मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

मौलिकताको संरक्षणसँगै सांस्कृतिक जगेर्नामा युवालाई अगाडि बढाउनुपर्छ: सह-न्यायाधिवक्ता पन्थी

पोखरा ।

छोरीले लैजालान् भनेर नौनी घिउ खारेकी छु, दिउले कुटेर मान्द्राभरी मस्यौरा पारेकी छु ।

लाबिधानका चामलको चुहिने खाजा पकाएर, नमेरा आलुका चाना ताप्केमा तारेकी छु ।।

चारपाखे पालीगाँसी खरले छाएको घर, कुँडेमा घोटीघोटी पकाएको खिरको स्वादिलो थाल हुन्थ्यो ।

बोडी, चिचिन्डो र काँक्राको अचारसँग भक्तेमा, झिसमिसे हुँदा चाम्रे खाइन्थ्यो र दर हुन्थ्यो ।।

“आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको कामना” भन्ने उद्देश्यसहित गुल्मेली समाज पोखराले विगत २० वर्षदेखि निरन्तर आयोजना गर्दै आएको तीज मिलन तथा दर खाने कार्यक्रम यस वर्ष पनि सम्पन्न गरेको छ ।

हरितालिका तीजको अवसरमा आयोजित यो कार्यक्रम २०८२ भदौ ७ गते पोखरामा सम्पन्न भएको हो ।

गुल्मी जिल्लाको स्थायी वासस्थान भए पनि पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा, व्यवसाय र अध्ययनमा संलग्न गुल्मेलीहरूको साझा संस्था गुल्मेली समाज पोखरा २०५८ सालमा स्थापना भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उच्च सरकारी वकिल कार्यालय पोखराका सह-न्यायाधिवक्ता तथा गुल्मी मदाने गाउँपालिकाका स्थायी बासिन्दा रूद्रप्रसाद पन्थीले तीज पर्व आधुनिकतातर्फ बढी आकर्षित भइरहेको भन्दै मौलिकताको संरक्षणसँगै सांस्कृतिक जर्गेनामा युवापंक्तिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो ।

उहाँले पछिल्ला दिनमा चाडपर्वको नाममा देखिएका केही कमी कमजोरीलाई सच्याउँदै आचरणमा रहेर पर्व मनाउन आग्रह गर्नुभयो । साथै न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा आफू सचेत रहेको धारणा राख्नु भयो ।

कार्यक्रममा समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, एनआईएमबी बैङ्क गौरीघाट शाखाका प्रबन्धक कालिदास पाण्डे, पूर्व अध्यक्ष शङ्कर ज्ञवाली, पोखरा विश्वविद्यालयका सह-प्राध्यापक तुल्सी भण्डारी र गुल्मेली दिदीबहिनी समूहकी अध्यक्ष सीता पौडेललगायत वक्ताहरूले पर्वले आत्मीयता र भाईचारालाई अझ प्रगाढ र बलियो बनाउने उल्लेख गर्नु भयो ।

कार्यक्रम संयोजक डिला पाण्डेले गुल्मीबाट बसाइँसराइ गरी पोखरामा विभिन्न कारणले बसोबास गर्ने चेलिबेटीलाई एकताबद्ध गर्न यो कार्यक्रम विगतका वर्ष झैँ यस वर्ष पनि आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा समाजका आजीवन सदस्य डा. रामनाथ न्यौपाने र सुमन ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष कमलप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रुक्माङ्गत पोखरेलले राख्नुभएको थियो भने सञ्चालन सचिव प्रकाश पुन मगरले गर्नुभएको थियो । कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News