मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

हरिहरपुरगढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अस्वीकार्य: अध्यक्ष वाईवा

रुद्रबहादुर खड्का, सिन्धुली ।

हरिहरपुरगढी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत अजम्बर राई कर्मचारी आचारसंहिता र मर्यादाभित्र नरहेको भन्दै गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले उहाँलाई स्वीकार गर्न नसकिने स्पष्ट गर्नु भएको छ ।

पत्रकारहरूसँगको २०८२ भदौ ८ गते छलफलमा अध्यक्ष वाईवाले गाउँपालिकाको अध्यक्ष र गाउँ कार्यपालिकाप्रति अपमानजनक व्यवहार गर्दै पार्टी स्वार्थमा गुटबन्दी गरेर पालिकाको बदनाम गर्ने गतिविधि गरेको कारण राईलाई अस्वीकार्य ठहर गरिएको बताउनु भयो ।

अध्यक्ष वाईवाका अनुसार २०८२ भदौ २ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राईलाई प्रमुख प्रशासकीय अधिकृतका लागि सिफारिस गरेको सूचना भदौ ३ गते गाउँपालिकामा प्राप्त भएको थियो ।

अध्यक्ष वाईवाले राईले विभिन्न सञ्चारमाध्यमलाई भ्रमपूर्ण सूचना दिई कर्मचारी आचारसंहिताविपरीत गतिविधि गरेको आरोपसमेत लगाउनु भएको छ ।

“हामीले कार्यपालिका बैठकमार्फत निर्णय गरी मन्त्रालयमा पठाइसकेका छौँ । अजम्बर राईबाहेक अन्य कर्मचारी पठाइए स्वीकार्छौं ।”-अध्यक्ष वाईवाले स्पष्ट पार्नु भयो ।

भदौ ५ गते वडा नं. ३ की सदस्य शङ्खमाया भुलुनकी आमाको निधनमा श्रद्धाञ्जली दिन गएको बेला राईले गाउँपालिकामा उपस्थित भई आफूलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर गराएको र पछि सञ्चारमाध्यमलाई अध्यक्षले हाजिर रजिष्टर लिएर भागेकोजस्ता भ्रामक सूचना दिएको अध्यक्ष वाईवाको आरोप छ ।

गाउँपालिकामा कर्मचारीहरूले बिहान सवा १० बजेसम्म अनिवार्य हाजिर गर्नुपर्ने र सो समयपछि सुरक्षाकर्मीमार्फत हाजिर सुरक्षित राख्ने व्यवस्था रहेको जानकारी दिँदै अध्यक्ष वाईवाले भन्नु भयो- ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत गाउँ कार्यपालिकाको सदस्य–सचिव हुन्छन् ।’

तर, कार्यपालिका बैठक (भदौ ६) को सूचना दिइए पनि राई बैठकमा सहभागी नभएकाले उहाँको गैरजिम्मेवार र अमर्यादित व्यवहार अस्वीकार्य रहेको अध्यक्ष वाइवाले बताउनु भयो ।

Author

Related News