नेपालको पछिल्लो प्रतिनिधि सभा निर्वाचनले केवल नयाँ सांसद मात्र जन्माएको छैन, यसले नेपाली राजनीतिको एउटा युगान्तकारी सङ्क्रमण पनि देखाएको छ । विशेषतः पाँच जना पूर्व प्रधानमन्त्रीहरू अबको संसदमा अनुपस्थित रहने अवस्था बनेको छ । दुई जना प्रत्यक्ष रूपमा चुनावमा पराजित भए भने तीन जना चुनावमै सहभागी भएनन् ।
पराजित हुनेमा केपी शर्मा ओली र माधवकुमार नेपाल हुनुहुन्छ । अर्कोतर्फ शेरबहादुर देउवा, झलनाथ खनाल र बाबुरामा भट्टराई भने यसपटक चुनावी प्रतिस्पर्धामै उत्रिनु भएन । परिणामतः लामो समय नेपाली राजनीतिमा प्रभाव जमाएका यी पाँच पूर्व प्रधानमन्त्रीहरू आगामी संसदमा देखिनु हुन्न ।
यो अवस्था केवल व्यक्तिगत हारजीतको विषय मात्र होइन, नेपाली राजनीतिमा नेतृत्व परिवर्तनको सङ्केत पनि हो । तीन दशकभन्दा बढी समयदेखि राष्ट्रिय राजनीतिमा निर्णायक प्रभाव राख्दै आएका नेताहरू क्रमशः सक्रिय संसदीय भूमिकाबाट बाहिरिनु स्वाभाविक राजनीतिक चक्रको हिस्सा हो । विशेषतः २०४६ सालपछि स्थापित बहुदलीय व्यवस्थामा यी नेताहरूले सरकार सञ्चालन, संविधान निर्माण, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना जस्ता ऐतिहासिक प्रक्रियामा विभिन्न रूपमा भूमिका खेल्नु भएको छ । उहाँहरूको योगदानलाई एकै वाक्यमा मूल्याङ्कन गर्न सकिँदैन । सफलताका साथै आलोचनाहरू पनि उहाँहरूसँग जोडिएका छन् । तर, इतिहासले उहाँहरूलाई नेपाली लोकतान्त्रिक यात्राका महत्त्वपूर्ण पात्रका रूपमा सम्झिनेछ । त्यसो त पञ्चायती व्यवस्थामा चरम यातना र प्रताडना खेप्नु भएका उहाँहरू २०४६ सालको परिवर्तनमा पनि निर्णायक भूमिकामा रहनु भएको बिर्सन मिल्दैन ।
निर्वाचन परिणामले स्पष्ट सन्देश पनि दिएको छ-जनता नयाँ नेतृत्व, नयाँ शैली र नयाँ सोच खोजिरहेका छन् । पुराना नेताहरूको अनुभवको सम्मान गर्दै पनि मतदाताले परिवर्तनको आकाङ्क्षा व्यक्त गरेका छन् । लोकतन्त्रमा यो स्वाभाविक प्रक्रिया हो । जनताले दिएको सन्देशलाई स्वीकार गर्नु र त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्नु नै परिपक्व राजनीतिक संस्कृतिको चिन्ह हो ।

संसदमा उपस्थित नहुँदैमा यी नेताहरूको भूमिका समाप्त हुन्छ भन्ने होइन । बरु अब उहाँहरूलाई अनुभवका अभिभावकका रूपमा समाजले उपयोग गर्न सक्छ । राजनीतिक हस्तक्षेपकारी भूमिकाभन्दा बाहिर बसेर विचार, अध्ययन, नीति सुझाव र राष्ट्रिय सहमतिको वातावरण निर्माणमा योगदान दिन सक्ने सम्भावना अझ ठूलो छ । राजनीतिक दल र राज्यलाई मार्गदर्शन गर्ने, नयाँ पुस्तालाई अनुभव हस्तान्तरण गर्ने तथा लोकतान्त्रिक मूल्यको संरक्षण गर्ने काममा उहाँहरूको भूमिका अझ उपयोगी हुन सक्छ ।
यी नेताहरूले आफ्नो राजनीतिक यात्राको संस्मरण लेख्नु आजको आवश्यकता पनि हो । नेपालको लोकतान्त्रिक आन्दोलन, सत्ता सङ्घर्ष, शान्ति प्रक्रिया, संविधान निर्माण, अन्तर्राष्ट्रिय कूटनीति-यी सबै घटनाका प्रत्यक्ष साक्षी र सहभागी उहाँहरू नै हुनुहुन्छ । उहाँहरूको यस्तो अनुभवलाई ग्रहण गर्नका लागि नयाँ पुस्ता र उदयीमान राजनीतिक नेतृत्वले वातावरण तयार गर्नु पर्दछ । यदि उहाँहरूले आफ्ना अनुभव, निर्णयका पृष्ठभूमि र राजनीतिक उतारचढावलाई इमानदार रूपमा लेख्नु भयो भने त्यो भावी पुस्ताका लागि बहुमूल्य ऐतिहासिक दस्तावेज बन्न सक्छ । यसले जनमतको सम्मान मात्र होइन, इतिहासप्रतिको जिम्मेवारी पनि पूरा गर्न सक्छ ।
यसपटकको निर्वाचनले एउटा स्पष्ट दृश्य देखाएको छ-पुरानो पुस्ताबाट नयाँ पुस्तातर्फ नेतृत्वको हस्तान्तरण सुरु भएको छ । यद्यपि संसदीय राजनीतिबाट केही दूरीमा पुगे पनि यी पाँच पूर्व प्रधानमन्त्रीहरूको योगदानलाई नेपाली समाजले सम्मानपूर्वक सम्झिरहनेछ । आगामी दिनमा उहाँहरूले हस्तक्षेपकारी राजनीतिभन्दा समन्वय, सल्लाह र बौद्धिक योगदानको भूमिका रोज्नु भयो भने त्यो देशका लागि अझ फलदायी हुनेछ । समयले नयाँ नेतृत्व जन्माउँछ, तर अनुभवले मात्रै इतिहासलाई दिशा दिन्छ । अहिलेको क्षण शायद त्यही अनुभवलाई नयाँ रूपमा प्रयोग गर्ने अवसर हो ।