ललितपुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब ६ लाख चिनियाँ विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गर्नु भएको छ ।
चीनसँग चलिरहेको भन्सार शुल्क वार्ताकाबिच उहाँले विद्यार्थी प्रवेशबारे उठेका अफवाहलाई असत्य भएको बताउँदै भन्नु भयो-“हामी उनीहरूलाई भित्र आउन दिनेछौँ, यो धेरै महत्त्वपूर्ण छ ।”
फक्स न्युजका अनुसार हाल करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयमा अध्ययनरत छन् ।
ट्रम्पका अनुसार विद्यार्थीको उपस्थितिले अमेरिका-चीन सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत गर्नेछ ।
अमेरिका–चीनबिच व्यापारिक तनाव कायमै छ । यस वर्ष सुरुमा अमेरिकाले सबै चिनियाँ सामानमा १४५ प्रतिशतसम्म कर लगाएको थियो भने चीनले जबाफी रूपमा अमेरिकी निर्यातमा १२५ प्रतिशत कर बढाएको थियो ।
जेनेभामा भएको वार्ताले केही कर रोके पनि ट्रम्पले पछिल्लो समय चिनियाँ म्याग्नेटमा २०० प्रतिशत कर घोषणा गर्नु भएको छ ।
गत मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिक, विशेषगरी कम्युनिस्ट पार्टीसँग नजिक वा संवेदनशील अनुसन्धानमा संलग्न व्यक्तिहरूको भिसा रद्द गर्ने योजना सार्वजनिक गर्नु भएको थियो । तर, ट्रम्पले भने विद्यार्थीलाई स्वागत गर्ने पक्षमा आफू निरन्तर रहेको स्पष्ट पार्नु भएको छ ।
यससँगै उहाँले चिनियाँ राष्ट्रपति सीसँगको सम्बन्धलाई “महत्त्वपूर्ण” भन्दै चीनसँग अझ राम्रो गर्न सकिने विश्वास व्यक्त गर्नु भएको छ ।
(फोटोः https://www.mijngroeve.nl/history/america-first-vs-china-first/ बाट साभार)