पोखरा । राष्ट्रिय युवा सङ्घ नेपाल गण्डकी प्रदेश कमिटीले सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार, युवा परिचालन, प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा विभिन्न निर्णय गरेको २०८३ साउन ३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
कार्यक्रममा प्रदेश अध्यक्ष रोशन तामाङले जिल्लागत प्रतिवेदनको समीक्षा गर्दै सबै जिल्लामा सङ्गठन विस्तारलाई प्रभावकारी बनाउने, सदस्यता नवीकरण तथा नयाँ सदस्यता अभियान सञ्चालन गरिने बताउनु भयो ।
साथै जिल्ला, पालिका र वडा तहमा बैठक तथा युवा मेला आयोजना गरी सङ्गठनात्मक गतिविधि बढाइने अध्यक्ष तामाङको भनाइ रहेको छ ।
सङ्घले आगामी महिनाभित्र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, प्रदेश, जिल्ला तथा पालिका समितिका पदाधिकारीलाई प्रशिक्षणमा सहभागी गराउने तथा रक्तदान, वृक्षारोपण र युवा साहित्य जागरणजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला, पालिका र वडा तहमा युवा स्वयम्सेवक टोली परिचालन गरिने र बेरोजगारी, युवाको वैदेशिक पलायन, आत्महत्या, महङ्गी, भ्रष्टाचार तथा सुशासनका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नु भयो ।
समसामयिक राजनीतिक विषयमा धारणा व्यक्त गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार र संविधानको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ। साथै सरकारले प्रतिशोधपूर्ण गतिविधि रोक्दै कानुनी शासनको पालना गर्नुपर्नेमा जोड दिएको छ ।
प्रदेश, जिल्ला, पालिका र वडा तहमा सङ्गठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा आगामी तीन महिनाभित्र निर्णय कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिएको प्रदेश कमिटी सचिव किरण ढकालले जानकारी दिनु भयो ।