ललितपुर । ललितपुर महानगरपालिकाले निर्माण गरेको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ ।
ललितपुर-१२मा रहेको ‘ब्लक-सी’ भवनको उद्घाटन महानगर प्रमुख चिरीबाबु महर्जनले एक कार्यक्रमका बिच गर्नु भयो ।
नयाँ भवनबाट वडा नं. १२ को कार्यालयसँगै महानगरका दुई महाशाखाले सेवा दिने जनाइएको छ ।
उद्घाटनका क्रममा प्रमुख महर्जनले भवन निर्माणका क्रममा आएका कानुनी तथा जग्गा भोगाधिकारसम्बन्धी समस्या समाधान गर्दै परियोजना सम्पन्न गरिएको बताउनु भयो ।
उहाँका अनुसार महानगरले हालसम्म तीन प्रशासनिक भवन र २३ ओटा वडा कार्यालय भवन निर्माण गरिसकेको छ ।
महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले वडा नं. ५, ९, १४ र १६ सहित पाँच ओटा वडा कार्यालय भवन निर्माण हुन बाँकी रहेको र ती पनि छिट्टै निर्माण गरिने जानकारी दिनु भयो ।
कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भवनले सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले नागरिकमैत्री सेवा प्रवाहका लागि प्रशासनिक संरचना विस्तार गरिएको बताउनु भयो ।