मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

उद्यमशीलताको प्रवर्धनमा निरन्तर प्रयासरत छौँ: वडाअध्यक्ष शाही

पोखरा । पोखरा महानगरपालिका-१७ की वडाअध्यक्ष राधिकाकुमारी शाहीले स्थानीय महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउँदै उद्यमशीलताको प्रवर्धन गर्न वडा कार्यालय निरन्तर सक्रिय रहेको बताउनुभएको छ ।

मैनबत्ती बनाउने तीनदिने तालिमको समापन समारोहमा बोल्दै उहाँले यस्ता कार्यक्रमले स्वरोजगार र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका-१७ ले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यका साथ सञ्चालन गरेको मैनबत्ती बनाउने तीनदिने तालिम सम्पन्न गरेको छ ।

“सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित आयोजित तालिममा ५० जना महिलाले सहभागिता जनाएका छन् ।

पोखरा महानगरपालिका-१७ को कार्यालय र कास्की पोखरा हस्तकला सङ्घको संयुक्त आयोजनामा घले हस्तकला प्रशिक्षण केन्द्र, पोखरा-१७ विरौटामा २०८३ जेठ २७ देखि २९ गतेसम्म सञ्चालित तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष राधिकाकुमारी शाहीले वडावासी महिलाहरूलाई सीप प्रदान गरी आत्मनिर्भर बनाउने तथा उद्यमशीलताको प्रवर्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभएको हो ।

उहाँले स्थानीय स्तरमै स्वरोजगारका अवसर सिर्जना गर्न तथा हस्तकलाको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

वडा कार्यालयले पछिल्लो समय मौरीपालन व्यवसायीका लागि तालिम, कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी १० दिने तालिम, सिलाइकटाइ तालिम, मादल बजाउने तालिम तथा समुदायस्तरमा नसर्ने रोगको पहिचान र उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक रितु घलेका अनुसार तीनदिने तालिमबाट ५० जना महिलाहरू दीक्षित भएका छन् ।

तालिमले सहभागीहरूलाई मैनबत्ती उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरेको उहाँले बताउनुभयो ।

कास्की पोखरा हस्तकला सङ्घकी संस्थापक अध्यक्ष हिरा भट्टराईले यस्ता सीपमूलक तालिमहरूले स्थानीय उत्पादनको प्रवर्धन गर्नुका साथै महिला तथा युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

तालिममा मुख्य प्रशिक्षक रत्न शाक्य तथा प्रशिक्षक लक्ष्मी गुरुङले मैनबत्ती निर्माणका विभिन्न प्रविधि, आवश्यक सामग्रीको प्रयोग तथा यसको व्यावसायिक सम्भावनाबारे व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।

कास्की पोखरा हस्तकला सङ्घकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरूले तालिमबाट प्राप्त सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आयआर्जनका अवसर सिर्जना गर्न सहभागीहरूलाई आग्रह गरेका थिए ।

साथै, उत्पादित सामग्रीको बजारीकरण तथा व्यवसाय विस्तारका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।

तालिममा पोखरा महानगरपालिका-१७ सहित आसपासका वडाका ५० जना महिलाको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार