मानव आवाज

२०८३ जेष्ठ २५ गते
00: 00: 00
२०८३ जेष्ठ २५ गते

वडास्तरीय बाल म्याराथन प्रतियोगिता सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली

कमलामाई नगरपालिका वडा नं. ९ को आयोजनामा वडा स्तरीय बालबालिकाहरुका लागि म्याराथन प्रतियोगिता २०८२ चैत ५ गते सम्पन्न भएको छ ।

वडा क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, वडा स्तरीय बाल क्लब, न्यायिक समिति, नेपाल रेडक्रस सोसाइटी भिमान, युवा क्लब, वडा परिवार तथा स्थानीय भद्र भलादमीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा करिब ३ सय ५० जना बालबालिकाले भाग लिएका थिए ।

प्रतियोगिता चार ओटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि यस्ता खेलकुद कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले विद्यार्थीहरूको पढाइसँगै अतिरिक्त क्रियाकलापले उनीहरूको क्षमता विकास र चेतना अभिवृद्धिमा टेवा पुर्‍याउने धारणा व्यक्त गर्नु भयो ।

यसैगरी नगर उपप्रमुख मञ्जु देवकोटाले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष विनोद प्रधानले सहभागी, सहयोगी निकाय तथा उपस्थित महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन गर्नु भयो ।

कार्यक्रमको सञ्चालन वडा नं. ९ का वडा सचिव सुमित्राकुमारी चौहानले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Author

Related News