकै उत्कृष्ट मध्येको संविधान मानियो पनि । तर, संविधानमा अधिकारका विषयलाई अति उठाउँदा प्राप्त हुने अधिकार पनि खति भएको छ । २०६३ सालको अन्तरिम संविधानले पनि अधिकारमा बल गरेको छ । तर, नागरिकका कर्तव्य चाँहि कहाँ हुन्छ त ? के नागरिकहरु कर्तव्यबाट बाहिर नै हुन्छन् त ? तसर्थ संविधानमा नै नागरिकहरुका कर्तव्यलाई पनि कुनै परिच्छेदमा उठाउनु पर्छ । नागरिकका कर्तव्य संवैधानिक रुपमा नै सुनिश्चित गर्न सके दण्डहीनता कम हुन्छ । यसमा कुनै दुविधा छैन । यदि पहिलेकै संविधानमा नागरिकका कर्तव्यका विषय उठाउन सकिएको भए सायद हामिले अर्को आन्दोलन (२०६२/०६३) गर्नु पर्ने थिएन होला । नागरिकलाई कर्तव्यमूखि बनाउन २०६२/०६३ को आन्दोलन यताका दिनहरुमा नागरिक शिक्षाको महत्व बढेर गएको छ ।

देशमा मौलाउँदो भ्रष्टाचार, खस्कँदो कानुनी शासन र बढ्दो मानवअधिकार ज्यादतिले नागरिक शिक्षा आवश्यक देखिएको छ । नागरिकहरुमा नैतिकता, असल चरित्र, कानुनप्रति प्रतिबद्धताको नापो बढाउनुपर्ने देखिन्छ । सामान्य काममा समेत राजनीतिक हस्तक्षेपले दण्डहीनता बढेको छ । शान्ति संस्कृति घटेको छ । दण्डहीनताको अन्त्यका लागि पनि नागरिकहरु आफैँ जुट्नु पर्छ । नागरिकहरुले आआफूले नै असल चरित्रहरु देखाउँदै गए भने देशमा खराब चरित्र भएको मानिस टिक्न सक्दैन । खराब चरित्र भएकाहरुको अन्त्यका लागि पनि नागरिकहरुमा नागरिक शिक्षा र नैतिकताको ज्ञान हुनु जरुरी छ । ज्ञान प्राप्त भएपछि त्यसलाई व्यवहारमा उतार्नु पर्छ । मानवअधिकारको रक्षाका लागि होस् वा मानवीय मुल्यमान्यता जगेर्ना गर्नका लागि नै किन नहोस् नागरिक शिक्षाको आवश्यकता देखिएको छ ।

नागरिकहरूलाई आफ्नो शासनका लागि सक्रिय सहभागी हुन सिकाउने शिक्षा नै नागरिक शिक्षा हो । नागरिक शिक्षा सिकाइको एउटा हाँगा जसले नागरिक र उसको समाज, राज्य र सरकारबीचको सम्बन्धका बारेमा व्याख्या गर्दछ । लोकतन्त्रको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिबद्ध, सुसूचित, तार्किक, नागरिक कर्तव्यप्रति सचेत नागरिक तयार गर्नु नागरिक शिक्षाको लक्ष्य हो । नागरिक जीवनका लागि आवश्यक पर्ने ज्ञान, सीप र अभिवृद्धिको विकास गर्नु नागरिक शिक्षाको उद्देश्य हो । समग्रमा भन्नुपर्दा नागरिकलाई आफ्नो अधिकारप्रति जागरुक र अरुको अधिकारप्रति सजग बनाउँदै सबै किसिमले सक्षम नागरिक बनाउँने शिक्षा नै नागरिक शिक्षा हो । नागरिक शिक्षाले मात्रै शान्ति संस्कृतिको स्थापना र जगेर्ना गर्न सक्छ ।

समाजका प्रमुख नियम र कानुनहरूको विश्लेषण गर्न सिकाउँने भएकोले नागरिक शिक्षाको अध्ययन अध्यापनलाई महत्व दिइन्छ । नागरिक शिक्षाले सामाजिक समस्याहरू समाधान गर्न सिकाउँछ, नागरिक संस्कारको सृजना गरी नैतिकताप्रति प्रतिवद्ध नागरिक तयार गर्न मद्दत गर्छ भन्ने मान्यता छ । त्यसैगरी सामाजिक असमानता र भेदभाव हटाउन र वैमनस्यता घटाउन तथा सबैजसो कुराहरुमा सचेत बनाउँन नागरिक शिक्षाको महत्व रहेको छ । हरेक व्यक्तिलाई मानव मूल्यहरु सत्य, सद्व्यवहार, शान्ति, प्रेम र अहिंशाका आधारमा आपसी समझदारी कायम गर्दै आफ्नो कर्तव्य र अधिकारप्रति निष्ठावान  रही परिवार, समुदाय, समाज राष्ट्र विश्वप्रति जिम्मेवारी वहनको भावना जगाउँने भएकोले पनि नागरिक शिक्षाको महत्व रहेको छ ।

नागरिक शिक्षाले लोकतान्त्रिक मूल्य मान्यताहरुको रक्षा, सम्बर्दन र प्रबर्दन गर्दछ । समानता, स्वतन्त्रता, न्याय, मानवअधिकार, नागरिक अधिकार, सहभागिता, देशभक्ति, कानुनको शासनप्रति नागरिकलाई प्रतिबद्ध बनाउने भएकाले नागरिक शिक्षालाई बालअवस्थाबाट नै सिकाउनुपर्ने हुन्छ । असल शासन, सहिष्णुता, व्यक्तिगत जिम्मेवारी, आत्म सम्मान, नैतिक प्रतिवद्धता, द्वन्द्व व्यवस्थापन, सहयोग, उत्तरदायित्व, सांस्कृतिक वहुलवाद, व्यक्तिगत स्वतन्त्रता, न्यायोचित समावेसीतालगायतका विषयमा सचेत नागरिक तयार गराउन पनि नागरिक शिक्षा आवश्यक पर्छ ।

नेपालको शैक्षिक इतिहासको अध्ययन गर्ने हो भने नागरिक शिक्षालाई अलग बिषयको रुपमा नराखी त्यसका केही आयामहरुलाई केही पाठ्यपुस्तकहरुमा मिश्रण गरेर राखेको पाइन्छ । सामाजिक शिक्षा, नेपाल परिचय, समाज शास्त्र, नैतिक शिक्षा विद्यालय शिक्षा आदिका नामबाट अहिले पनि नागरिक शिक्षा त पढाइ हुन्छ तर यसलाई अझै बढावा दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यस वर्षदेखि लागु गर्न लागिएको नेपालको विद्यालयस्तरको नयाँ पाठ्यक्रममा निमावि तहमा नागरिक शिक्षालाई सामाजिक शिक्षाको पाठ्यक्रम भित्र राखिएको छ ।

नागरिक शिक्षाका लागि राज्ययन्त्रबाट अहिले पाठ्यक्रममा व्यक्तित्व विकास, सामाजिक आस्थाहरूको संरक्षण, सामाजिक एकता, सहिष्णुता, सक्षम जनशक्तिजस्ता विषयबस्तुहरु समेटिएका छन् । तर, यतिले मात्रै आम नागरिक नैतिकवान र चरित्रवान बन्न सक्दैनन् भनेर नै अहिले नागरिक शिक्षाको महत्वमाथि जोड दिइएको हो । बाल अधिकार, सार्वजनिक सम्पत्ति, सडक संकेत, प्रजातान्त्रिक मूल्य मान्यता, समान व्यवहार, संविधान, संवैधानिक अङ्ग, राजनैतिक दल, निर्वाचन, अधिकार र कर्तव्यका बारेमा पनि पाठ्यपुस्तकहरुमा समावेश गरिएको छ ।

नागरिक शिक्षाले नेतृत्व क्षमता विकास गराउने, राज्यका लागि सक्षम नागरिक तयार गर्ने, अध्ययनका लागि आधारशिला तयार गर्ने, व्यवसायिक क्षमताको विकास गर्ने, सरकारलाई सही  दिशामा हिडाउँन सक्ने नागरिक तयार गर्ने काम गर्छ । यसका साथसाथै नागरिकहरुमा सच्चरित्रता निर्माण गर्ने, समाज र सामाजिक संरचनाका विविध पक्षहरुको जानकारी हासिल गराउने, स्वशासन गर्न सक्ने क्षमताको विकास गराउन, संवैधानिक प्रणाली सम्बन्धमा जानकारी हासिल गराउने, राजनीतिक प्रणाली सम्बन्धमा  जानकारी हासिल गराउने एवम् आर्थिक अवस्था तथा विकासका विविध पक्षहरुकोबारेमा जानकारी हासिल गराउने काम गर्दछ ।

तसर्थ नैतिकवान नागरिकहरुको उत्पादन तथा कानुनी शासनलाई पछ्याउन सक्ने नागरिकहरु निर्माण गर्न सके देशका नेताहरु पनि कानुनी शासनको पालनाका लागि बाध्य हुनेछन् । नत्र राजनीतिक आडमा ‘गुण्डागर्दी’ गर्ने सिलसिला बढ्ने छ । राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरण गर्ने कामले शान्ति संस्कृतिलाई बढावा गर्न सक्दैन । नागरिक शिक्षाले मात्रै शान्ति संस्कृतिलाई मलजल गर्छ । कानुनी शासनको पूर्ण परिपालना भएको देशमा मानवअधिकारको अवस्था सुध्रँदो हुन्छ । नागरिकहरुले आफ्ना अधिकारहरु निर्वाध उपभोग गर्न पाए भने देशको अन्य पक्षको विकास पनि सहज हुन्छ । समग्र विकास र अधिकारलाई मूलबाटोमा ल्याउनका लागि पनि नागरिक शिक्षाको महत्व रहन्छ । नागरिक शिक्षाले बाध्यकारी भन्दा पनि स्वविवेकयोग्य नागरिक बनाउन मद्दत गर्छ । विवेकयोग्य नागरिकले शान्ति संस्कृतिको निर्माण गर्छन् ।

Author