मानव आवाज

२०८३ श्रावण ७ गते
00: 00: 00
२०८३ श्रावण ७ गते

पुष्पकमल सुवेदीको ४३ औं स्मृति दिवस 

पुष्पकमल सुवेदी प्रतिष्ठानको आफ्नै प्रा‌ङ्गणमा गण्डकी धौलागिरी माले क्रान्तिकारी दलका संस्थापक सदस्य तथा अग्रज कम्युनिष्ट नेता पुष्पकमल सुवेदीको ४३ औं स्मृति दिवस एक विशेष समारोहका बीच उहाँको जन्मथलो हंसपुरमा २०८२ भदौ १० गते आयोजना गरियो । 

प्रमुख अतिथि रूपा गाउँपालिका वडा ७ का वडा अध्यक्ष कृष्ण सुवेदीले पुष्पकमल सुवेदीप्रति श्र‌द्धाञ्जली अर्पण गर्दै, “मैले विद्यालय जीवनको कक्षा ८ मा पढ्‌दा नै उहाँको बारेमा सुनेको थिएँ। वि‌द्यार्थी राजनीतिमा लागेपछि भेडाबारी, गोर्जे, तारकाङ लगायत क्षेत्रमा संगठन विस्तारका क्रममा पुष्पकमल सुवेदीको योगदान झन स्पष्ट हुँदै गयो,” भन्दै उहाँको योगदानबारे स्मरण गरे। वडा अध्यक्ष सुवेदीले समतामूलक, वर्गविहीन समाज निर्माणका लागि तत्कालीन कठिन परिस्थितिमा समेत सुवेदीले देखाएको साहस र नेतृत्वलाई उच्च सम्मान दिँदै, “उहाँ अहिले जीवित हुनुहुन्थ्यो भने नेपालको उच्च राजनीतिक नेतृत्वमा पुग्न सक्ने व्यक्तित्व हुनुहुन्थ्यो,” भन्ने दृढता व्यक्त गर्नु भयो ।

कार्यक्रमका वक्ता वामपन्थी चिन्तक तथा प्रतिष्ठानका सल्लाहकार रामराज रेग्मीले प्रतिष्ठानको भौतिक पूर्वाधार विकास र विचारको केन्द्रका रूपमा यसको भविष्यबारे धारणा राख्दै, हालको भवनलाई अध्ययन केन्द्रको रूपमा विकास गर्न जरूरी छ भन्दै सिमित स्रोतका कारण समग्र योजनाहरू एकैसाथ कार्यान्वयन गर्न कठिन भइरहेको उहाँको भनाइ रहेको छ।

सल्लाहकार रेग्मीले सुवेदीका विचार आजको पुस्ताका लागि अझै पनि मार्गदर्शक रहेको उल्लेख गर्दै युवाहरूले यसको नेतृत्व सम्हाल्नुपर्ने धारणा राख्नु भएको थियो। 

संस्थापक कार्यसमिति सदस्य कालिदास सुवेदीले पुष्पकमल सुवेदी र आफ्ना पिताबीचको निकट सम्बन्ध उल्लेख गर्दै, उहाँ दलित, शोषित र उत्पीडित वर्गको मुक्तिका लागि समर्पित हुनुहुन्थ्यो। अल्पायुमै उहाँको निधनले राजनीतिक तथा भौतिक क्षेत्रका धेरै काम रोकिए भन्दै गहिरो भावनात्मक समर्पण व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य मोहन सुवेदी, पोखरा महानगर कमिटी सदस्य सन्तोष थापा, वडा नम्बर ५ का अध्यक्ष लक्ष्मण बराल लगायतकाले  अझै समाजमा गहिरो रूपमा रहेको शोषण र उत्पीडन अन्त्य गर्न प्रतिष्ठानका गतिविधिले योगदान पुऱ्याउने विश्वास व्यक्त गर्दै आआफ्नो भनाइ राख्नु भएको थियो । 

पुष्पकमल सुवेदी प्रतिष्ठानका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा उपाध्यक्ष ध्रुवकल्पित सुवेदीले स्वागत मन्तव्य र सञ्चालन प्रतिष्ठानका सचिव प्रदीप सुवेदीले गर्नु भएको थियो।

Author

Share the News

Recent News

Related News