ललितपुर । अमेरिकाले नेपाल सरकारले मानवअधिकार उल्लङ्घनमा संलग्न अधिकारीहरूलाई छानबिन गर्ने विश्वसनीय प्रयासहरू गरेपनि दोषी ठहर गरिएका अधिकारीहरूलाई नियमित रूपमा दण्डित नगरेको उल्लेख गरेको छ ।
अमेरिकाले सार्वजनिक गरेको २०२४ को मानव अधिकार प्रतिवदेनमा वर्षभरि नेपालमा मानवअधिकारको अवस्थामा गत वर्षभन्दा कुनै महत्वपूर्ण परिवर्तन नदेखिएको उल्लेख छ ।
संविधान र कानुनले अभिव्यक्तिको स्वतन्त्रता, प्रेस तथा अन्य सञ्चार माध्यमका सदस्यहरूका लागि सुनिश्चित गरे पनि मानवअधिकार कानुनविद्हरू र केही पत्रकारहरूले संविधान र कानुनहरू अस्पष्ट भएको र त्यसले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सीमित गर्न सक्ने ठाउँ दिएको बताएको प्रतिवदेनमा छ ।
प्रतिवेदनमा गैरकानुनी हत्या, यातना वा अमानवीय, क्रूर, अपमानजनक व्यवहार वा सजाय, थुना, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध, गैरन्यायीक गिरफ्तारीहरू र जबरजस्ती श्रमसहितको मानव बेचबिखन लगायतका विषयमा केन्द्रित रहेर प्रतिवेदन बनाइएको छ ।