ललितपुर । “मानव अधिकार संरक्षणका लागि अभियन्ताका रूपमा युवा” भन्ने नाराका साथ प्रथम युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारसँग माग गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डिजिटल राइट्स नेपाल, भिजिबल इम्प्याक्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त आयोजनामा वैशाख १८ र १९ गते ललितपुरको जावलाखेलमा सम्पन्न सम्मेलनले घोषणापत्रमा उल्लेख गरिएका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
सम्मेलनमा नेपालको मानवअधिकार अवस्था, वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्ने समस्या, यौन तथा प्रजनन स्वास्थ्य, दिगो विकास लक्ष्य, तथा समसामयिक सामाजिक आन्दोलनलगायत विषयमा छलफल गरिएको इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै उपसभामुख रूबीकुमारीले युवाहरूको भूमिका मानवअधिकार संरक्षणमा महत्वपूर्ण रहेको बताउँदै मधेशमा दाइजो प्रथाविरुद्ध आफू सक्रिय रहेको उल्लेख गर्नुभयो ।
उहाँले देशमा बेरोजगारी समस्या समाधान र महिला अधिकार प्रवर्धनका लागि विशेष अभियान आवश्यक रहेको औंल्याउनुभयो । साथै, सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ पछि नेपालले विभिन्न चुनौतीकाबिच मानवअधिकारप्रति प्रतिबद्धता जनाएको स्मरण गराए ।
उहाँले नेपालको संविधान २०७२ जारी हुँदा मानवअधिकार कार्यान्वयनको अपेक्षा गरिएको भए पनि व्यवहारमा अझै सुधार आवश्यक रहेको बताउनुभयो ।