२०४७ वैशाखदेखि खुला रूपमा घुमफिर गर्दा तथा साथीभाइ, इष्टमित्रसँग भेटघाट गर्दा मैले के पाएँ भने आफ्नो सोचाइले सामान्य ठानिरहेको एउटा काम राजनीतिक र गैरराजनीतिक दुवै हिसावले एउटा गाथा र रहस्यको विषय बनिसकेको रहेछ । २०२६ सालदेखि विभिन्न ढङ्गले राजनीतिक फाँटमा सक्रिय रहे यता मैले जिन्दगीका अनौठाअनौठा मोडहरूलाई पार गरिसकेको छु । नक्खु जेल विद्रोह र त्यसपछिको सक्रिय भूमिगत राजनीतिक जीवन तिनै मोडहरूमध्येका एउटा हो र त्यो मान्छेको माला जस्तो शृङ्खलाबद्ध जीवनमा उनिने एउटा सामान्य फूलको थुँगा मात्र हो भन्ने मलाई लागेको थियो । तर, २०४७ सालले मलाई एउटा ज्ञान दियो-नक्खु जेल विद्रोह एउटा ठुलै ऐतिहासिक घटना रहेछ ।
८३ औं मई दिवस मनाउन मुस्लो परिवारको तर्फबाट आह्वान गरिएको एउटा पर्चा मस्यौदा गरेको, छापेको र वितरण गरेको ‘गम्भीर अपराध‘ मा तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले म, गोपाल शाक्य र माधव पौडेललाई १० वर्ष कैद र १० हजार रुपियाँ जरिबाना तोकेका थिए । हामीसँग वीरबहादुर लामा, राजेन्द्र पाण्डे, सूर्य लामिछानेलगायत केही साथीहरू पनि पर्नुभएको थियो । सुरुमा हामीले कानुनी प्रतिकारको बाटो लियौं तर सरकारले हामी तीन जना ‘नाइके’ लाई नछोड्ने निर्णय गरेको रहेछ । एक वर्ष वित्दा पनि हाम्रो मुद्दाको कुनै सुनुवाइ नभएपछि अन्यायको प्रतिकार गर्न हामीले पुनः गैरकानुनी बाटो समात्ने अठोट गर्यौँ ।
त्यति बेला नक्खु जेलमा हामीसहित नेमुसिंह राजवंशी, चन्द्रप्रकाश मैनाली, घनेन्द्र बस्नेत, नरेश खरेल, हर्क खड्का, नारद वाग्ले, भिष्म धिमाल, धर्म घिमिरे, मोहन उप्रेती जस्ता झापा सङ्घर्षका बन्दीहरू सूर्य कन्दङ्वा वा अशोक न्यौपाने जस्ता स्वतन्त्र कम्युनिस्ट बन्दीहरू हुनुहुन्थ्यो । खास गरेर झापाली साथीहरू जिउँदै जेलबाट निस्कन पाइन्छ भन्ने कुरामा विश्वास गर्नु हुन्न थियो र बाहिरबाट सघाउने पार्टी पनि नाम मात्रको शक्ति च्यापेर बसेको हुनाले आन्दोलनले छुटाउँछ भन्ने विश्वास पनि उहाँहरूमा थिएन । तर, जेलमा बसेर आफ्नो चाहना अनुरूप जनताको सेवा गर्ने र निरङ्कुश सत्ताको निर्णायक सङ्घर्ष गर्ने काम गर्न पनि सकिँदैनथ्यो । त्यसैले जेलमा बसेका हामी, कम्युनिस्टहरूले, जेलबाट सुरुङ खनेर बाहिर निस्कने र राजनीतिक काममा संलग्न हुने निर्णय गर्यौँ । सूर्य कन्दङ्वा सुरक्षा कानुनको बन्दी हुनुहुन्थ्यो । त्यसैले उहाँ र मोहन उप्रेती (उप्रेतीप्रति प्रशासनको आँखा नरम थियो) सुरुङबाट ननिस्कने निर्णय गर्नु भयो । हामी निस्केपछि उहाँहरूप्रति प्रशासनको आँखा नरम हुन्छ र उहाँहरू छुट्न पाउनु हुनेछ भन्ने सानो सोचाइ उहाँहरूमा थियो ।
सुरुङ खन्नु सजिलो थिएन । पुलिसहरू जेलभित्रै, त्यो पनि हामी बसेको जेलको पश्चिमी हिस्सामा नै सुत्थे । जेलभित्र र बाहिर चारैतिर रमन घुम्थ्यो । चारैतिरका बुर्जामा बस्ने पुलिसहरू रातभर खबरदारको फेरि लगाउँथे । त्यस बाहेक जेलको आन्तरिक प्रशासन पनि हामीप्रति कुदृष्टि राख्थ्यो । चौकीदार अलिक भलाद्मी थिए र हामीमाथि विश्वास राख्थे । तर, उनी बाहेकका सम्पूर्ण व्यक्तिहरू हामीसित चर्को शत्रुता राख्थे र तत्कालीन कांग्रेसी बन्दी कृष्णप्रसाद भट्टराईलाई रिझाउने प्रयत्न गर्थे । यस्तो स्थितिमा हामी जस्ता निहत्था मानिसले सुरुङ खनेर जेलको घेरा नाघ्नु त्यति सजिलो थिएन ।
सुरुङ खन्ने पूर्वाधारका रूपमा सबभन्दा पहिले हामीले जेलका बन्दी र आन्तरिक प्रशासनका कर्मचारीहरूसँगको सम्बन्धलाई अझै गाढा बनायौँ । सामान्य बन्दीहरूसँगको घनिष्ठता र बारीमा लगाएको फलफूल स्याहार्न हामीले गरेको मेहनतलाई हेर्दा मान्छेहरू, हामी जेलबाट भाग्छौं कि भनेर कल्पनासम्म गर्दैनथे । तर, त्यतिबेला जेलमा परेका नेपाली कांग्रेसका छुस्के भाइहरू भने हामी भाग्छौँ भन्दै जेल प्रशासनलाई चुक्ली पनि लगाउँथे । त्यसलाई पनि मत्थर पार्न हामीले कांग्रेसी नेताहरूसँगको भेटघाट र छलफलको कार्यक्रमलाई नियमित बनायौं। हामी खेलकुदमा पनि बढी व्यस्त हुन थाल्यौँ र हामी नाचगान पनि गर्न थाल्यौँ ।
हामी १७ जनाले कार्य विभाजनको टिम निर्माण गर्यौँ । ६ टिममा विभाजित हामीहरू पालैपालो जेल र आन्तरिक प्रशासनसँग सम्बन्ध राख्ने, काङ्ग्रेससँग कुराकानी गर्ने, तरकारी वारीको गोडमेल गर्ने, खरायोको हेरविचार गर्ने (हामीले २ सय जति खरायो जेलको भुइँतलाको एउटा कोठामा पालेका थियौँ), जेलको सरसफाइ गर्ने जस्ता कामहरू गर्न थाल्यौँ। हाम्रो यो विभाजित दायित्व परिवर्तित भइरहन्थ्यो। यसले गर्दा सुरुङ खन्न हराउने मानिसप्रति मान्छेको ध्यान जानै पाउँदैनथ्यो। आज सुरुङ खन्ने भोलि तरकारी बारीमा भेटिन्थ्यो भने भोलि खन्ने पर्सि बन्दीहरूको बिचमा बसेर गफ चुटिरहेको हुन्थ्यो ।
पहिलो चरणको तयारी सकिएपछि २०३३ साल फागुन १० गते दिउँसोबाट हामीले सुरुङ खन्ने काम थाल्यौँ । हामी जेलको सबभन्दा पश्चिमको वार्डमा बस्थ्यौँ । पहिलो दिन हामी त्यही खरायोको खोर मर्मत गर्ने निहुँमा कोठामा पस्थ्यौँ र प्वाल पार्ने, इँटाको मुनि घोप्टे जस्तो वरपर सर्ने घर्रा लगाउने र घर्रामुनि एक जना मान्छे बसेर माटो खन्न सकिने खाडल बनायौँ ।
मुक्त आकाशको खोजीमा प्रदिप नेपाल
त्यो दिन हामी सबैको लागि अत्यधिक रोमान्चको दिन थियो। हामी सबैको मुटु ढुक्ढुक् गरिरहेको थियो र यो सुरुङ खन्ने कुरा खुल्यो भने हामीमध्ये कोही मारिन पर्ने करा निश्चित छ भनेर हामी खासखास-खुसखुस पनि गर्दै थियौँ । त्यो पहिलो दिन, म अन्य दुई जना साथीसहित तरकारी बारीको ड्युटीमा खटिएको थिएँ । हामी बारीको गोडमेल र मलजलबाट समय निक्लने बित्तिकै पल्याक्-पुलुक् गर्दै कोठातिर चियाउन पुग्थ्यौँ । खेलकुदमा मान्छे अलमल्याउने जिम्मा लिएका साथीहरू पनि बेला मौकामा झ्यालतिर आँखा डुलाउनु हुन्थ्यो । कोठाभित्रै कामको जिम्मा लिएका साथीहरू पनि आफ्नो उत्तेजनालाई ढाकछोप गर्दै बाहिर निस्किएर सुसेली हाल्ने काम गर्नुहुन्थ्यो ।
हामीले अनुमान गरेभन्दा सहज ढङ्गले हाम्रो प्रारम्भिक कार्य सम्पन्न भयो । उत्साहको लहरमा बग्नुभएका साथीहरूले पहिलो दिनमै ३ फिटभन्दा गहिरो खाडल खन्नु भयो । खाडल तयार भएपछि माथिबाट घोप्टे लगाएर, घोप्टेलाई माटो र इँटाले पुरेर साथीहरू बाहिर निस्केपछि हामी सबैले एकै मनले भन्यौँ, ‘हामीले आधा विजय प्राप्त गरिसकेका छौँ र अब चाँडै नै हामी जनताको काखमा जानेछौँ ।’
तर, पहिलो दिनको उत्साहलाई दुई-तीन दिनको कामले ठण्डा बनाइ हाल्यो । हाम्रो बाहिरको गतिविधिमा कुनै अप्ठ्यारो थिएन । तर, सुरुङ खन्दा निस्केको माटो लुकाउने समस्या र खन्ने औजारहरू प्राप्त गर्ने कठिनाइले हामीमाथि विपत्तिको पहाडै खन्यायो । खन्ने औजारको नाममा हामीसित एउटा फलामको पन्यू, एउटा भाँचिएको छाताको डण्डी र एउटा डाडु मात्र थियो । यति चिजले डेढ मिटरको व्यास भएको सुरुङको एक बित्ता माटो खन्न पनि पसिना निस्कन्थ्यो । त्यसपछि खनिएर थुप्रिएको त्यो माटोलाई तह लगाउन हामीलाई अर्को पर्लय पर्थ्यो ।
चौथो दिन हामीले कामै रोकेर छलफल गर्यौँ । खन्ने औजारको अवस्था सुधार्ने त हामीसँग कुनै उपाय थिएन तर माटो लुकाउन भने हामीले धेरै उपायहरू निकाल्यौँ । खनेको माटोलाई हामी पेन्ट र ज्याकेटको गोजीमा हालेर बाहिर निस्कन्थ्यौँ । त्यो माटोलाई पातलो गरेर तरकारी बारीमा छथ्यौँ र फेरि माटो लिनभित्र जान्थ्यौँ । यो काम धेरै अप्ठ्यारो र खतराले भरिएको थियो तर त्यो अप्ठ्यारो र खतरालाई हामीले केही जस्तो ठानेका थिएनौँ ।
सुरुङ १५ दिनसम्म खास कठिनाइ बिना तन्कियो । पन्ध्रौँ दिनको रात पर्खालभित्र घुम्ने कैदी कर्मचारीले हामी सुत्ने कोठैमुनि आएर भने “हैन यी मोरा कम्युनिस्टहरू कतै सुरुङ खनेर त भाग्दैनन् ?”
हाम्रो निधार चिसो भयो र हाम्रो शरीरका रौँहरू ठाडा ठाडा भए । ‘यिनीहरूले हाम्रो कार्य त थाहा पाएनन् ?’ हामी सबैको मनमा एउटै प्रश्न खेल्यो । त्यो रात सुरुङमा दुई जना साथीहरू पस्नु भएको थियो र बिहान चार नबजी उहाँहरूको बाहिर निस्कने सम्भावना थिएन । भर्खरै सुरुङको चर्चा गर्ने कामदारहरू शङ्काकै भरमा हामी सुत्ने कोठामा मान्छे हेर्न आए भने ? यो शङ्काको भँवरीमा परेर हामी सबैको आँखाले निन्द्रालाई बिदाइको सलामी दियो । त्यो रात हामीले छटपटीमै बितायौँ ।
तर, यो सङ्कट पनि टार्नुपथ्यर्थ्यो र टर्यो। कैदी कामदारले आफ्नै लहडमा त्यस्तो टिप्पणी गरेका रहेछन् भन्ने कुरा भोलि पल्टका उनीहरूका गतिविधिले प्रस्ट पारे । उनीहरूले हामीमाथि कुनै शङ्का गरेका थिएनन् ।
त्यसको दुई तीन दिनपछि हाम्रो सामु अर्को सङ्कट तेर्सियो । हामी पर्खालको जगमा पुगेका थियौँ र यामानका ढुङ्गाहरूले हाम्रो बाटो छेकेका थिए । हामी ती ढुङ्गाहरू बोकेर बाहिर ल्याउन सक्दैनथ्यौँ र ती ढुङ्गाहरू फुटाउने कुनै औजार पनि हामीसित थिएनन् । त्यसैले हामीले ढुङ्गाले ढुङ्गै फुटाउने आदिम प्रविधि अपनायौँ । जगमा भेटिएका राणाकालीन इँटाहरूको जोडन सिमेन्टभन्दा कडा थियो । त्यो त फुट्दै फुटेन र त्यसलाई लुकाउन हामीलाई झनै हम्मे पर्यो । आठ फिट चौडाइको त्यो ढुङ्गे जग पार गर्न हामीलाई सबभन्दा अप्ठ्यारो पर्यो । टुक्र्याएर साना पारिएका ढुङ्गाहरूलाई भने हामीले बाटोमा लगाउने र तरकारी बारीको ड्याङ बनाउने काममा प्रयोग गर्थ्यौँ ।
जग नाघेर माटोमा पुगेपछि हामीले ढुक्कले सास तान्यौँ । त्यो साँझ हामीले गीतार बजाएर ठुल्ठुलो स्वरमा गीत गायौँ । चौरमा वरिपरि घेरा लाएर नाच्यौँ र थपडी पनि बजायौँ । हाम्रो विश्वासले बलियो आधार भेट्टाएको थियो । अब हामीलाई कुनै पनि शक्तिले जेलको बन्धनमा बाँधेर राख्न नसक्ने भएको थियो ।
हामीले सुरुङलाई उकालोतिर लग्यौँ । अब हरेक पल हाम्रो लागि खतराको क्षण थियो । कुनै बेला पनि भ्वाक्क प्वाल पर्न सक्दथ्यो र हाम्रो एक महिनाको परिश्रम स्वाहा हुनसक्थ्यो । “कतै हामी जमीनको सतहमै त पुगेनौँ ?” हरेक पटकको माटो परीक्षणमा हामीले यो प्रश्नको उत्तर खोज्नुपर्थ्यो ।
हाम्रो आतुरताको समाप्ति आइपुगेको रहेछ । चैत १२ गतेको साँझ सुरुङ खन्ने ड्युटीमा रहनु भएका साथी माधव पौडेल र गोपाल शाक्यले आलुका जराहरू भेटिएको समाचार पठाउनु भयो । हामी सतहमा आइसकेका थियौँ । अब कुनै पनि बेला सुरुङको मुख ह्वाङ्ग हुन सक्थ्यो । आलु गोड्ने किसान, घाँस काट्ने दिदी वा रमन घुम्ने पुलिसले पनि बारीबाट प्वाल ठुलो पारिदिन सक्थे ।
हामीले त्यही रात निक्कने अठोट गर्यौँ । निस्कनु अगाडि हामीले थुप्रै काम गर्नुपर्थ्यो । सबभन्दा ठुलो काम त जेलको चार दिशामा चर्को उज्यालो फ्याँकिरहेका हजार वाटको बत्तीहरूलाई निभाउनु थियो ।
पहिलो पल्ट हामीले सजिलै तार जुधाएर बत्तीको फ्युज उडाइदियौँ । जेल अन्धकारको कोलाहलभित्र डुब्यो । ‘बत्ती के भो ?’ को आवाजले जेलभित्र हल्लीखल्ली मच्चायो । त्यसै बिचमा प्वालको मुख भत्काएर हाम्रो साथी माधव पौडेल बाहिरको खुला संसारमा निस्कनु भयो । हामी सबै लाइन लाग्यौँ ।
तर, त्यसै बेला बत्ती झलमल्ल बल्यो । मेन स्विचको फ्युज उडेको थिएन । त्यसैले तुरुन्त बत्ती बल्यो । हामीहरूको आङ जिरिङ्ग भयो । बाहिरको रमाइलो संसारमा निस्कने सपना सँगालेका हामी सबैलाई एउटा ठुलो पहिरोले थिचे जस्तो भयो । हामी एकचोटि आत्तियौँ ।
तर, आत्तिएर काम चल्नेवाला थिएन । हामीले फेरि बत्ती निभाउनै पर्थ्यो र बाहिर निस्कनै पर्थ्यो । जेलमा अब हामी कसैको जीवन सुरक्षित थिएन तर पहिलेको ठाउँमा बत्ती निभाएर हामीले उपलब्धि पाउने सम्भावना पनि थिएन । त्यो बत्ती तुरून्त बल्न सक्थ्यो । हामी ठुला तारहरूको खोजीमा लाग्यौँ ।
‘भड्याक्क’ एउटा ठुलो आवाज सहित फेरि बत्ती निभ्यो । गोपाल शाक्य र नारद वाग्लेले पाइखानाको मोटो तार जुधाउनासाथ एक पल्ट उज्यालो झिल्को निकालेर, ट्रान्सफरमै विस्फोट गराए जस्तै आवाज आयो र जेल अन्धकारको भुवँरीमा डुब्यो । हामी हतारहतार सुरुङको मुखमा भेला भयौँ ।
म १२ औं नम्बरमा थिएँ । सुरुङ पहिले जस्तो ओसिलो र गर्मिलो थिएन । खुला संसारको चिसो हावा खाँदै म सुरुङमा घस्रिन थालेँ । तीन मिनेटपछि म ताराहरू रिमरिमाइरहेको खुला आकाशमुनि निस्किएँ । (क्रमश… २०८३ जेठ २ गते मानव आवाज अनलाइनमा)