गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तीज) महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनु भएको छ ।
२०८२ भदौ १० गते तीजको अवसरमा शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरिएको छ ।
‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दछु ।’ उहाँको भनाई रहेको छ ।
‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा आग्रह गरिएको छ । नेपाली मौलिक संस्कृति सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ ।







