ललितपुर । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महाशिवरात्रि पर्वका अवसरमा २०८२ फागुन ३ गते ललितपुरका विभिन्न शिवालयहरूमा भक्तजनको उल्लेखनीय घुइँचोसहित पुजापाठ भयो ।
बिहानैदेखि श्रद्धालुहरूले मन्दिर परिसरमा पुगेर भगवान् शिवको पूजाअर्चना, जलाभिषेक तथा बेलपत्र अर्पण गरे ।
हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा मनाइने महाशिवरात्रिलाई शिवपुराणमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको पाइन्छ ।
विभिन्न वैदिक ग्रन्थमा उल्लेख भएअनुसार भगवान् शिवसँग नेपालको पवित्र भूमिको विशेष सम्बन्ध जोडिएको विश्वास गरिन्छ ।
शिवोत्पत्ति भएको मानिने मानसखण्डको भूभाग, शिवको विचरणस्थलका रूपमा परिचित हिमवत्खण्ड तथा निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमै रहनु नेपालीका लागि गौरवको विषय मानिन्छ ।
महाशिवरात्रिको अवसरमा महारुद्रेश्वर गुप्तेश्वर सन्तानेश्वर, कालेश्वर महादेव मन्दिरलगायतका मन्दिरहरूमा विशेष पूजा तथा धार्मिक कार्यक्रम सम्पन्न भएका छन् ।
इकुडोलको माझखण्डमा रहेको महारुद्रेश्वर महादेव मन्दिरमा रुद्राभिशेक हवनसहित विशेष पुजा अर्चना गरिएको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले जानकारी दिनु भयो ।
उहाँले भक्तजनको उल्लेख्य उपस्थितिमा गत वर्षहरुमा झैँ हर्सोल्लासका साथ शिवको पुजा आरधाना गरिएको बताउनु भयो ।
माझखण्डलाई चिनाउने ठूलो परिचय शान्ति र ध्यानको भूमि भएको बागमती गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नवराज तिमल्सिनाले बताउनु भयो ।
उहाँले माझखण्डमा पर्यटकलाई आकर्षित गर्ने महारुद्रेश्वर र यसका अङ्गका साथै बुद्ध विहार र सहिद पार्कलाई व्यवस्थित बनाउँदै प्रभावकारी प्रचारको काम थालिएको बताउनु भयो ।
बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोली फुट्ने जनविश्वास रहेको स्थानीय हिरामान तामाङले बताउनु भयो ।
पानी नपरेर सुख्खा खँडेरी भएमा महादेवको दर्शन गरी पानी माग्दा पानी पर्ने लोकउक्ति रहेको र यहाँ पुजापाठ गरेमा गाईबस्तु पशुपंछी र अन्नबाली उत्पादनमा राम्रो हुने किम्बदन्ती रहेको मन्दिरका पुजारी खड्गध्वज थापाले बताउनु भयो ।
मन्दिरमा पुजापाठका लागि पुग्नुभएका पण्डित विष्णु पौडेलले महारुद्रेश्वरको महिमाबारे चर्चा गर्दै भन्नु भयो दक्षको यज्ञस्थल माझखण्ड नै रहेको यस वरपर रहेका प्रमाणले बताउने उल्लेख गर्नु भयो ।

पण्डित विष्णु पौडेलकै शब्दमा महारुद्रेश्वरको महिमा
दक्ष प्रजापतिको यज्ञस्थल ललितपुरको माझखण्ड नै हो भन्ने प्रमाण यथेष्ट छन् । जुन शिव पुराण होस् वा हिमवतखण्ड नै किन नहोस् । स्वस्थानी होस् वा अन्य धार्मिक ग्रन्थ नै किन नहोस् । ति ग्रन्थहरुमा शिव महिमा व्यापक छ । कल्पकल्पका कुरा वर्णन गरिएको छ । ति पुस्तकहरुमा दक्ष प्रजापतिको यज्ञस्थल, वरपरको परिवेश र संरचनाबारे उल्लेख छ । जुन कुरा ललितपुरको माझखण्डमा छ । लेखिएका पुस्तक र देखिएका प्रमाणलाई तुलना गर्दा यति धेरै विषय यहाँ मिलेकाले गर्दा दक्ष प्रजापतिको यज्ञस्थल माझखण्डमा नै थियो भन्न सकन्छि । अहिले मन्दिरको पुनर्निर्माण र संरक्षणका काम अघि बढाइएको छ । जसका कारण सबै प्रमाण अहिले नै प्रस्तुत गर्नु उपर्युक्त हुँदैन । सुरक्षाका दृष्टिले पनि संरक्षणका दृष्टिले पनि केही विषय बोलिहालेमा नोक्सान हुने खतरा छ । केहीकेही जानकारी पहिले नै भएकाले सङ्कट उत्पन्न भइसकेको छ । मानिसलाई पिर्न थालेको छ । जुन राम्रो होइन । हामी मानव कल्याण चाहन्छौँ । पछि हामी एकएक गरी सबै प्रमाण देखाउन सक्छौँ । जुन कुरा थोरैले मात्रै जाने बुझेको वा सोचेको हुन सक्छ ।