पोखरा । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गतको शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, पोखरा-१७ ले नियमित र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै उत्कृष्ट कार्य गर्दै आएको छ ।
नगरवासीलाई आफ्नै पायक पर्ने स्थानमै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सुविधा उपलब्ध गराउँदै केन्द्र सेवा प्रभावकारितामा अब्बल बन्दै गएको हो ।
शहरी स्वास्थ्य केन्द्र-१७ की प्रमुख हेलन पन्त बोहराका अनुसार केन्द्रले पोखरा महानगरपालिकाका नगरवासीलाई सहज पहुँचमा विशेषज्ञ सेवा उपलब्ध गराइरहेको छ ।
“प्रत्येक हप्ताको बुधबार स्त्री रोग विशेषज्ञ, महिनाको ५ गते छाला रोग विशेषज्ञ, महिनाको ७ गते मानसिक रोग विशेषज्ञ तथा ओपिडी सञ्चालन हुने प्रत्येक दिन मेडिकल डाक्टरद्वारा सेवा प्रदान भइरहेको छ ।” -उहाँले बताउनु भयो ।
उहाँका अनुसार अबदेखि विशेषज्ञ डाक्टरसहितको सेवा, ल्याब सेवा तथा स्वास्थ्य बीमाको रिफर सेवा पनि शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र-१७ बाट सुरु गरिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबै सरोकारवालाले साझा धारणा बनाउनुपर्ने आवश्यकता औँल्याउँदै बोहराले शैक्षिक क्षेत्र र स्वास्थ्य शिक्षाको विकासमा केन्द्रित राजनीति, प्रविधिको अधिकतम प्रयोग तथा दक्ष डाक्टरमार्फत सेवा प्रवाहमा केन्द्र अग्रसर रहेको उल्लेख गर्नु भयो ।
शहरी स्वास्थ्य केन्द्र–१७ मा हाल जनस्वास्थ्य निरीक्षक १ जना, मेडिकल अधिकृत १ जना, सि.अ.न.मि. १ जना, सि.अ.हे.व. १ जना, ल्याब टेक्निसियन १ जना, अ.हे.व. १ जना तथा कार्यालय सहयोगी २ जना कार्यरत छन् । केन्द्रमा दैनिक ५० देखि ७० जना बिरामीले सेवा लिने गरेका छन् ।

केन्द्रबाट विभिन्न सङ्क्रामक रोगहरूको निगरानी, परामर्श तथा आवश्यक सेवा प्रदान हुँदै आएको छ। रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेंगु, जापानिज इन्सेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी/एड्स, इन्फ्लुएन्जा (जुनोटिक र सिजनल), स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, रुबेला, लेप्टोस्पाइरोसिस, भ्यागुते रोग, निमोकोकल निमोनिया, कमलपित्त (ए, बी, सी), औलो ज्वरो, ब्रुसेलोसिस, कुष्ठरोग, लहरे खोकी, निपाह भाइरस, एन्थ्रेक्स, पोलियो, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङ्गो हेमोरेजिक फिभर, मारबर्ग भाइरल डिजिज, सार्स, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस/हाइडैटिडोसिस, एमपक्स, येल्लो फिभर, सिस्टिसर्कोसिस/टेनियासिस, चिकुनगुनिया, जिका, क्यु फिभर, लासा फिभर, रिफ्ट भ्याली फिभर, सर्ने र नसर्ने राेग काे उपचार, राेकथाम, नियन्त्रण तथा खाेप सेवा, परिवार नियाेजन, पाेषण, सुरक्षित मातृत्व , सुरक्षित गर्भपतन सेवा जनचेतना फैलाउने कार्यक्रमलगायत रोगहरूको सूचीमा केन्द्रले निगरानी र सेवा प्रदान गर्दै आएको जनाएको छ ।
स्थानीय तहमै विशेषज्ञ सेवा, ल्याब सुविधा र स्वास्थ्य बीमासम्बन्धी सेवाको विस्तारले नगरवासीको स्वास्थ्य पहुँच र विश्वास दुवै बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ ।