मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरः सांस्कृतिक सम्पदाको जिल्ला

ललितपुुर । ललितपुर, जसलाई पाटन भनेर पनि चिनिन्छ । नेपालको काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये ललितपुर ऐतिहासिक, सांस्कृतिक र सम्पदाको दृष्टिले भरिपूर्ण जिल्ला हो । जिल्लाको सदरमुकाम पाटन जहाँ नेवार समुदायको बाहुल्यता छ । नेवारी समुदाय मुर्त अमुर्त कला, संस्कृति, सम्पदा र वास्तुकलामा समृद्ध छ ।

पाटन दरबार क्षेत्र युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ । जसमा हिरण्यवर्ण महाविहार, कृष्ण मन्दिर, मणिगल, भिमसेन मन्दिर तथा विभिन्न जात्रा र सांस्कृतिक स्थलहरू छन् । यहाँका नेवार समुदायले सदियौँदेखि जोगाउँदै ल्याएका चाडपर्व र जात्राहरू (जस्तै रथ यात्रा, मत्स्येन्द्रनाथ जात्रा, बुङमतीको परम्परा, बज्राचार्य परम्परा आदि) अत्यन्तै महत्वपूर्ण छन् । पाटनका प्रशस्त मन्दिर, दरबार र कलात्मक ढङ्गले बनाइएका फल्चा, चौतारा तथा सत्तलहरूले नेवार समुदायको मौलिक कला र शिल्पलाई उजागर गर्छन् ।

ललितपुरमा मनाइने विभिन्न जात्रा र चाडपर्वले नेवार समुदायको संस्कृति, परम्परा, सङ्गीत र नृत्यलाई झल्काउँछन् । यहाँका कृष्ण मन्दिर, बङ्गलामुखी मन्दिर, महाबौद्ध र हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) जस्ता स्थलहरूले हिन्दु र बौद्ध संस्कृतिको समिश्रण प्रस्तुत गर्छन् । विशेष गरी यहाँको सम्पदा हिन्दु र बौद्ध धर्म संस्कारमा आधारित छन् । कृष्णाष्टमीका दिन लाग्ने विशेष मेलामा उपस्थित भइ  मन्दिरमा

पाटन नेपाली शिल्पकला, प्रस्तरकला र धातु मूर्तिकलाको केन्द्रको रूपमा समेत प्रसिद्ध छ । यहाँ निर्माण गरिएका धातुका मूर्तिहरू देशविदेशसम्म निर्यात हुने गर्छन् । हरेक गल्ली, टोल र चोकमा मन्दिर, चैत्य, विहार वा ऐतिहासिक सम्पदा भेटिन्छ, जसले यस जिल्लाको सांस्कृतिक समृद्धि देखाउँछ ।

ललितपुरका बुङमती, खोकना, लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैव, सुनाकोठी, ठेचो, चापागाउँ, प्याङ्गाउँ र लेले जस्ता अर्धशहरी क्षेत्रहरू नेवार समुदायको परम्परागत जीवनशैलीको जिउँदो सङ्ग्रहालयको रूपमा रहेका छन् । यी बस्तीहरूमा अझै पनि सदियौँ पुराना नेवारी परम्परा, संस्कृति, भाषा, वेषभूषा, जात्रा, धार्मिक कर्मकाण्ड र सामाजिक संरचना संरक्षण गरिएको पाइन्छ ।

बुङमती र खोकना– यी प्राचीन नेवार बस्तीहरू ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण छन् । बुङमतीमा रत्नवली देवी र खोकनामा श्री देवी (शिखाली) को पूजाआजा आज पनि पुरानो शैलीमा हुँदै आएको छ । यहाँको वास्तुकला, प्यागोडा शैलीका मन्दिरहरू र परम्परागत घर संरचनाहरू नेवार संस्कृति बुझेका अभिलेख हुन् ।

लुभु, सिद्धिपुर, हरिसिद्धि, ठैव र ठेचो– यी स्थानहरूमा नेवार जातिको कृषि जीवनशैली, धार्मिक विधि–विधान र परम्परागत बौद्ध र हिन्दु संस्कारहरू अझै पनि मूल स्वरूपमै पालना गरिन्छ । चाडपर्व, जात्रा, सङ्गीत, नाचगान तथा सामाजिक सम्बन्धहरू निकै सशक्त छन् ।

चापागाउँ, प्याङ्गाउँ र लेले– यी ठाउँहरू केही ग्रामीण र केही अर्धशहरी स्वरूपमा छन्, जहाँ अझै पनि नेवारहरूको सामूहिक जीवनशैली, संयुक्त परिवार पद्धति र समाजकेन्द्रित सोच पाइन्छ । यहाँका स्थानीय पर्वहरू, सामूहिक श्रम (गुठी प्रणाली) तथा सांस्कृतिक विरासतले आधुनिकता बिच पनि परम्परालाई जीवित राखेको छ ।

(२०८१ असोज १२ गते आएको बाढीले यो मन्दिरमा क्षति पुर्‍याएको छ । बाढीभन्दा अघि खिचिएको फोटो)

यी अर्धशहरी बस्तीहरू केवल पर्यटन गन्तव्य मात्र नभई नेवार सभ्यता र जीवनदर्शन बुझ्ने केन्द्र हुन् । ललितपुर जिल्लाको सांस्कृतिक सम्पदा केवल दरबार क्षेत्रसम्म सीमित छैन, यी बस्तीहरूमा पाइने जीवित परम्परा, कला तथा सामाजिक संरचनाले ललितपुरलाई सांस्कृतिक सम्पदाको जिल्ला बनाउन अझ मजबुत बनाएको छ । मल्लकालीन शहर चापागाउँ, लेले र टिकाभैरव यहाँका शहरोन्मुख पर्यटकीय क्षेत्र हुन् ।

सुनाकोठीमा रहेको भृङ्गारेश्वर महादेव पशुपतिनाथ भन्दा पनि पुरानो धार्मिक आस्थाको केन्द्र भएको स्थानीय अभिलेखबाट खुल्छ । गोदावरीमा लाग्ने १२ वर्षे मेला धार्मिक आस्था र सांस्कृतिक वैभवका प्रतीक हुन् । फुलचोकी डाँडोको हरियो जङ्गल र दृश्यावलोकन स्थलले प्रकृतिप्रेमीलाई मन्त्रमुग्ध पार्छ । पूmलचोकीको डाँडो काठमाडौँ उपत्यकाकै अग्लो डाँडो भएकाले यहाँबाट उपत्यकाको दृष्यावलोकन गर्नुको मजा नै बेग्लै हुन्छ । त्यसमाथि डाँडामा रहेको फुलचोकी माइको शिलामा पुजाआजा गर्दा मोक्ष प्राप्त हुने जनश्रुती रहिआएको छ ।

काठमाडौँ उपत्यकाका चार नारायणमध्ये एक विशङ्खुनारायण यस्तो तीर्थस्थल जहाँ भगवान विष्णुको पुजाआजाका लागि श्रद्धालु भक्तजनले प्रमुख गन्तव्य बनाउँछन् । झरुवाराशीस्थित सन्तानेश्वर मन्दिर सन्तान प्राप्ति र सुखको लागि प्रसिद्ध छ भने चापागाउँको बज्रबाराही मन्दिर बौद्ध–हिन्दू धार्मिक सहिष्णुताको प्रतीक हो ।

ठेचोमा १२ वर्षे मेला लाग्ने गरेको छ । यो मेलालाई नवदुर्गा नाच पनि भनिन्छ । मेला र जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोजभतेर, विहे, व्रतबन्ध निषेध हुन्छ । पाटी वा अन्य ठाउँमा बस्दा गोडा झुण्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिँडडुल गर्न, सिट्टी, ताली, घण्ट बजाउन पाइँदैन । यो नाच पाटन दरवार क्षेत्रका लिच्छवी राजा मानदेवका इष्टदेवता मनमानेश्वरी देवी (पायो जात्रा) सँग पनि प्रत्येक्ष सम्बन्ध रहेको छ । भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरवारक्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । 

(गोटिखेलको यो वैतरणी धाम अब फोटो र भिडियोमा मात्रै सीमित हुन पुगेको छ । २०८२ असोज १२ गते आएको बाढीले यो धामको अस्तित्व मेटिने गरी क्षति पुर्‍याएको छ)

लेलेको तिलेश्वर, भारदेउको गुप्तेश्वर र गोटिखेलका कालेश्वर महादेवका मन्दिर हुन् । यहाँ वर्षैभरी र साउन तथा माघ महिनामा विशेष मेला लाग्ने गर्दछ । भारदेउको गुप्तेश्वरमा भने जेठ पुर्णिमा ताका एक महिना विशेष मेला लाग्छ । यहाँ गुफाभित्र विभिन्न आकृति तथा मुर्ति छन् । गुफाभित्रै पुगेर पुजाआजा गर्दै धार्मिक आस्था प्रकट गर्ने चलन रहेको छ । इकुडोल माझखण्डको महारुद्रेश्वर पौराणिक कथासँग सम्बन्धित छ । दक्षप्रजापतिको पवित्र यज्ञस्थल रहेको पुण्यभूमिका रुपमा माझखण्ड परिचित छ भने यहाँ वरपर रहेका धार्मिक क्षेत्रले यज्ञस्थलबारे प्रमाण पुग्ने धर्मगुरुले बताउँदै आएका छन् ।

गोटिखेलको वैतरणी धाम मृत्युपश्चात मुक्ति प्राप्तिको आस्थासँग जोडिएको छ । गाईको पुच्छर समातेर वैतरणी तरेमा मृत्यु पश्चात मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । प्राकृतिक सौन्दर्यमा मात्रै नभएर फुलचोकी देवीको बहिनीका रूपमा दलचोकी देवीको पुजाअर्चना गर्ने गरिन्छ । शान्त वातावरण र मनमोहक हिमाल–तराईको दृश्यावलोकनका लागि दलचोकी पनि उत्तिकै उपर्युक्त स्थल हो जति फुलचोकी छ ।

यी सबै स्थल ललितपुरकै भूगोलभित्र पर्छन्, जसले यहाँको सम्पदा पर्यटनलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक तीनै दृष्टिले अनमोल बनाएको छ । इतिहास, संस्कृति, धर्म, कला र परम्पराको जीवित सङ्ग्रहालयजस्तो रहेको ललितपुर साँच्चिकै सांस्कृतिक सम्पदाको जिल्ला हो । यस जिल्लाले नेपाली संस्कृतिको मौलिकता संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत देशको गौरव बढाउँदै आएको छ ।

कृष्ण मन्दिरको फोटो साभार गरिएको ठेगाना यहाँ क्लिक गर्नुहोस्

Author