मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दशैँ–तिहार लक्षित उपहार योजनाका विजेता सार्वजनिक

पोखरा । पोखरा व्यापारी केन्द्रस्थित बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनले नेपाली चाडपर्व दशैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘दशैँ–तिहार उपहारै उपहारको बहार’ योजनाअन्तर्गत अन्तिम पुरस्कार विजेताहरू सार्वजनिक गरेको छ ।

लक्की ड्रमार्फत २० हजार रुपियाँ बराबरको सपिङ भौचर जित्ने टिकट नम्बरहरू ७१९४८, ३८४६५, ८६९८७, २७१२७ र ६८३०७ रहेका छन् ।

त्यस्तै, मङ्सिर महिनाको मासिक विशेष उपहारअन्तर्गत ५ हजार रुपियाँ बराबरको सपिङ भौचर जित्ने टिकट नम्बरहरू ५२७०६, ५३६६६, ५७०६० र ६३६२३ रहेका छन् ।

एशोसिएसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले उपहार योजनाअन्तर्गत बुद्ध विशाल बजारभित्रका कुनै पनि पसलबाट ५ सय रुपियाँको सामान खरिद गर्दा एक र १ हजार ५ सय रुपियाँभन्दा बढीको खरिदमा दुई ओटा उपहार कुपन निःशुल्क उपलब्ध गराइएको जानकारी दिनु भयो ।

योजना भदौ महिनादेखि सुरु भई मङ्सिर २७ गतेसम्म सञ्चालन गरिएको थियो । मासिक विशेष उपहारअन्तर्गत चार जनालाई ५ हजार रुपियाँ बराबरको सपिङ भौचर र अन्तिम लक्की ड्रमार्फत पाँच जनालाई २० हजार रुपियाँ बराबरको सपिङ भौचर प्रदान गरिएको उहाँले बताउनु भयो ।

खत्रीले व्यवसायीहरूमा एकरूपता र सहकार्य भए संस्था बलियो हुने उल्लेख गर्दै व्यक्ति भन्दा संस्था ठूलो हुने धारणा व्यक्त गर्नु भयो ।

संस्थाका अध्यक्ष बुद्धबहादुर कुँवरले चार दशकभन्दा लामो व्यवसायिक विरासत बोकेको बुद्ध विशाल बजार नाफामुखीभन्दा पनि गुणस्तरीय सेवा र सामान बिक्रीमा केन्द्रित रहेको बताउनु भयो ।

विगतदेखि नै चाडपर्वका अवसरमा विभिन्न उपहार योजनामार्फत ग्राहक आकर्षित गर्दै आएको एशोसिएसनले यस वर्ष धेरैभन्दा धेरै ग्राहक समेट्ने उद्देश्यले उक्त योजना ल्याएको उहाँले जानकारी दिनु भयो ।

संस्थाका सल्लाहकार माधवप्रसाद सिग्देलले नेपाली चाडपर्वलाई लक्षित गरी ल्याइने यस्ता उपहार कार्यक्रमले बजारको आकर्षण बढाएको उल्लेख गर्दै बुद्ध विशाल बजार पोखरामा सपिङका लागि पहिलो रोजाइमा पर्ने गरेको बताउनु भयो ।

कार्यक्रममा एशोसिएसनका सदस्यहरूमध्ये सबैभन्दा धेरै उपहार कुपन बिक्री गर्ने व्यवसायीका रूपमा डिजायर कलेक्सनका सञ्जय श्रेष्ठ र लुंगी हाउसका लालसिंह राना मगरलाई सम्मान गरिएको थियो ।

बुद्ध विशाल बजारमा २ सय ४० सटर रहेका छन् भने १ सय ९१ सदस्य आबद्ध छन् । फेन्सी, कस्मेटिक, इलेक्ट्रोनिक्स, मोबाइललगायतका सामानको खरिद–बिक्री हुने यस बजारबाट ३ हजार ५ सयदेखि ४ हजारसम्मले प्रत्यक्ष रोजगारी पाएका छन् ।

कार्यक्रममा संस्थाका सचिव शान्ति श्रेष्ठ जोशीले स्वागत मन्तव्य दिनु भयो भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Author

Related News