“गुल्मेली समाज पोखरा कास्कीको चाहना, आर्थिक, सामाजिक र साँस्कृतिक समृद्धिको कामना” “रक्तदान जीवन दान जीवन दान महादान” भन्ने नारा सहित गुल्मेली समाज पोखरा, कास्कीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम २०८२ भदौ १५ गते पोखरामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं गुल्मी जिल्ला मालिका गाँउपालीका निवासी मुक्तिराम अर्यालले पहिलो रक्तदाता मिनबहादुर केसीलाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार जस्तो सुकै बिरामीलाई जुनसुकै समयमा रगत आवश्यकता पर्ने भएकाले यसको महत्त्वलाई आत्मसात गरि रक्तदान जस्तो पवित्रकार्य गरेकोमा समाजप्रति प्रशंसा एवं आभार व्यक्त गर्नु भयो । रगत जुनसुकै विपत्, प्राकृतिक प्रकोपमा परेकाको उद्वारमा, विभिन्न प्रकारका महामारीमा बेला मानवीय सेवामा आवश्यक पर्ने भएको आगामी दिनमा यस्तो कार्यलाई जिवन्त राख्नु पर्नेमा जोड दिनु भयो । समाजद्वारा आगामी दिनमा अझबढी रचनात्मक र सकारात्मक कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गर्नु हुँदै आफ्नो तर्फबाट समाजलाई केकती सहयोग गर्न सकिन्छ त्यस तर्फ आफू सकारात्मक रहेको भनाई राख्नु भयो ।

उच्च सरकारी वकील कार्यालय पोखराका सह- न्यायाधीवक्ता रूद्रप्रसाद पन्थीले गुल्मीबाट पोखरा आई विभिन्न पेशा व्यवसायमा संलग्न स्थायी बसोबास गरि बस्नुहुने अग्रज महानुभावको सक्रियता संगठीतभई समाजद्वारा विगत २५ बर्ष देखी रक्तदान जस्तो पवित्र र मानवीय जीवनको महानकार्यमा पुऱ्याउनु भएको योगदानको उच्च मुल्याङ्कन र सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान गरेकोेमा प्रशंसा गर्नु भयो ।
समाजका पू्र्व अध्यक्ष शंकर ज्ञवालीले मुक्तकद्वारा रगतको महत्त्व बारेमा प्रकाश पार्नु भएको थियो ।
रगतको आवश्यकता र महत्त्वलाई पहिचान गरौ
महान रक्तदाताहरूलाई इज्जत र सम्मान गरौ
रगतको विकल्प रगत बाहेक अरू केही छैन संसारमा
मरेर जाने रगतलाई बर्षमा चार पटक रक्तदान गरौ
अनुहारमा लालित्यपन चढ्दै जान्छ
डण्डीफोर र चायाँ भए घट्दै जान्छ
जतिमात्रामा रगत दान गरियो अरूलाई
उति मात्रामा शुद्व रगत बढ्दै जान्छ
कार्यक्रममा समाजका पू्र्व अध्यक्ष बाबुराम बराल, भानुभक्त भण्डारी, नेत्रप्लाल ज्ञवाली, नारायण न्यौपाने, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बराल लगायतकाले शुभकामना राख्नु भएको थियोे ।
सामाजिक उत्तरदायी अन्तरगत समाजका अध्यक्ष कमलप्रसाद न्यौपानेको ५८ जन्मदिनको अवसरमा सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने गरी र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा ३८ युनिट रगत संकलन भएको समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनु भयो ।
गुल्मेली समाज पोखराका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा उपाध्यक्ष रूक्मागत पोखरेलले स्वागत र कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने संचालन सचिव प्रकाश पुनले गर्नु भएको थियो ।







