मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरा–५ को सार्वजनिक सुनुवाइमा २०८२/८३ का कार्यक्रम

पोखरा । बाराही सञ्चार प्रालीको सहकार्यमा पोखरा महानगरपालिका वडा ५ कार्यालयले  आर्थिक वर्ष २०८१ /०८२ मा वडाबाट सम्पादन गरेका कार्यक्रम, वडावासी नागरिकलाई प्रवाह हुने सेवा, सुविधा र विकास निर्माणका कार्य सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम एवम् आर्थिक वर्ष २०८२/ २०८३  को लागि स्वीकृत कार्यक्रमहरूसम्बन्धी जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रम २०८२ भदौ १३ गते सम्पन्न भएको छ ।

वडाध्यक्ष बिष्णुप्रसाद बरालले वडावासीको अगाडि आफ्नो नेतृत्वमा गरेको  कामको समीक्षा गर्नु सकारात्मक पक्ष रहेको बताउनु भयो ।

निर्वाचनको समयमा प्रस्तुत  घोषणापत्रमा उल्लेख प्रतिबद्धतालाई उच्च प्राथमिकता दिदै  बार्षिक कार्ययोजना अनुसार नागरिक मैत्री अवधारणा बनाइ कार्य सम्पादन गर्दै आएको भनाइ राख्नु भयो ।

वडाध्यक्ष बरालका अनुसार  विगतका तीन बर्षहरू समीक्षा गर्दै  चौथो वर्ष सम्म आइपुग्दा धेरै भौतिक पूर्वाधारको काम भएको,  सामाजिक, सांस्कृतिकको जर्गेना, स्वास्थ, शिक्षा, कृषि,  महिला, बालबालिका एवम् ज्येष्ठ नागरिकका सवालमा धेरै काम गरेको बताउनु भयो । 

यो अवधिमा  बुझ्ने र सुधारका काम गर्दै  वडावासी नागरिकको भावना अनुरूप काम कारबाही अगाडि बढाएको भनाइ राख्नु भयो  । 

सुझाव र खबरदारी सार्वजनिक सुनुवाइको दिनमा मात्र दिने प्रचलनको अन्त्य गरी समय समयमा वडा कार्यालयमा आई आआफ्नो समस्या, वडाको आँखा नपरेकोमा स्थान पहिचान गरी दिन आग्रह गर्नु भयो ।

वडामा एक शहरी स्वास्थ्य केन्द्र, मालेपाटन, विधालय तर्फ बाराही माध्यमिक विधालय, मालेपाटन र धर्मस्थली आधारभूत विधालय, प्रस्याङ रहेको छ भने  २४ ओटा टोल सुधार समितिलाई आवश्यक पूर्वाधारहरूमा सहयोग गर्दै आएको, वडा सदस्यहरूको कार्य विभाजन गरि कार्य सम्पादन गर्दै आएको, आगामी दिनमा वडालाई  रचनात्मक राय, सुझाव दिन वडावासीलाई आग्रह गर्नु भयो । 

वडा अध्यक्ष बरालले वडा नम्बर ५ मा हाल २२ हजार ६६० जनसङ्ख्या रहेको जानकारी दिनुभयो, जसमा पुरुष ११ हजार १५७ र महिला ११ हजार ५०२ जना छन् ।

यहाँको वार्षिक जनसङ्ख्या वृद्धिदर ४.४२ प्रतिशत, घरधुरी सङ्ख्या ६ हजार २१९, जनघनत्व ३४९३.८, औसत परिवार आकार ३.६ र लैङ्गिक अनुपात ९७ रहेको उहाँले बताउनुभयो ।

यस वडाको साक्षरता दर ९८ प्रतिशत छ भने मुख्य बस्तीहरूमा मालेपाटन, प्रस्याङ्ग, धारापानी, मगरथोक, तल्लो कुलाको डिल र माथिल्लो कुलाको डिल पर्छन् ।

सेवा प्रवाहमा केही कमी–कमजोरी हुन सक्ने स्वीकार गर्दै उहाँले आगामी दिनमा ती सुधार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

वडाअध्यक्ष  विष्णुप्रसाद बराल नेतृत्वमा पाँच जना जनप्रतिनिधिहरू हरिमाया विश्वकर्मा, कल्पना भूवाजी क्षेत्री, गोविन्दप्रसाद पराजुली र मणीराम बराल एवम् सचिव लक्ष्मण शर्मा सहित १४ जना कर्मचारी पात्र मात्र भएकोले सबै वडाबासी नागरिकले रचनात्मक र सकारात्मक  सहयोगको आवश्यकता रहेको उहाँको भनाइ रहेको छ ।

वडा सचिव लक्ष्मण शर्माले आ.व.२०८१/८२ मा स्वीकृत आयोजना तथा कार्यक्रमहरुको कार्यान्वयन तर्फ  कुल आयोजना/कार्यक्रम संख्या  ९४ वटा मध्ये  ८५ वटा कार्यान्वयन भएको र नौ ओटा कार्यान्वयन हुन नसकेका बताउनु भयो ।

जसमा आ.व.२०८१/८२ को बार्षिक आय व्यय तथा कार्य सम्पादन विवरण अनुसार चालु बजेट तर्फ  ५४,३५,००० मध्ये  ४९,५९,७५९ खर्च भएको जम्मा ९१.२५ प्रतिशत र पुँजिगत बजेट तर्फ  ३,०६,१०,००० मध्ये  २,१४,७८,८३५ खर्च भएको  ७०.१६ प्रतिशत  जम्मा ३,६०,४५,००० मध्ये  २,६४,३८,५९४ खर्च भएको जम्मा यस बर्ष   ७३.३४ प्रतिशत खर्च भएको जानकारी दिनु भयो । 

त्यसै गरी आ.व.२०८२/८३ को स्वीकृत कार्यक्रमहरू तर्फ  ७० ओटा रहेको बताउदै जसको बजेट ३ करोड ८७ लाख ३२ हजार रहेको उल्लेख गर्नु भयो । 

कार्यक्रममा सेवाग्राहीको तर्फबाट लक्ष्मण बराल, विष्णु पुरी, पदम तिमिल्सिना, धनबहादुर नेपाली, हरि बराईली, सीता तिमिल्सिना, नरेश कोईराला,पुष्पराज बराल, मैयाँ अधिकारी, दिनबन्धु गौतम, सीता कोईराला, ओमप्रसाद कोईराला, नारायण अधिकारी, हरी कोईराला, तारा बराल, विमल श्रेष्ठ, कृष्णकान्त सापकोटा, रमेश श्रेष्ठ, प्रमोद कोईराला,अञ्जलि खत्री,  प्रयास कोईराला, धन्ञ्जय पौडेल लगायतले वडाको बजेटमा पारदर्शिता र अडिट रिपोर्ट सार्वजनिक हुनु पर्ने, बजेटको सही सदुपयोग  र आवश्यक पहिचान गरि बजेट परिचालन गरिनु पर्ने, टोल विकास संस्थाको समन्वयमा विकास निर्माणका काममा समावेश गरिनु पर्ने, कौसी खेतीलाई व्यवस्थित बनाउनु पर्ने, नहर सही र  व्यवस्थित हुनु पर्ने, सडकमा फुट्याक र अपांगमैत्री हुनु पर्ने, युवा,महिला र जेष्ठ नागरिकलागि लक्षित गरी प्रविधीमैत्री तालिम तथा कार्यक्रम संचालन गर्नुपर्ने, सेवाग्राहीलाई  सोलार बत्ती, विधुत, खानेपानी बितरण प्रभावकारी हुनु पर्ने, ट्राफिक व्यवस्थापन, फोहरको सहि व्यवस्था हुनु पर्ने, कुकुर  लगायतका चौपायाको व्यवस्थापन,  हाम्रो काममा जवाफदेही, पारदर्शीता र उत्तरदायी हुनुपर्ने एवं पूर्वाधारसँगै पछाडि पारिएका एवं अव्यवस्थित समुदायका  बालबालिकाहरूको शिक्षा पहुँच र स्वास्थ्यको क्षेत्रमा काम गर्नु पर्नेमा र भन्न सुनको आधारमा योजना छनोटको अन्त्य गर्नु पर्नेमा जोड दिनु भयो ।

सेवाग्राहीको तर्फबाट राखिएका गुनासा तथा प्रश्नहरूको कार्यपालिका एवं वडा सदस्य हरिमाया विश्वकर्मा, कल्पना भूवाजी क्षेत्री, गोविन्दप्रसाद पराजुली र मणीराम बराल  र वडा सचिव लक्ष्मण शर्माले जवाफ दिनु भएको थियो भने सहजीकरण बाराही सञ्चार प्रालीका  उमा आले र माधव पराजुलीले गर्नु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा वडामा क्रियाशील विभिन्न राजनैतिक दलका प्रमुख, टोल विकास संस्थाहरू, उपभोक्त समितिहरू, आमा/महिला समूहहरू, युवा क्लवहरू, वडा बाल मञ्च तथा बाल क्लवका प्रतिनिधि, वडा स्तरीय कृषि, अन्य सञ्जालहरूका पादाधिकारी तथा सदस्यहरू, सामुदायिक र संस्थागत विद्यालयहरूका व्यवस्थापन समितिका अध्यक्षहरू, वडामा क्रियाशील विभिन्न गैह्रसरकारी संघसंस्थाका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख  सहभागीता रहेको थियो ।

सार्वजनिक सुनुवाइ परिसरमा सेवाग्राहीहरूको स्वास्थ्यलाई मध्यनजर गरि प्रेसरको जाँचसगै १० प्रकारका सिटामोल, एसिलक, मेट्रोन, सेटिजिन, डाईजिन, डिक्को, जीवनजल, मुभ लगायतका षधी वितरण गरिएको थियो भने जसमा ८० जना महिला, ३२ जना पुरूष गरि १ सय १२  जनाले सेवा लिएको शहरी स्वास्थ केन्द्र – ५ मालेपाटनका प्रमुख गणेश खड्काले जानकारी दिनु भयो ।

Author

Related News