मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

राजनीति सत्ताको खेल होइन, सेवाको माध्यम हो

अष्टलक्ष्मी शाक्य1

म २०१० सालमा काठमाडौंको एक नेवार परिवारमा जन्मिएँ । हाम्रो परिवार सम्पन्न थियो, तर त्यतिबेला समाजमा महिलालाई शिक्षित हुन दिन्थे, तर बोल्न, प्रश्न गर्न र राजनीतिमा लाग्न दिइँदैनथ्यो । मेरो प्रारम्भिक शिक्षापछि चिनियाँ भाषा पढ्न पाउँदा मैले त्यो समाजको गहिरो अवलोकन गर्ने मौका पाएँ । चीनमा महिला-पुरुषबिचको समानता, महिला सशक्तीकरणको अवस्था र समतामूलक व्यवस्था देखेर म गहिरो रूपमा प्रभावित भएँ । यही अनुभवले मलाई कम्युनिस्ट विचारधाराप्रति आकर्षित गर्‍यो ।

२०२८ सालमा म नेपालको वामपन्थी आन्दोलनमा श्यामप्रसाद समूहसँग आबद्ध भएँ । तर त्यो समय पञ्चायती शासन थियो, खुलेर राजनीति गर्नु सजिलो थिएन । हामीलाई चिनियाँ भाषा पढाउने डा. महेशमान श्रेष्ठज्यूले संगठनात्मक सम्बन्ध गाँस्नुभयो, अनि म पार्टीसँग नजिकिएँ ।

मेरो यात्रामा सहजता थिएन

घरपरिवारले प्रतिरोध गर्‍यो । मलाई राजनीति छोड्न, पढाइमा ध्यान दिन दबाब दिइयो । तर, मैले भित्रैदेखि क्रान्तिका सपना देखिसकेको थिएँ । राजनीतिमा लाग्ने मेरो सङ्कल्प यति बलियो थियो कि मैले घर छाड्ने निर्णय गरें । २०३६ साल पुस ४ गते, म सुनचाँदी, गहना सबै लिएर घरबाट निस्किएँ । अनि मैले एक सच्चा कार्यकर्ताको जीवन सुरु गरें ।

पार्टीले मलाई सिन्धुपाल्चोकको थामी बस्तीमा पठायो, जहाँ मैले पहिलोपटक भोक र दुःखको वास्तविक अनुभूति पाएँ । मेरो जीवन कहिले पनि डाँडापाखा चढेको थिएन, खोल्साखोला त के देखेको पनि थिइनँ । तर, त्यही ठाउँमा मैले जनताको पीडा, सङ्घर्ष बुझ्न थालेँ ।

क्रान्ति सजिलो हुँदैन

त्यसको लागि विचार चाहिन्छ, सङ्गठन चाहिन्छ, अनि सबैभन्दा ठूलो कुरा—त्याग चाहिन्छ । मैले भूमिगत जीवन बिताएँ । दुई पटक जेल पनि परें—एकचोटि इलाममा, अर्कोचोटि झापामा । भूमिगत जीवन निकै कष्टकर हुन्छ अझ महिलाको भूमिगत जीवन थप कठिन हुन्छ । सन्तान पाल्न, समाजको टिप्पणी सहन, अनि एक्लो युद्ध लड्न, महिलालाई जति कठोर परीक्षा दिनुपर्छ, त्यो बयान गर्न शब्द कम पर्छन् ।

म सांसद बनेँ, मन्त्री बनेँ, नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने सौभाग्य पनि पाएँ । यो मेरो व्यक्तिगत विजय थिएन, यो सबै नेपाली महिलाको विजय हो । तर, मलाई आज पनि लाग्छ—हामीले पाएको अधिकार भन्दा बढी त अझै पाइँदैन भन्ने मानसिकता छ समाजमा ।

महिलालाई हेरिने दृष्टिकोण अझै पितृसत्तात्मक छ

महिलालाई ‘आधा आकाश’ भनिन्छ तर त्यो आकाशमा उड्नको लागि पखेटा कहिल्यै दिइँदैन । सामाजिक रूपमा, महिलाहरू अझै पनि दोस्रो दर्जामा राखिन्छन् । संसदमा समानुपातिक कोटा त छ, तर प्रत्यक्षमा उम्मेदवार हुन नदिने प्रवृत्ति छ । हामीले संविधानमा अधिकार लेख्यौं, तर त्यो व्यवहारमा लागू गर्न सकेनौं । बालविवाह, छाउपडी, घरेलु हिंसा, विभेदकारी सामाजिक मूल्य अझै हाम्रो समाजको गहिरो हिस्सा छन् ।

महिलालाई राजनीतिमा ल्याउने मेरो अभियानमा मैले केही उपलब्धि पाएकी छु

हामीले पार्टीको केन्द्रीय समितिमा महिला सहभागिता सुनिश्चित गर्न प्रस्ताव पारित गर्‍यौं । समाजमा महिलालाई नेतृत्वमा ल्याउने अभियानमा हामी अग्रसर भयौं । तर, अझै धेरै गर्न बाँकी छ ।

हामीले संविधान निर्माण गर्‍यौँ, सङ्घीय व्यवस्था ल्यायौं, सात ओटा प्रदेश बनायौं, तर सोच परिवर्तन गर्न सकेनौं भने त्यो संविधानको मूल्य हुँदैन ।

आज मैले संसदीय राजनीतिबाट विश्राम लिएको छु, तर म राजनीतिक पार्टीकी कार्यकर्ताको रूपमा अझै सक्रिय छु । म अहिले मोतीदेवी स्मृति केन्द्रमार्फत महिलाहरूलाई उद्यमशील बनाउने, आत्मनिर्भर बनाउने र नेतृत्वका लागि तयार गराउने कार्यमा लागेकी छु ।

महिलालाई सम्मान गर्नुपर्ने, विश्वास गर्नुपर्ने, निर्णयमा सामेल गराउनुपर्ने बेला यही हो । समानता तब हुन्छ, जब महिलाले पनि निर्णय गर्न सक्ने, नेतृत्व लिन सक्ने अवसर पाउँछन् । राजनीतिक नेतृत्व कुनै पदको लागि होइन, समाज रूपान्तरणको लागि हो । राजनीति सत्ताको खेल होइन, सेवाको माध्यम हो

म मेरा जीवनका सबै बलिदानहरू, पीडाहरू, सङ्घर्षहरू यसै आशामा अर्पण गर्छु कि अबको पुस्ताले पीडा होइन, सम्भावना देखून् । हामीले बोकेको सपना उनीहरूले पूरा गरून्।

  1. (शाक्य नेकपा एमालेकी उपाध्यक्ष एवम् नेपाली बाम आन्दोलनकी नेतृ हुनुहुन्छ ।) ↩︎

Author