पोखरा । गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार बिमला भण्डारीले पत्रकारितामा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगलाई ‘सोख’ मात्र नभई ‘अस्तित्वको लडाइँ’ का रूपमा बुझ्नुपर्ने बताउनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीद्वारा पोखरामा आयोजित “डिजिटल युगको पत्रकारिता : खेलकुद पत्रकारितामा एआई” विषयक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले डिजिटल युगमा पत्रकारहरू प्रविधिमैत्री बन्नु अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
“स्वास्थ्य र समृद्धिका लागि खेलकुद” भन्ने मूल नारासहित असार ५ र ६ गते सञ्चालन हुने दुईदिने तालिम खेलकुद पत्रकारितामा एआईको प्रयोग, अवसर, चुनौती तथा सावधानीबारे केन्द्रित रहेको आयोजकले जनाएको छ।
“एआई पत्रकारको विकल्प होइन, सहयोगी हो,” रजिस्ट्रार भण्डारीले भन्नुभयो, “यसले पत्रकारलाई विस्थापित गर्ने होइन, क्षमताको विस्तार र कार्यदक्षता अभिवृद्धि गर्ने काम गर्छ ।”
उहाँले पत्रकारिता परम्परागत कलम र डायरीबाट डेटा तथा एल्गोरिदममा आधारित अभ्यासतर्फ अग्रसर भइरहेको उल्लेख गर्दै तथ्य परीक्षण, सूचना विश्लेषण र विश्वव्यापी पहुँचका लागि एआई अपरिहार्य बन्दै गएको बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान व्यवहारमा कत्तिको प्रयोग भयो भन्ने विषयमा निरन्तर अनुगमन र मूल्याङ्कन गरिने पनि उहाँले जानकारी दिनुभयो ।
“एआई आफैँमा पूर्ण छैन ।” उहाँले भन्नुभयो, “यसलाई मानवीय संवेदना, नैतिकता र विवेकले नै पूर्णता दिन्छ । प्रविधिलाई साधन बनाउनुहोस्, तर साध्य सत्य र तथ्यमा आधारित पत्रकारिता नै हुनुपर्छ ।”
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष दीनानाथ बराल खेलकुद पत्रकारितालाई समयसापेक्ष र प्रविधिमैत्री बनाउन मञ्चले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष माधव रेग्मीले तालिम खेलकुद पत्रकारिताका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सहभागीहरूको दक्षता अभिवृद्धिसँगै तालिमपछिको निरन्तर अनुगमन आवश्यक रहेको बताउनुभयो ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले यस्ता तालिमले पत्रकारहरूको व्यावसायिक क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सिकेका सीपको व्यवहारिक प्रयोग र त्यसको प्रभावकारिताबारे सहजीकरण तथा अनुगमन गरिनुपर्ने धारणा राख्नुभयो ।
तालिममा गोरखापत्र दैनिकका सहसम्पादक अजय शर्माले खेलकुद पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रयोग, सम्भावना र सावधानीबारे प्रशिक्षण दिनुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका पूर्वअध्यक्ष एकराज गिरी, कानुनी सल्लाहकार मनोज घर्ती मगर, नेपाल फोटो पत्रकार महासङ्घ कास्कीका अध्यक्ष राम गुरुङ तथा नेवा पत्रकार पुचःका अध्यक्ष अनिशा श्रेष्ठले एआईको व्यावहारिक प्रयोग, अवसर र चुनौतीबारे आआफ्ना धारणा राख्नुभएको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमभी आस्था मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेलले उद्देश्य तथा स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव परशुराम शर्माले गर्नुभएको थियो।