रूद्रबहादुर खड्का, सिन्धुली ।
वीपी राजमार्ग अन्तर्गत नेपालथोक-धुलिखेल खण्डमा बाढीले बगाएको भाग मर्मत गरी २०८२ असोज २४ गतेदेखि पुनः यातायात सञ्चालन गरिएको छ ।
सिन्धुलीतर्फ तीन र काभ्रेतर्फका १३ स्थानमा अस्थायी डाइभर्सन सडक निर्माणपछि राजमार्ग सुचारु भएको हो ।
२०८२ असोज १८ र १९ गतेको अविरल वर्षाले रोशी खोलामा आएको बाढीका कारण अस्थायी ट्र्याक सडकका १६ स्थान बग्दा करिब ३.५ किलोमिटर सडक अवरुद्ध भएको थियो ।
निर्माण टोलीले पाँच दिनभित्र अस्थायी डाइभर्सन तयार गरेपछि आजदेखि मोटरसाइकल र साना सवारी साधन सञ्चालनमा आएका छन् ।
निर्माणस्थलमा रहेका मुलकोटका होटल व्यवसायी मनोज श्रेष्ठका अनुसार भकुण्डे हुँदै माम्ती आउने सवारी चल्न थालेका छन् ।
माम्ती नजिकको पहिरो पन्छाउने काम जारी छ भने केही साना सवारी साधनले मार्ग पार गर्न थालेका छन् ।
गत वर्षको असोज महिनामा आएको बाढीले नेपालथोकदेखि चौकीडाँडासम्मको करिब २२ किलोमिटर सडकको आधाजसो भाग बगाएको थियो ।
यो खण्डलाई तीन भागमा विभाजन गरी पुनर्निर्माणका लागि ठेक्का प्रदान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दुईपटक स्थलगत निरीक्षण गरी द्रुत गतिमा काम गर्न निर्देशन दिनु भएको छ ।
हाल वीपी राजमार्गका धुलिखेल-सिन्धुली-वर्दिवास तीनै खण्ड सञ्चालनमा आएका छन् । नेपालथोक-धुलिखेल खण्ड पनि खुलिसकेकाले सम्पूर्ण मार्ग अवरोधमुक्त भएको छ ।
यद्यपि, प्रहरीले अत्यधिक सवारी चापले जाम हुन सक्ने भन्दै २०८२ असोज २५ गतेदेखि मात्र डाइभर्सन प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।