सिन्धुली । रसुवा जिल्लाको भोटेकोशी, त्रिशूली हुँदै नारायणी नदीको तटीय क्षेत्रमा आएको विध्वंसकारी बाढीबाट भएको आर्थिक, भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सिन्धुली जिल्ला विपद् व्यवस्थापन समितिले राहत सङ्कलन तथा वितरणमा आधिकारिक प्रणाली अपनाउन आग्रह गरेको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा २०८३ भदौ १२ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारका लागि आआफ्नो स्थानबाट सक्रियताका साथ पहल गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
बैठकले गलत, भ्रामक तथा अपुष्ट सूचना सम्प्रेषण नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
यथार्थपरक र आधिकारिक सूचना मात्र प्रसारण गर्न तथा राहत सङ्कलन र वितरणसम्बन्धी कार्य नेपाल सरकारका आधिकारिक सूचना र निर्देशनअनुसार गर्न पनि आग्रह गरिएको छ ।
बैठकले रसुवामा बाढीपछि हराइरहेका व्यक्तिहरूको यकिन विवरण सम्बन्धित पालिकाबाट अद्यावधिक गरी जिल्ला प्रशासन कार्यालयमा पठाउने र प्राप्त आधिकारिक सूचना तथा तथ्याङ्कलाई निरन्तर अद्यावधिक गर्दै जाने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले विपद् व्यवस्थापनका लागि आर्थिक सहयोग गर्न इच्छुक जिल्लावासीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेका आधिकारिक खातामा मात्र रकम जम्मा गर्न आग्रह गर्नुभएको छ ।
जिल्लाबाट विपद् प्रभावित क्षेत्रमा वस्तुगत सहायता पठाउँदा अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने उहाँले बताउनुभयो ।
राहत सङ्कलन तथा वितरणका नाममा हुन सक्ने गलत क्रियाकलाप, ठगी तथा अन्य अवाञ्छित गतिविधि रोक्न राजनीतिक दल, स्थानीय तह, सरकारी कार्यालय, विभिन्न सङ्घ-संस्था, नागरिक समाज, पत्रकार तथा आमसर्वसाधारणको सहकार्य आवश्यक रहेको बैठकले जनाएको छ ।
त्यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।
जिल्लाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम प्रभावित क्षेत्रमा सही रूपमा पुग्नेनपुग्ने विषयमा स्थानीय तहहरूमा आशङ्का रहेको उल्लेख गर्दै श्रेष्ठले कोषमा जम्मा भएको रकमको उचित सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा भौतिक सामग्री पठाउन हतार नगर्न जिल्लास्थित सङ्घसंस्थालाई आग्रह गर्दै आवश्यक पर्न सक्ने सामग्रीको सूची र परिमाण तयारी अवस्थामा राख्न अनुरोध गर्नुभयो । प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा ती सामग्री पठाइने उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा जिल्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, मानवअधिकार रक्षक तथा सिन्धुलीका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।