मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मानसिक स्वास्थ्य समस्या समाधानका लागि गम्भीर छौं : स्वास्थ्यमन्त्री पाठक

पोखरा । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, पोखराको आयोजनामा र कोशिश नेपालको समन्वयमा “मानसिक स्वास्थ्यसम्बन्धी बहुपक्षीय सरोकारवाला बीचको कार्यशाला गोष्ठी” २०८२ असोज २९ गते पोखरामा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले मानसिक स्वास्थ्य सबै व्यक्तिसँग सम्बन्धित विषय भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले मानसिक स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै यसलाई सामाजिक समस्या मान्दै समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।

मन्त्री पाठकले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मानसिक स्वास्थ्यसम्बन्धी औषधि निःशुल्क र सर्वसुलभ बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका अधिकृत प्रशान्तराज शर्माले तीन वर्षमा मानसिक स्वास्थ्य क्षेत्रका कार्यक्रम, विनियोजित बजेट र कार्यान्वयन अवस्थामाथि विश्लेषण तथा छलफल गरिएको बताउनु भयो ।

कार्यशालामा भएका छलफलका आधारमा मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि बहुपक्षीय कार्ययोजना तयार गरिने पनि उहाँले जानकारी दिनु भयो ।

आत्महत्या रोकथाममा नेपाल सरकारका पहलहरू

  • दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत सन् २०१६ देखि २०३० भित्र आत्महत्याबाट हुने मृत्यु दर १ लाख जनसंख्यामा १६.५ बाट ४.७ मा झार्ने प्रतिबद्धता ।
  • मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन दिन नहुने कानूनी व्यवस्था ।
  • सन् २०७७ देखि मानसिक अस्पताल, लगनखेलमार्फत आत्महत्या रोकथामका लागि २४ घण्टा सञ्चालनमा रहेको ११६६ हटलाइन सेवा
  • राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रद्वारा २०८० सालमा “आत्महत्या रोकथामसम्बन्धी सञ्चारकर्मी मार्गदर्शन” कार्यान्वयनमा ल्याइएको ।

गोष्ठीमा पाँच ओटा विषयमा छलफल गरिएको थियो । कोशिश नेपालकी एड्भोकेसी संयोजक थमकुमारी कुँवरले गण्डकी प्रदेशमा संस्थाले सञ्चालन गरिरहेका मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम र तिनका उपलब्धिबारे सहजीकरण गर्नु भयो ।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुजाता अधिकारीले मानसिक स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम र उपलब्धिबारे प्रस्तुतिकरण गर्नु भयो ।


प्रदेश जनस्वास्थ्य कार्यालय, कास्कीकी जनस्वास्थ्य अधिकृत सीता अर्यालले मानसिक स्वास्थ्यसम्बन्धी सरकारी कार्यक्रमका बारेमा जानकारी दिनु भयो ।


गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रमेशकुमार केसीले तीन वर्षमा मानसिक स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि, चुनौती र आगामी योजना साथै बजेट व्यवस्थापनबारे सहजीकरण गर्नु भयो ।

गोष्ठीमा गण्डकी प्रदेशको मानसिक स्वास्थ्य अवस्था र बहुपक्षीय कार्ययोजना तयारीका लागि सहभागीहरूलाई चार समूहमा विभाजन गरी छलफल गरिएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दुर्गा लामिछाने, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख मुना अधिकारी, कोशिश नेपालकी केन्द्रीय अध्यक्ष सीतादेवी ओझा, गैरसरकारी संस्था महासङ्घ गण्डकीका अध्यक्ष पदमराज पहारी, कोपिला नेपालकी उपाध्यक्ष रमा घिमिरे पौडेल, मानव अधिकार आयोग पोखराका अधिकृत खिमलाल सुबेदी र रेडियो सराङकोटका समाचार प्रमुख कमलप्रसाद पौडेल “अथक” लगायतका वक्ताहरूले मानसिक स्वास्थ्य संस्थाहरूको विवरण अद्यावधिक गर्नुपर्ने र महानगरका वडा तथा शहरी स्वास्थ्य चौकीहरूमा स्थायी मनोविमर्शकर्ता (काउन्सिलर) को आवश्यकता रहेको सुझाव राख्नु भयो ।

कार्यक्रम गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. रमेशकुमार केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन मन्त्रालयका अधिकृत बुद्धिसागर अधिकारीले गर्नुभएको थियो ।

गोष्ठीमा स्वास्थ्य तथा सामाजिक क्षेत्रका सरोकारवाला गरी ४१ जना सहभागी रहेको सामाजिक सामुदायिक अभियनकर्ता यूमाया थापाले जानकारी दिनु भयो ।

Author

Related News