मानव आवाज

२०८२ चैत्र ३ गते
00: 00: 00
२०८२ चैत्र ३ गते

सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी पोखरामा सुरू

पोखरा नेपाल सरकार, खानेपानी मन्त्रालयको आयोजना तथा खानेपानी तथा ढल व्यवस्थापन विभागको समन्वयमा, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कास्की र भक्तपुरको व्यवस्थापनमा “सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी” २०८२ चैत ३ गतेदेखि पोखरामा सुरू भएको छ ।

कार्यक्रमको उद्घाटन खानेपानी मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन सत्रमा बोल्दै सहसचिव पण्डितले कुनै पनि योजनाको कार्यसम्पादन गर्दा मूल्याङ्कन प्रणाली, टेण्डर प्रक्रियामा पारदर्शिता तथा सुशासनयुक्त र गुणस्तरीय कार्यसम्पादनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले दूरदृष्टि, लक्ष्य, मूल्यमान्यता तथा कार्यसम्पादन सूचक निर्धारणमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गर्नु भयो ।

पण्डितका अनुसार समग्र परियोजनाको रणनीति निर्माण गर्नुका साथै अपेक्षित विकास हुन नसक्नुका कारण, चुनौती र अवरोधहरूको पहिचान गर्नु पहिलो कर्तव्य हो ।

उहाँले आगामी दिनमा स्वीकृत बजेटको परिधिभित्र रही समयसीमाअनुसार परियोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नु भयो ।

कार्यक्रमलाई प्रभावकारी बनाउँदै आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी बनाउन कार्यालय प्रमुख, लेखा अधिकृत तथा सम्बन्धित कर्मचारीहरूको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्रालयका महानिर्देशक कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रत्नप्रसाद लामिछाने तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका सचिव देवराज निरौलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा विभिन्न विषयगत विज्ञहरूले सहजीकरण गर्नेछन् । कार्यशालाअन्तर्गत उपसचिव (लेखा) लक्ष्मीप्रसाद जोशीले आर्थिक अनुशासन, बेरुजु तथा फछ्र्यौट सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यसैगरी महालेखा परीक्षकको कार्यालयका निर्देशक ताराकुमार सुवेदीले बेरुजु लेखनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो भने खानेपानी विभागका प्रमुख लेखा नियन्त्रक दिलकुमार खड्काले बेरुजुको अवस्था र फछ्र्यौटबारे जानकारी दिनु भयो ।

कार्यशालामा बेरुजु लेखन र फाइल व्यवस्थापनसम्बन्धी विषयमा समूहगत छलफलसमेत गरिएको थियो ।

कार्यक्रम खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद उपाध्यायको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्वागत कास्की कार्यालयका प्रमुख पदमबहादुर कुँवर क्षेत्रीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन उपसचिव मुकुन्द शर्माले गर्नुभएको थियो ।

कार्यशालामा भक्तपुर, रामेछाप, चितवन, लमजुङ, कास्की लगायत विभिन्न जिल्लाका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख, लेखा प्रमुख तथा प्रतिनिधिहरू गरी करिब ६५ जनाको सहभागिता रहेको छ ।

Author

Related News