मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विवाहेत्तर सम्बन्धको विवादमा महिलाको हत्या, दुई जना पक्राउ

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुलीको तीनपाटन गाउँपालिका–२ पहिरेकी ४० वर्षीया छत्रकुमारी कार्की (थापा) को हत्या विवाहेत्तर सम्बन्धको विवादका कारण भएको प्रहरीले खुलासा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कात्तिक २७ गते पत्रकार सम्मेलन गरी हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको जनाएको हो । एक जना भने पक्राउ पर्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार छत्रकुमारीको हत्या परिवारभित्रकै तीन जनाले मिलेर गरेका हुन् । घाँटीमा सल बाँधेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

दुधौली नगरपालिका–१३ का ३१ वर्षीय सूर्यबहादुर (सुरज) कामी र सुरजका २० वर्षीय भाञ्जा टङ्कबहादुर कामी पक्राउ परेका प्रहरीले जनायो ।

हत्या गरिएको दिन कात्तिक १७ गतेदेखि हराएकी छत्रकुमारीको शव कात्तिक २१ गते तीनपाटन–१ बेलघारीस्थित झोलुङ्गे पुल छेउको सिसौघारीमा भेटिएको थियो ।

हराएको दिनको भोलिपल्ट छत्रका पति तिलकबहादुर लकाईले इलाका प्रहरी कार्यालय बेलघारीमा खोजतलासको रिपोर्ट दर्ता गराउनु भएको थियो । शव भेटिएको स्थान प्रहरी कार्यालयको झण्डै ३ सय मिटर दूरीमा पर्छ ।

पोस्टमार्टम रिपोर्टमा छत्रकुमारीको मृत्यु ‘स्ट्याङ्गुलेसन’ अर्थात निसास्सिएर भएको पुष्टि भएको छ ।

शवमा देखिएका क्षति जङ्गली जनावरका कारण हुन सक्ने प्रहरीको अनुमान छ । मुख्य अभियुक्त सूर्यबहादुरले सल कसेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।

अनुसन्धानमा छत्रकुमारी र सूर्यबहादुरबिच केही समयअघि बसयात्राका क्रममा चिनजान भई निरन्तर फोन सम्पर्क र भेटघाट हुँदै आएको पाइएको छ ।

सूर्यबहादुरकी पत्नीले विवाहेत्तर सम्बन्धबारे थाहा पाएपछि भएको विवादले हत्या योजना बन्न पुगेको प्रहरीको निष्कर्ष छ ।

छत्रकुमारीले आफूलाई बलात्कार मुद्दा लगाइदिन सक्ने चेतावनी दिएको र त्यसपछिका दिनमा हत्या योजना तयार भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुख्य आरोपित सूर्यबहादुर विगतमा समेत आपराधिक गतिविधिमा संलग्न व्यक्ति रहेको खुलेको छ ।

सूर्यबहादुर २०७९ मङ्सिर १८ गते १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जेल परेकोसमेत प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

Author

Related News