ललितपुर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेकपा एमालेमा पुनरागमनको चर्चा फेरि चर्किएको छ ।
एमालेसँग एकताको सम्भावनाबारे दुवै पक्षले आफ्ना आधारहरू सार्वजनिक गरेपछि पुनर्मिलनको बाटो खुला भएजस्तो देखिए पनि वैचारिक दूरी अझै कायम रहेको प्रष्ट देखिन्छ ।
खनालले एकताको पूर्वशर्तस्वरूप मार्क्सवाद-लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने र जनताको बहुदलीय जनवाद (जबज) जस्ता ‘पुच्छर’ हटाउनुपर्ने धारणा प्रस्तुत गर्नु भएको छ ।
उहाँका अनुसार अहिलेको युग समाजवादी क्रान्तिको हो र त्यस दिशामा स्पष्ट नीति, सिद्धान्त र कार्यदिशामा एकरूपता आवश्यक छ ।

त्यस्तै एमाले सचिव योगेश भट्टराईले भने एकताको लागि जबजलाई सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने, पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदानको निरन्तरता कायम राख्नुपर्ने र हालको राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरी पार्टीलाई आगामी प्रतिस्पर्धाका लागि सबल बनाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
दुवै नेताका आधारलाई हेर्ने हो भने मुख्य गरी विचारमा नै भिन्नता रहेका कारण एकीकरणको सम्भावना देखिँदैन । तर, बारम्बार एमालेबाट विभाजनको औचित्य पुष्टी नभएको बताउँदै आउनु भएका नेता नेपालले आफू पूर्व अध्यक्ष रहेको पार्टी नेकपा एमालेमा नै जाने सम्भावनालाई नकार्न सकिँदैन ।
खनाल र भट्टराईका दृष्टिकोणबिचको यो वैचारिक अन्तरले तत्काल एकता सम्भावना कमजोर देखाए पनि पार्टी एकताको बहसले वाम राजनीतिलाई पुनः केन्द्रमा ल्याएको छ ।