आजको डिजिटल युगमा सूचना क्षणभरमै विश्वभर फैलिन्छ । तर, सूचनाको तीव्र प्रवाहसँगै पत्रकारितामा केही गम्भीर प्रश्नहरू पनि उठ्न थालेका छन्-के आजको पत्रकारिता वास्तवमै सत्य, पुष्टि र सम्पादनमा आधारित छ ? वा सनसनी फैलाउने साधन मात्र बन्दैछ ?
“पत्रकारिता त्यो होइन अपुष्ट खबरलाई सनसनी बनाउने । पत्रकारिता त्यो हो, आधिकारिक पुष्टि र सम्पादन गरिएका सामग्री सम्प्रेषण गर्ने ।”
यस भनाइले पत्रकारिताको मुल मर्मलाई गहिरो रूपमा उजागर गरेको छ । पत्रकारिता एक जिम्मेवार पेशा हो, जसले समाजलाई सूचित, सचेत र सजग बनाउनुपर्ने हुन्छ । तर, पछिल्ला दिनहरूमा देखिएका केही प्रवृत्तिहरूले यस मर्मलाई कमजोर बनाइरहेका छन् ।
अनलाइन मिडिया र सामाजिक सञ्जालको प्रतिस्पर्धामा परम्परागत सत्य–जाँचको प्रक्रियालाई थाँती राखेर ‘पहिले खबर दिने होड’ चलिरहेको छ। अपुष्ट स्रोतको भरमा र भावनात्मक हेडलाइनमार्फत क्लिक बटुल्ने प्रयासहरूले पत्रकारिताको विश्वासनीयता गुमाउँदैछ । यस्तो कार्यले त केवल भ्रम फैलाउँछ, समाजमा डर, तनाव र द्वेष उत्पन्न गराउँछ।
कुनै पनि समाचार सम्प्रेषण गर्नु अघि त्यसको स्रोत, तथ्य र सन्दर्भको पुष्टि गर्नु पत्रकारको नैतिक जिम्मेवारी हो । त्यसपछि मात्र सम्पादनको प्रक्रियामार्फत भाषा, सन्देश र सन्तुलन सुनिश्चित गरिनुपर्छ । यिनै प्रक्रियाले समाचारलाई विश्वसनीय र सन्दर्भपूर्ण बनाउँछ ।
आजको युगमा पत्रकारिता केवल सूचनाको सञ्चार गर्ने माध्यम होइन, विचार निर्माण गर्ने, सत्ता नियमन गर्ने र समाजलाई दिशा दिने एक निर्णायक शक्ति बनेको छ । तर, जब पत्रकारिता सत्यभन्दा सनसनी, पुष्टि भन्दा प्रवृत्ति र तथ्यभन्दा पूर्वाग्रहतर्फ मोडिन्छ, तब यो शक्ति समाजको भलाइको साटो भ्रम, द्वन्द्व र असन्तोषको कारक बन्न पुग्छ । यस्तो स्थितिमा पत्रकारिता सुधारको बहस केवल व्यक्तिगत प्रयास वा सामाजिक सञ्जालका टिप्पणीमा सीमित रहनु हुँदैन-बरु यसको मूल जरोमा रहेका संस्थागत संरचनाहरूलाई नै जबाफदेही बनाउनु आवश्यक हुन्छ ।
धेरैपटक अपुष्ट समाचारको आलोचना सामाजिक सञ्जाल प्रयोगकर्तामाथि केन्द्रित हुन्छ । समाचारको सही मूल्याङ्कन नगरी ‘शेयर गर्ने’, ‘भाइरल बनाउने’ आदि आरोप आम नागरिकलाई लगाइन्छ । तर, मूल प्रश्न यो हो: ती अपुष्ट समाचार कहाँबाट आए ?, कसरी आए ? र किन आए ? समाज र सामाजिक सञ्जाल प्रयोगकर्ता स्वयम् सत्यको स्रोत हैनन्-उनीहरू त्यसको उपभोक्ता मात्र हुन् ।
सत्य र पुष्टि खोज्ने, सम्पादन गर्ने र त्यसलाई सन्तुलित ढङ्गले सार्वजनिक गर्ने जिम्मेवारी पत्रकार र पत्रकारिता संस्थामाथि पर्छ । त्यसैले दोष लुकाउने काम होइन, जिम्मेवारी स्वीकार्ने संस्कार पत्रकारिता जगतमा विकास हुन जरुरी छ ।
पत्रकारिता केवल खबर लेख्ने वा बोल्ने काम होइन, यो एक सामाजिक उत्तरदायित्व हो । सूचना दिने अधिकारसँगै सत्य दिने कर्तव्य पनि पत्रकारमाथि छ । त्यसैले पत्रकारितालाई सनसनी होइन, पुष्टि, सम्पादन र उत्तरदायित्वको आधारमा अगाडि बढाउनु आजको आवश्यकता हो ।