ललितपुर । संयुक्त राष्ट्रसङ्घले गाजामा औपचारिक रूपमा अनिकालको घोषणा गरेको बीबीसीले जनाएको छ । करिब पाँच लाख मानिस ‘विनाशकारी’ भोकमरीको सामना गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको अनुगमन समूह आईपीसीका अनुसार गाजामा २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव छ भने पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । भोकमरी र रोगका कारण दैनिक मृत्यु दर पनि बढेको छ ।
संयुक्त राष्ट्रका अधिकारीहरूले इजरायलले सहायता आपूर्तिमा सुनियोजित अवरोध गरेको आरोप लगाएका छन्, भने इजरायलले यो दाबी अस्वीकार गरेको छ ।
आइपीसीको प्रतिवेदनअनुसार अनिकाल सेप्टेम्बरको अन्त्यसम्म देइर अल–बालाह र खान युनिससम्म फैलिने र गाजाको जनसङ्ख्याको तीन चौथाईभन्दा बढी प्रभावित हुने अनुमान छ । यसलाई ‘पूर्ण रूपमा मानव सिर्जित सङ्कट’ भनिएको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेर्रेसले तत्काल युद्धविराम, बन्धक मुक्त गराउने र गाजामा पूर्ण मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।