मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

सरकारी परिपत्र फिर्ता नलिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

रुद्रबहादुर खड्का, काठमाडौँ

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णयको विरोधमा नेपाल पत्रकार महासङ्घले सरोकारवालासँग छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई जारी गरिएको परिपत्रप्रति असहमति जनाउँदै महासङ्घले आज आफ्नो केन्द्रीय कार्यालयमा छलफल आयोजना गरेको हो ।

छलफलमा सहभागी पत्रकारहरूले उक्त निर्णयलाई गैरलोकतान्त्रिक र विभेदकारी भएको टिप्पणी गरेका छन् ।

उनीहरूले यस कदमले पत्रकारहरूको हक, रोजगारी तथा प्रेस स्वतन्त्रतामा प्रत्यक्ष असर पर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले तीन दिनभित्र उक्त निर्णय फिर्ता लिन सरकारलाई अल्टिमेटम दिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तोकिएको समयभित्र निर्णय फिर्ता नभए देशभरका पत्रकारहरू सडकदेखि सदनसम्म सशक्त आन्दोलनमा उत्रनेछन् ।

छलफलबाट स्थानीय, प्रदेश र केन्द्रका पत्रकारहरू संयुक्त रूपमा आन्दोलन गर्ने निष्कर्ष निकालिएको महासङ्घले जनाएको छ ।

महासङ्घले सरकारी निर्णयले निजी सञ्चारमाध्यमहरूलाई कमजोर बनाउने र पत्रकारहरूको पारिश्रमिकमा समेत असर पर्ने चेतावनी दिएको छ ।

“सरकारको एकाधिकार लाद्ने निर्णय अस्वीकार्य छ, आवश्यक परे कडा प्रतिवादमा उत्रनेछौं ।”-महासङ्घद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

Author

Related News