मानव आवाज

२०८३ असोज २० गते
00: 00: 00
२०८३ असोज २० गते

दशैँतिहारमा बुद्ध विशाल बजारमा २५ प्रतिशतसम्म छुट, तीन जना टिकटकरलाई पुरस्कार !

पोखरा । नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

‘उपहार पहिले-पहिले, नगद ५ देखि २५ प्रतिशतसम्म छुट अहिले’ भन्ने नाराका साथ बजारले २०८३ असोज १८ गतेदेखि २०८३ मङ्सिर ४ गतेसम्म ग्राहकलाई विशेष छुट दिने भएको हो ।

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले सोमबार पत्रकार सम्मेलन गरी बजारमा रहेका पसलहरूमा सामान खरिद गर्दा ५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिएको हो ।

एसोसिएसनका पूर्वअध्यक्ष केशवबहादुर खत्रीले उपहारभन्दा गुणस्तरीय सामान बिक्री गर्ने उद्देश्यले ग्राहकलाई प्रत्यक्ष छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले बजारका सबै पसलमा छुटको व्यवस्था मिलाइएको र बुद्ध विशाल बजारमा सामान खरिद गर्ने ग्राहकका लागि निःशुल्क पार्किङको सुविधा समेत उपलब्ध गराइएको जानकारी दिनुभयो ।

यसैगरी, दशैँतिहारलाई लक्षित गर्दै बुद्ध विशाल बजारभित्र उत्कृष्ट टिकटक बनाउने तीन जनालाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने भएको छ ।

एसोसिएसनका उपाध्यक्ष मनोहरी पौडेलका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुकले बुद्ध विशाल बजार क्षेत्रभित्र मौलिक तथा सिर्जनात्मक भिडियो बनाएर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । पोस्ट गरिएको भिडियो बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको फेसबुक पेजमा समेत पठाउनुपर्नेछ ।

एसोसिएसनका महासचिव थमनसिंह गुरुङले भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरका आधारमा उत्कृष्ट तीन भिडियो छनोट गरिने बताउनुभयो । उहाँका अनुसार कृत्रिम रूपमा ‘बुस्ट’ वा ‘प्रमोट’ गरिएका भिडियो प्रतियोगितामा समावेश गरिने छैनन् ।

एसोसिएसनका कोषाध्यक्ष गोविन्दप्रसाद दाहालले असोज १८ देखि मङ्सिर ४ गतेसम्म सञ्चालन हुने छुट तथा टिकटक प्रतियोगिताको लाभ लिन ग्राहकलाई आग्रह गर्नुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार