मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेपालमा जेनजी आन्दोलन: मास डिप्रेशनको प्रतिफल

मास डिप्रेशन भन्नाले ठूलो समूह वा समाजमा एकैपटक देखिने गहिरो मानसिक र भावनात्मक सङ्कटलाई जनाउँछ । यसमा सामूहिक निराशा र आशाहीनताको अनुभव प्रमुख हुन्छ, जसले भविष्य उज्यालो छैन भन्ने अनुभूति सबैमा फैलाउँछ । त्यस्तै सरकार, नेतृत्व वा व्यवस्थाप्रति गहिरो असन्तोषले जनमानसमा असन्तुलन ल्याउँछ । यसरी निराशा बढ्दै जाँदा समाजमा नयाँ सिर्जना गर्ने, काममा सक्रिय रहने वा सामूहिक प्रयास गर्ने इच्छा कमजोर बन्छ र सामाजिक निष्क्रियता हावी हुन्छ । नकारात्मक भावना जस्तै उदासी, हताशा र असुरक्षाको प्रसार निरन्तर बढ्दै जान्छ, जसले उच्च स्तरको चिन्ता र डर उत्पन्न गराउँछ । आर्थिक, सामाजिक वा राजनीतिक अनिश्चितताले सबैलाई तनावमा राख्ने भएकाले कहिलेकाहीँ यस्तो अवस्था आक्रोशमा परिणत भई सामूहिक विरोध, आन्दोलन, हिंसा वा अराजकतासमेत बढ्न सक्छ।

यति बुझेपछि हालै नेपालमा भएको जेनजी आन्दोलनको पृष्ठभूमि र आन्दोलनलाई बुझ्न मद्दत पुग्छ । (खासमा जेनेरेशन जेड अर्थात जेनजेड आन्दोलन हो तर बोलीचालीको भाषामा जेनजी भन्ने गरिएको छ ।) जेनजी आन्दोलनले समाज र राजनीति दुबैलाई हल्लाइदिएको छ । सत्तापलट नै पार्‍यो । संविधान र संवैधानिक अवयव नै खल्बल्याइदियो । यो आन्दोलन केवल राजनीतिक वा सामाजिक असन्तोषकै उपज हुन् भन्ने प्रश्न उठ्छ । वा यसका जरा सामूहिक मानसिक अवस्थासँग, अर्थात् मास डिप्रेशनसँग, गहिरो सम्बन्धित छन् भन्ने व्याख्या गर्न सकिन्छ । यो आन्दोलन कति जेनजी थियो कति अरु नै त्यो प्रसङ्ग अरु नै लेखमा समेटौँला । यहाँ त मास डिप्रेशन केन्द्रित विषय मात्रै उजागर गर्न खोजिएको हो । यो आन्दोलनलाई विभिन्न पाटोबाट केलाउन र विश्लेषण गर्न सकिन्छ र गर्नु आवश्यक पनि छ । तर धेरै पाटोमध्ये मास डिप्रेशन पनि एक महत्वपूर्ण तत्व हो । यसलाई भने भुल्न मिल्दैन ।  

नेपालमा विगत लामो समयदेखि अस्थिर राजनीति विद्यमान छ । सरकार पटक–पटक परिवर्तन हुनु, अस्थायी सत्ता समीकरण, सङ्क्रमणकालीन व्यवस्थापनमा निरन्तर देखिएको अपूर्णता-यी सबैले युवाहरूलाई भविष्यबारे अनिश्चितताको घेरामा राखेका छन् । देशको दिगो नीतिगत दृष्टि स्पष्ट नभएपछि अबको जीवन कुन दिशामा अघि बढ्छ भन्ने ठोस आधार युवाहरूले पाएका छैनन् । यसले मानसिक असुरक्षा र निराशाको वातावरण सिर्जना गरेको छ ।

त्यसमाथि बेरोजगारी युवाको प्रमुख पीडा हो । लाखौँ युवाहरू वैदेशिक रोजगारीका लागि पलायन भइरहेका छन् । बाँकी बस्नेहरूलाई पनि अवसरको कमी, क्षमता अनुसारको काम नपाउने अवस्था र समाजको असमान संरचनागत दबाबले घेरिरहेको छ । यही दबाब निरन्तरित हुँदा उनीहरूमा आत्ममूल्यहीनताको भावना र सामूहिक असहजता पैदा भइरहेको छ ।

आर्थिक र पारिवारिक दबाब त छँदैछ, सामाजिक मिडियाले थप मनोवैज्ञानिक चुनौतीहरू सिर्जना गरेको छ । निरन्तर तुलना, झूठा सफलता–कथाहरू र भाइरल संस्कृतिले जेन्जी पुस्तालाई आफू पछि परे झैँ देखाउने काम गरेको छ । यसरी दिनदिनै आफूलाई अरूसँग तुलना गर्न बाध्य हुने प्रवृत्तिले उनीहरूलाई गहिरो निराशातर्फ धकेलिरहेको छ ।

फ्रष्टेशन भनेको असफलता वा चाहना पूरा नभएको कारणले आउने असन्तुष्टि हो, जुन सामान्यतया छोटो समयको मानसिक प्रतिक्रिया मात्र हो । तर, यो अवस्था बारम्बार दोहोरिँदा मानिस लामो समयसम्म निराशा, आत्मग्लानी र असहायताको चक्रमा फस्छ, जसको परिणामस्वरूप डिप्रेशन उत्पन्न हुन सक्छ । त्यसैले फ्रष्टेशनपछि डिप्रेशन हुनु तर्कसङ्गत हुन्छ, किनभने डिप्रेशन नै फ्रष्टेशनभन्दा गहिरो र दीर्घकालीन मानसिक रोग हो ।

यी सबै कारकहरू मिलेर नेपालमा एक किसिमको सामूहिक डिप्रेशनको वातावरण बनेको छ । यही मानसिक बोझ र असन्तोष सडकमा फूटेको स्वरूपलाई अहिले जेन्जी आन्दोलन भनेर बुझ्न सकिन्छ । यी आन्दोलनहरू केवल राजनीतिक मागका लागि नभई एक किसिमको सामूहिक मनोवैज्ञानिक उपचार थेरापी बनेका छन् । आन्दोलनपछि मास डिप्रेशनमा भएकाहरूलाई हल्का महसुस भइरहेको छ ।

नेता र जनताबीचको असमानताले पनि सामूहिक निराशालाई गहिरो बनाएको छ । नेताका छोराछोरी धनी विद्यालयमा वा विदेशमा पढिरहेका छन्, तर आम जनताका छोराछोरी पढ्ने विद्यालय खुल्नेभन्दा बढी समय बन्द हुने गरेका छन् । पढाइ राम्रो छैन । राम्रो पढाइ नभएपछि अवसर मिल्दैन । यस्तैयस्तै समस्यामा छन् । नेताहरू सानो औषधोपचारका लागि समेत विदेश जाने सुविधा पाउँछन् भने सामान्य नागरिकलाई सिटामोलजस्तो सामान्य चक्कीसमेत अभाव हुन्छ । नेताका कामभन्दा कुरा बढी हुने, जनताका दुःखलाई आत्मसात् गर्नुभन्दा खिसिटिउरी गर्ने प्रवृत्तिले निराशा अझै बढाएको छ । त्यसमाथि तोकिएको बाहेकको घूस नदिएसम्म कर्मचारीले काम नगर्ने र नेताले तिनको संरक्षण गर्ने जस्ता अवस्थाले सर्वसाधारणमा प्रणालीप्रति विश्वास नै हराएको छ।

रोजगारीको अवसर नहुँदा परिवारभित्र कलह बढ्नु वा वैदेशिक रोजगारीमा गएका सन्तानका बाबुआमा तथा पति वा पत्नीमा एक्लोपनको पीडा फैलिनु, चिया–चौतारोमा दिनहुँ नकारात्मक टिकाटिप्पणी गुञ्जिनु र सामाजिक सञ्जालमा राम्रोभन्दा नराम्रो कुरा बढी भाइरल हुनु-यी सबै कारणले व्यक्तिगत स्तरमा सुरु भएको डिप्रेशन सामूहिक पीडामा बदलिएको छ । विकसित देशमा पुगेका आफन्तमार्फत त्यहाँको विकास देखेर आफ्नै देशको जर्जर अवस्थासँग तुलना गर्दा आम जनतामा आत्मग्लानी र असन्तोष झन् प्रबल हुन्छ । यसरी व्यक्तिगत निराशाले मिलेर ठूलो भीडमा मास डिप्रेशनको आकार लिएको छ, जसको प्रत्यक्ष प्रतिफल जेन्जी आन्दोलनका रूपमा अभिव्यक्त भएको हो पनि भन्न सकिन्छ ।

जस्तो कि सिंहदरबार जलिरहँदा त्यस्ता डिप्रेशन पीडितको मुहारमा छुट्टै किसिमको उज्यालो छाइरहेको छ । मानिस (नेता)ले कुटाइ खाएको वा लखेटिएका नक्कली भिडियो हुन् वा एआइबाट बनाइएका सामग्री हुन् त्यस्ता दृष्यबाट डिप्रेशन पीडितले मजा लिइरहेका छन् । मास डिप्रेशनबाट मुक्त हुने थलोका रूपमा विकसित भएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कामले डिप्रेशन विष्फोट भएको भन्न सकिन्छ ।

निराशा र आशाहीनताले भरिएका युवाले आन्दोलनलाई आफ्ना पीडा पोख्ने माध्यम बनाएका छन् । उनीहरूलाई आफ्नो भविष्यबारे स्पष्टता छैन, तर विद्रोहमार्फत कम्तीमा आफ्नो आवाज सुन्ने मौका छ भन्ने आभास भएको बुझ्न सकिन्छ । यही कारणले आन्दोलन उनीहरूको अस्तित्व र पहिचानको खोजी बन्न पुगेको हो ।

यस तर्कलाई पुष्ट्याउन विभिन्न तथ्याङ्कहरू उपलब्ध छन् । विश्व स्वास्थ्य सङ्गठनले २०२२ मा प्रकाशित गरेको तथ्याङ्कअनुसार दक्षिण एशियामा १५–२९ वर्ष उमेर समूहमा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको छ । नेपालमा गरिएको मानसिक स्वास्थ्य सर्वेक्षण (२०२०) अनुसार करिब ३० प्रतिशत युवामा डिप्रेशन वा त्यससँग सम्बन्धित लक्षण पाइएको उल्लेख छ । त्यस्तै, वैदेशिक रोजगारीमा निरन्तर पलायन हुँदा बाँकी युवामा ‘फियर अफ मिसिङ आउट’ र ‘सर्वाइभर गिल्ट’ जस्ता लक्षण देखिने गरेको अनुसन्धानहरूले पनि देखाएका छन् ।

नेपालमा भएको जेनजी आन्दोलनलाई केवल राजनीतिक वा सामाजिक असन्तोषकै दायरामा सीमित पार्नु अधुरो विश्लेषण हुन्छ । यी आन्दोलन वास्तवमा लामो समयदेखि सञ्चित मास डिप्रेशनको साइड इफेक्ट हुन् । जब समाजको ठूलो हिस्सा निराशा, अन्याय र अवसरहीनताले ग्रसित हुन्छ, त्यस्तो अवस्थामा आन्दोलन केवल राजनीतिक मात्र नभई सामाजिक–मनोवैज्ञानिक विस्फोट बन्न पुग्छ ।

मास डिप्रेशनको अवस्था हटाउन सबैभन्दा पहिला व्यक्तिगत र समुदायिक स्तरमै संवाद र सहकार्य आवश्यक हुन्छ । परिवार, छिमेक वा कार्यस्थलमा खुला रूपमा आफ्ना अनुभूति व्यक्त गर्ने वातावरण बनाउन सकिन्छ । समान समस्या भोगिरहेका मानिसहरूबिच साना समूह बनाएर अनुभव साटासाट गर्ने र एकअर्कालाई सहयोग गर्ने अभ्यास निकै प्रभावकारी हुन्छ । यसका साथै, सामान्य मानिसलाई मनोवैज्ञानिक प्राथमिक सहायता दिने आधारभूत सीप सिकाइने हो भने तुरुन्त सहयोग पुर्‍याउन सजिलो हुन्छ । दैनिकीलाई व्यवस्थित गर्न, हल्का व्यायाम, नियमित निद्रा र पौष्टिक आहारलाई प्राथमिकता दिनु आवश्यक हुन्छ । त्यस्तै, नकारात्मक सूचनाले निराशा अझ बढाउन सक्छ, त्यसैले भरपर्दो स्रोतबाट मात्र जानकारी लिनु उपयुक्त हुन्छ ।

त्यसैगरी सामूहिक रूपमा मनोशिक्षण, तनाव व्यवस्थापन कार्यशाला, ग्रुप काउन्सिलिङ जस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ । समुदायमा आधारित स्वास्थ्य सेवा, विद्यालय र संस्थागत स्तरमा काउन्सिलिङ प्रणालीलाई जोड दिनुपर्छ । आर्थिक र सामाजिक कठिनाइ सामूहिक डिप्रेशनका प्रमुख कारण भएकाले राहत, ऋण सहजीकरण र रोजगारी सिर्जना जस्ता कदम उपयोगी हुन्छन् । यससँगै नेतृत्व तहले समस्यालाई स्वीकारेर पारदर्शी योजना र समयसीमा सार्वजनिक गर्नु जरुरी छ, जसले नागरिकमा आशा जगाउँछ । सांस्कृतिक कार्यक्रम, सामूहिक सामाजिक गतिविधि र नागरिक सहभागिताले पनि सकारात्मक ऊर्जा ल्याएर निराशा कम गर्न सक्छ ।

दीर्घकालीन रूपमा मानसिक स्वास्थ्य प्रणाली बलियो बनाउनैपर्छ । यसका लागि मनोचिकित्सक, काउन्सिलर र सामुदायिक स्वास्थ्य कार्यकर्ता सङ्ख्या बढाउने, तालिम दिने र सबै क्षेत्रमा सेवा विस्तार गर्ने योजना महत्त्वपूर्ण हुन्छ । साथै, बेरोजगारी भत्ता, खाद्यान्न सुरक्षा र सस्तो स्वास्थ्य सेवा सुनिश्चित गर्ने सामाजिक सुरक्षा नीति आवश्यक छ । विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षालाई अनिवार्य बनाउन सकिन्छ । सामाजिक मनोवृत्ति, आत्महत्या दर र स्वास्थ्य पहुँचबारे नियमित निगरानी गरी तथ्य सार्वजनिक गर्नुपर्छ । मिडियाले संवेदनशील रिपोर्टिङ गर्दै डर वा अफवाह नफैलाउने अभ्यास गर्नुपर्छ भने राजनीतिज्ञ र नेताले जिम्मेवार बोली प्रयोग गर्नुपर्छ । बोली र व्यवहार, नीति र नेतृत्व, कथनी र करनीमा भेद अन्त्य भएको दिन मास डिप्रेशन गुगलका अर्काइभमा भएका अक्षरमा सीमित भएर बस्छ ।

Author