काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले २०८२ सालको प्रकाश मानवअधिकार पुरस्कार कमलामाई नगरपालिका ९ भिमानका ५४ वर्षीय रुद्रबहादुर खड्कालाई दिने जनाएको छ ।
इन्सेकले २०८३ साउन १४ गते एक विज्ञप्ति जारी गर्दै मानव आवाजकर्मी खड्कालाई प्रकाश मानवअधिकार पुरट्ठ्कार दिन लागेको जनाएको हो ।
२०८३ साउन १६ गते स्टाफ कलेज जावलाखेलमा आयोजित एक कार्यक्रममा खड्कालाई ५० हजार रुपियाँ नगदसहित इन्सेकको लोगो प्रदान गर्न लागिएको हो ।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको निधन भएको दिनको स्मरणमा इन्सेकले २०५१ सालदेखि हरेक वर्ष साउन १६ गते यस्तो पुरस्कार दिँदै आएको छ । २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एरोप्लेन दुर्घटनामा परी काफ्लेको निधन भएको थियो ।
पुरस्कारका लागि सार्वजनिकरूपमा आह्वान गरिएअनुसार प्राप्त ४८ जनाको नाममध्येबाट शोषण तथा विभेद मुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील खड्कालाई छनोट गरिएको इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा जारी विज्ञप्ति जनाइएको छ ।
रुद्रबहादुर खड्का : मानवअधिकारलाई जीवन बनाएका अभियानकर्मी
इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित प्रकाश मानव अधिकार पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य डा. लिली थापा र अधिकारकर्मी दुर्गा सोव सदस्य हुनुहुन्थ्यो ।
सिन्धुली जिल्ला कमलामाई नगरपालिका-९, भीमान निवासी खड्का मानव अधिकार उल्लङ्घन, अन्याय, विभेद, दण्डहीनता तथा सामाजिक बहिष्करणका घटनालाई निरन्तर रुपमा उजागर गर्दै पीडित तथा सीमान्तकृत समुदायको आवाजलाई सार्वजनिक सरोकारको विषय बनाउनु साथै शारीरिक असक्तताका बाबजुद पनि अदम्य साहस, अटल प्रतिबद्धता र अथक सक्रियताका साथ मानव अधिकार, सामाजिक न्याय र मानवीय मर्यादाको पक्षमा निरन्तर उभिनुभएको छ ।