काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बिच २०८२ कात्तिक २९ गते पेरिसडाँडामा एकतासम्बन्धी औपचारिक वार्ता भएको छ ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा दुवै पक्षका शीर्ष नेताहरू सहभागी हुनु भएको छ ।
जसपाले एकता वार्ताका लागि सङ्घीय परिषद्का अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा विशेष वार्ता टोली गठन गरेको छ ।
वार्तामा नेकपा तर्फबाट वर्षमान पुन, देव गुरुङ र प्रमेश हमाल सहभागी हुनुहुन्थ्यो । प्रारम्भिक छलफल सकारात्मक माहोलमा सम्पन्न भएको र जसपा एकताप्रति खुला तथा उत्साही देखिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
दुवै दलबिच नीतिगत विषय, सङ्गठनात्मक संरचना र सम्भावित एकता मोडालिटीका बारेमा विस्तृत छलफल भएको स्रोतले जनाएको छ ।
आगामी दिनहरूमा थप प्राविधिक तथा नीतिगत विषयमा पुनः वार्ता बस्ने तयारी गरिएको छ ।