मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विश्वको जनसङ्ख्या आठ अरब २३ करोड, भारत पहिलो, चीन दोस्रो र नेपाल ५२ औँ स्थानमा

ललितपुर । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । 

युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाउने यो वर्षको जनसङ्ख्या दिवसको नारा हो ।

राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २ सय वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो ।

सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । अहिले आठ अर्ब २३ करोडभन्दा बढी रहेको वल्डोमिटरले देखाएको छ ।

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ ।

विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेका अध्ययनको निष्कर्ष छ । 

जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । 

राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले १४ देशका १४ हजारभन्दा बढी मानिससँग गरेको सर्वेक्षणअनुसार प्रजनन उमेरका अधिकांश वयस्कले इच्छाअनुसार बच्चा नजन्माउनुको कारण बालबालिकाको हेरचाहमा समस्या, रोजगारीको असुरक्षा, स्वास्थ्य, जलवायु परिवर्तन, महामारी, युद्ध र वातावरणीय क्षतिलाई मानिएको छ ।

विश्वमा सबैभन्दा बढी जनसङ्ख्या भारतमा छ । दोस्रो नम्बरमा चीन रहेको छ ।

छिमेकी मुलुक पहिलो र दोस्रोमा रहँदा नेपाल भने ५२ औँ स्थानमा रहेको वल्डोमिटरले देखाएको छ ।

अमेरिका तेस्रो स्थानमा तथा पाकिस्तान पाँचौँ र बङ्गलादेश आठौँ स्थानमा रहेको छ । (फोटो साभारः https://www.reddit.com/r/dataisbeautiful/comments/60zdgl/countries_by_population_size_oc/#lightbox)

Author

Related News