पोखरा । आसन्न फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई प्रभावकारी र व्यवस्थित बनाउन प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराले कास्की जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ ।
यसै क्रममा पोखरा महानगरपालिकामा २०८२ माघ २८ गते मतदाता शिक्षा तालिम निर्वाचन कार्यालयको सभा कक्षमा सम्पन्न भएको छ ।
तालिममा पोखरा महानगरपालिकाका ३३ ओटै वडाबाट ३३ जना मतदाता शिक्षा महिला स्वयम्सेविकाहरूको सहभागिता रहेको थियो । सहभागी स्वयम्सेविकाहरूलाई मतदान प्रक्रियाबारे विस्तृत जानकारी दिइएको थियो ।
प्रदेश निर्वाचन अधिकारी एवम् मतदाता शिक्षा कार्यक्रम अनुगमन समितिका संयोजक नारायण ढकाल, सूचना अधिकारी एवम् प्रवक्ता रूद्र न्यौपाने, पोखरा महानगरपालिकाका उपसचिव एवम् अनुगमन समितिका सदस्य कृष्ण तिवारी तथा मतदाता शिक्षा अनुगमनकर्ता एवम् फोकल पर्सन ईश्वरीप्रसाद पोखरेलले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा मतपत्रमा छाप लगाउने सही तरिका, आफूले रोजेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी एक मतपत्रमा एक छाप मात्र लगाउनुपर्ने व्यवस्था, सदर र बदर मतको अन्तर, पहिलो र दोस्रो मतपत्र, मतदान समय र स्थल, मतदानको गोपनीयता तथा निर्वाचन आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
तालिमपछि स्वयम्सेविकाहरूले २०८२ माघ २९ गतेदेखि कार्ययोजना तयार गरी फागुन ३ गतेदेखि फागुन १८ गतेसम्म सम्बन्धित वडाका टोल विकास संस्था, आमा समूह तथा समुदायस्तरमा वडा कार्यालयको समन्वयमा मतदाता सचेतना कक्षा सञ्चालन गर्ने जनाइएको छ ।
प्रदेश निर्वाचन अधिकारी नारायण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मतदाता शिक्षा अनुगमनकर्ता ईश्वरीप्रसाद पोखरेलले गर्नुभएको थियो ।
यसैबिच, २०८२ माघ २८ गते नै माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा मतदाता शिक्षा तालिम सुरु गरिएको छ भने भोलि रूपा र मादी गाउँपालिकामा तालिम सञ्चालन गरिने सूचना अधिकारी एवम् प्रवक्ता रूद्र न्यौपानेले जानकारी दिनु भयो ।