मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्वास्थ्य व्यवसाय कानून सम्मत  सञ्चालन गर्न मन्त्री पाठकको निर्देशन

नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आवद्व स्वास्थ्य व्यवसायीहरूलाई कानून सम्मत व्यवसाय सञ्चालन गर्न गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले निर्देशन गर्नु भएको छ ।

२०८२ भदौ १४ गते पोखरामा आयोजित नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन  २०५३ बमोजिम स्थापित संस्था नेपाल स्वास्थ्य व्यवसायी परिषद्को आयोजनामा प्रदेश अन्तर्गत शिक्षण संस्था दर्ता भएका व्यवसायीहरूसंग परिषदबाट सम्पादित कार्यहरू बिषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पाठकले उक्त भनाइ राख्नु भएको हो । 

मन्त्री पाठकले स्वास्थ्य व्यवसायीहरूलाई व्यावसायिक आचरणमा राख्ने, गुणस्तर कायम गर्ने र जनताको स्वास्थ्य अधिकार सुरक्षित गर्दै कानुन सम्मत अघि बढ्दै सबै स्वास्थ्य सन्चालन गर्न र नियमन गर्न निर्देश गर्नु हुदै कतिपय कानुनहरुमा अस्पष्टता देखिएमा त्यसलाइ सहजिकरणका लागि आफुले पहल गर्ने बताउनु भयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् नेपालका अध्यक्ष सुबोधकुमार शर्माले परिषद्‌को काम, कर्तव्य र अधिकारका बारेमा जानकारी गराउदै स्वास्थ्य व्यवसाय सम्बन्धी काम  सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने, स्वास्थ्य व्यवसायी सम्बन्धी अध्ययन, अध्यापन गराइने शिक्षण संस्थाहरूको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी नीति निर्धारण गरी तथ्यसम्बन्धी कुराहरूको मूल्यांङ्कन र पुनरावलोकन गर्ने, स्वास्थ्य व्यवसायीहरूको योग्यताको निर्धारण गरी योग्यता पुगेका स्वास्थ्य व्यवसायीहरूको नाम दर्ता गर्ने व्यवस्था गर्ने लगायतका बिषयमा काम गर्दै आएको  बताउनु  भयो ।

परिषद्का सदस्य मुकेशकुमार झाले तोकिए बमोजिमको न्यूनतम योग्यता प्राप्त गरेका स्वास्थ्य व्यवसाय गर्न चाहने स्वास्थ्य व्यवसायीले  ऐन र यस अन्तर्गत बनेका नियमको अधीनमा रही दर्ता किताबमा नाम दर्ता गराउन परिषदमा तोकिए बमोजिम दरखास्त दिनु पर्ने बताउनु भयो  । स्वास्थ्य व्यवसायीले दरखास्त साथ आफ्नो योग्यता सम्बन्धी प्रमाणपत्र, सिफारिसपत्र, उपाधि र तोकिए बमोजिमको दस्तुर संलग्न गर्नु पर्ने  लगायतका बारेमा बताउनु भएको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली, सहभागीको तर्फबाट राजेन्द्र रेग्मी, लक्ष्मण बसौला,  तेजाखर लम्साल, नवीन बराल, जगत पौडेल लगायतकाले संस्था दर्ता प्रक्रिया समायानुसार प्रविधि मैत्री हुनु पर्ने, शैक्षिक योग्यता, नवीकरणको समय अबधि हाल पाँच बर्ष रहेकोमा यसलाई १०/१२ बर्षको बनाउनु पर्ने, स्वास्थकर्मीको पेशागत सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने, ऐन नियम परिमार्जित हुँदै जानुपर्ने, शिक्षामा सिन्डिकेटको अन्त्य हुनु पर्ने, शिक्षण संस्थाको नियमित चेकलिष्ट सहित अनुगमन गरिनु पर्ने , शिक्षाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने, सचेतना एवं क्षमता अभिवृद्धि  र अभिमुखिकरण कार्यक्रम  कम्तिमा बर्षको एक पटक आयोजना गरिनु पर्नेमा जोड दिनु भयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सुबोधकुमार शर्माको अध्यक्षतामा  परिषद्का सदस्य मुकेशकुमार झाले स्वागत मन्तव्य र सञ्चालन रजिस्ट्रार लिलानाथ भण्डारीले गर्नु भएको कार्यक्रममा व्यवसायी परिषदमा आबद्ध  ८० जनाको सहभागीता रहेको कर्मचारी सितल बस्नेतले जानकारी दिनु भयो ।

Author

Related News